काठमाडौं। फुटबलमा मुलुकको खर्चिलो प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण गत शनिबार सकियो। करिब एक महिना चलेको लिगमा पोखरा थण्डर्सलाई हराउँदै ललितपुर सिटी च्याम्पियन बन्यो।
तेस्रो संस्करण सकिँदा चौथो संस्करणलाई लिएर फुटबल वृत्तमा प्रश्न खडा भएका छन्। खासगरी निक्कै तामझाम र कर्पोरेट घरानाको साथमा सुरु भएको एनएसएल स्थिर छैन। पहिलो संस्करणमा आठ, दोस्रो संस्करणमा नौ र तेस्रो संस्करणमा सात टोलीले एनएसएल खेले।
चौथोमा अरु टोली थप्ने योजना आयोजकले बनाएको छ। यो रणनीतिले एनएसएल अस्थिर देखिएको छ। पहिलो संस्करणमा एक र दोस्रो संस्करणमा दुई टोलीले एनएसएल छाडे। त्यस्तै निरन्तर रहेका केही क्लबको स्वामित्व पनि फेरिएको छ।
कोरोना महामारीमा लकडाउनबीच पहिलो संस्करण सम्पन्न गर्दा आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले जति दर्शकलाई एनएसएलमा तान्न सकेको थियो, दोस्रो र तेस्रो संस्करणमा दर्शक त्यति देखिएनन्।
लेजेन्ड आए, दर्शक आएनन्
एनएसएलको पहिलो संस्करण लकडाउनका बीच बन्द रंगशालामा भएको थियो। यसको डिजिटल भ्युअरसिप माथि थियो।
दोस्रो संस्करणको लिग चरणमा दर्शकको उपस्थिति पातलो रह्यो। तर, प्ले-अफदेखि फाइनलसम्म दर्शकको उपस्थिति बढ्यो। तेस्रो संस्करणको लिग चरणमा दर्शक नै आएनन्, फाइनलमा पनि रंगशाला भरिएन।
‘यसपालि धेरै कुराले हामीलाई डिस्टर्ब गर्यो। जस्तै उद्घाटन समारोहमा राजनीतिक माहोल अशान्त थियो,’ नेपाल स्पोर्ट्स एण्ड इभन्ट म्यानेजमेन्टका डाइरेक्टर श्रेयांश कार्कीले भने, ‘हामीले इभेन्ट चाहिँ नसारौं भनेर समय तालिका परिवर्तन गरेनौं। ओपनिङमा हामीले सोचेजति दर्शक आएनन्।’
विभिन्न समूहको आन्दोलनका कारण दर्शकको संख्या घटेको उनको तर्क छ।
दर्शकको उपस्थितिबारे खेलाडी र प्रशिक्षकको दृष्टकोण फरक छ। दोस्रो क्वालिफायर पुगेको धनगढी एफसीका कप्तान देवेन्द्र तामाङका अनुसार एनएसएलले दर्शक तान्न नसक्नुका मुख्य दुई कारण छन्।
पहिलो, नेपाली फुटबलको प्रोपर क्यालेन्डर नहुँदा समर्थकले खेलको मेसो पाएनन्। दोस्रो, आयोजकले मार्केटिङमा आवश्यकता अनुसार मेहनत गरेन।
‘केही महिना अघिमात्र केपी ओली कप भएको थियो। त्यसमा पनि लेजेन्ड खेलाडी ल्याइएको थियो। रंगशाला दर्शकले भरिएको थियो,’ उनले भने, ‘एनएसएलमा चाहीं आयोजक चुके जस्तो लाग्छ। यसमा एन्फा पनि चुकेको छ। दुवैले राम्रोसँग प्रोमोट गर्न सकेको भए अर्कै हुने थियो।’
त्यस्तै, एफसी चितवनका प्रशिक्षक नवीन न्यौपाने पनि आयोजकले राम्रोसँग मार्केटिङ गर्न नसकेको बताए। पोखरा थण्डर्सका प्रशिक्षक सुविन श्रेष्ठले फाइनलमा टिकट शुल्क महँगो हुनुलाई दर्शक घट्नुको कारणका रुपमा लिएका छन्।
लेजेण्ड फुटबलर रोबर्टो कार्लोस भने भन्दा ढिलोगरी नेपाल आएकाले दर्शक घटेको एनएसएलका निर्देशक कार्कीको बुझाइ छ।
‘रोबर्टो कार्लोसले स्वास्थ्यका कारण नेपाल आउने मिति तीन दिन सार्नु भयो। त्यसले पनि दर्शकको उपस्थितिमा असर पार्यो,’ उनले भने, ‘अघिल्लो संस्करणमा पनि लिग चरणमा यस्तै उपस्थिति थियो, फाइनलमा थामिनसक्नु भिड थियो।’
‘होम एण्ड अवे‘को छैन सम्भावना
एनएसएलले सुरुबाटै ‘होम एण्ड अवे’मा जाने बताउँदै आएको थियो। तर, हरेक संस्करण दशरथ रंगशालामा सीमित बनिरहेको छ। चौथो संस्करण पनि ‘होम एण्ड अवे’मा नहुने कार्कीले प्रष्ट पारे।
‘यसमा धेरै कुरा छन्। ब्रोडकास्टदेखि सबै कुरालाई सार्नुपर्ने हुन्छ,’ कार्कीले भने, ‘अर्को संस्करणका लागि होम एण्ड अवे पनि सोचेका छैनौं। तर, क्यालेन्डर फाइनल भइसकेपछि अर्को सिटीमा लैजाने सम्भावना चाहिँ रहन्छ।’
चौथो संस्करणको मिति अरु ‘क्यालेन्डर‘मा निर्भर
नेपाली खेलकुदमा फ्रेन्चाइज धमाधम आइरहेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)ले सबैभन्दा ठूलो चर्चा बटुल्यो। विदेशमा चलेका खेलाडीदेखि ब्रायन लाराजस्ता लेजेन्डलाई नेपाल ल्याएर एनपीएलले वाहवाही कमायो।
फुटबलको सन्दर्भमा त्यस्तै खाले गतिविधि गर्दा पनि दर्शक आकर्षित भएनन्। कार्की क्रिकेट र फुटबलको परिवेश फरक रहेको बताउँछन्।
‘क्रिकेट भनेको फ्रेन्चाइजका लागि उपयुक्त खेल भयो। त्यसमा समयलगायत धेरै अनुकूलता हुन्छन्,’ उनले भने, ‘फुटबलमा फिफाको क्यालेन्डर हुन्छ। राष्ट्रिय टोलीको क्यालेन्डर हुन्छ। अहिलेसम्म नेपालमा ‘ए’ डिभिजन,’बी’ डिभिजन,’सी’ डिभिजनको तालिका पनि कन्फर्म छैन।’
एनएसएलका लागि फिफाको विन्डोदेखि राष्ट्रिय टोलीको खेल तालिका र राष्ट्रिय लिगको तालिकाको क्यालेन्डरसम्म मिलाउनु पर्ने भएकाले एनएसएल जटिल हुने कार्कीले बताए।
‘हाम्रो योजना एनएसएल हरेक वर्ष गर्ने भन्ने नै हो। यस्तोमा हाम्रा लागि उपयुक्त समय मार्च अप्रिलमा हुन्छ,’ उनले भने,’तर, यस बीचमा फिफा विन्डो यताउता पर्नसक्छ। हामीले सोचेको हिसाबले सबै मिल्यो भने अर्को वर्ष पनि यही वैशाखतिर नै गर्ने योजना छ।’
ए डिभिजन नहुँदा फुटबल अस्थिर
लिगलाई घरेलु फुटबलको मेरुदण्ड मानिन्छ। तर, एन्फाले शहीद स्मारक ‘ए’ डिभिजन लिग नभएको दुई वर्ष भइसकेको छ। यस्तो अवस्थामा एनएसएलले नेपाली फुटबलको बलियो पिलरका रुपमा काम गरिरहेको छ।
तर, यसको स्थिरतामा नै प्रश्न छ। विदेशी खेलाडीमा जोड दिँदा घरेलु राम्रा खेलाडी अक्सनमै अनसोल्ड भइरहेका छन्। क्लबहरू थपघट हुने क्रमले पनि फ्यानबेस राम्रो बन्न सकेको छैन।
‘यस सिजन दुईवटा क्लब हट्दा पनि हामीले अर्को क्लब नथपौं भन्ने भयो। किनभने विन्डो लामो छैन। हामीले धेरै कुराहरू विचार गर्नुपर्छ,’ कार्कीले भने, ‘भोलि हामीले १० वटा टिम राखौं रे, एउटा रंगशालाले थेग्न त सक्दैन।’
कार्कीका अनुसार अर्को वर्ष ८ टोलीलाई खेलाउने योजना छ।