BIZMANDU
www.bizmandu.com

ट्रम्पको निसानामा विदेशी फिल्म, अमेरिका बाहिर बन्ने चलचित्रमा १०० प्रतिशत कर लगाउने घोषणा

२०८२ बैशाख २२

ट्रम्पको निसानामा विदेशी फिल्म, अमेरिका बाहिर बन्ने चलचित्रमा १०० प्रतिशत कर लगाउने घोषणा
President Donald Trump talks to reporters as he walks on the South Lawn of the White House, in Washington, Sunday, March 30, 2025. (AP Photo/Jose Luis Magana)


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी चलचित्रहरूमा १०० प्रतिशत ट्यारिफ लगाउने योजना घोषणा गरेका छन्। यसले विश्वभरका देशहरूसँगको व्यापार विवादलाई अझ तीव्र बनाउने अनुमान गरिएको छ।

Tata
GBIME
NLIC

ट्रम्पले अमेरिकी चलचित्र उद्योगको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।

उनले भने, ‘अमेरिकी चलचित्र उद्योग अहिले निकै छिटो पतनको बाटोमा छ।’

उनले चलचित्र निर्माता र स्टुडियोलाई आकर्षित गर्न विभिन्न प्रोत्साहनहरू प्रदान गर्दै आएका अन्य देशहरूको कदमका कारण यो अवस्था आएको बताएका छन्। यसलाई उनले ‘राष्ट्रिय सुरक्षा खतरा’को रूपमा वर्णन गरेका छन्।

ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’मा भने, ‘यस बाहेक, सन्देश र प्रचारको पनि कुरा हो! हामीलाई फेरि अमेरिकामा बनेका चलचित्रहरू चाहिन्छ!’

ट्रम्पको यो टिप्पणी अमेरिकी चलचित्र उद्योग माथि बढ्दो दबाब र व्यापार नीतिहरूको परिणामस्वरूप आएको हो।

ट्रम्पले विश्वभरका विभिन्न देशहरूलाई ट्यारिफ लगाएका छन्। उनले ट्यारिफहरूले अमेरिकी उत्पादन बढाउने र रोजगारीको सुरक्षामा मद्दत पुग्ने बताएका छन्।

तर, यसको परिणामस्वरूप विश्वव्यापी अर्थतन्त्रमा उथलपुथल आएको छ भने वस्तुहरूको मूल्य बढ्ने सम्भावना छ। ट्रम्पले जनवरीमा राष्ट्रपति पद सम्हालेपछि सबै क्षेत्रमा कडा व्यापार नीतिहरू लागू गरेका छन्।

ट्रम्पले तीन प्रसिद्ध फिल्मस्टारहरू जोन भ्वाइट, मेल गिब्सन र सिल्भेस्टर स्टलोनलाई विशेष राजदूतको रूपमा नियुक्त गरेका थिए। उनीहरूको मुख्य उद्देश्य हलिवुडको व्यापारीक सम्भावनाहरूको प्रवर्द्धन गर्नु हो, जसलाई ट्रम्पले ‘महान तर धेरै समस्याग्रस्त क्षेत्र’ भनेर वर्णन गरेका थिए।

उनले भनेका थिए, ‘उनीहरूले मलाई विशेष दूतको रूपमा सेवा दिनेछन् र हलिउडलाई विदेशी देशहरूबाट गुमेको व्यवसायलाई फिर्ता ल्याउनेछन्, अझ ठूलो, राम्रो र शक्तिशाली बनाउनेछन्!’

अमेरिकी वाणिज्य सचिव होवार्ड लट्निकले यस घोषणाको प्रतिक्रियास्वरुक आफूहरू यसमा काम गरिरहेको बताएका छन्। अमेरिकी चलचित्र उद्योग संसारकै प्रमुख फिल्म उत्पादन केन्द्र भएको फिल्म उद्योग अनुसन्धान कम्पनी प्रोडप्रोको प्रतिवेदनले पुष्टि गरेको छ।

हालैको वार्षिक रिपोर्ट अनुसार अमेरिकी फिल्म उद्योगले सन् २०२३ मा १४ अर्ब ५४ करोड डलरको व्यापार गरेको थियो। तर, यो तथ्यांक सन् २०२२ भन्दा २६ प्रतिशत कम हो।

अर्कोतिर, अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा र बेलायत जस्ता देशहरूले यस अवधिमा फिल्म उत्पादनमा वृद्धि गरेका छन्। यद्यपि, ट्रम्पको व्यापार नीति अन्तर्गत अमेरिकी चलचित्र उद्योगको अवस्था प्रभावित भएको छ।

यसैबीच, चीनले अप्रिल महिनामा अमेरिकी चलचित्रहरूको कोटा घटाउने निर्णय गरेको थियो।

चीन फिल्म प्रशासनले भनेको थियो, ‘अमेरिकी सरकारको गलत निर्णयले चीनमा अमेरिकी चलचित्रहरूको लोकप्रियतामा कमी ल्याउनेछ। हामी बजारको नियमअनुसार चल्नेछौं र दर्शकको छनोटलाई सम्मान गर्दै अमेरिकी चलचित्रहरूको आयात घटाउनेछौं।’

ट्रम्पले चीनलाई व्यापार नीतिअन्तर्गत सबैभन्दा कडा प्रहार गरेका छन्। उनले चीनबाट आयात हुने वस्तुहरूमा १४५ प्रतिशतसम्म ट्यारिफ लगाएका छन्। उनको प्रशासनले गत महिना नयाँ ट्यारिफहरू थपिँदा चीनका केही वस्तुहरूमाथिकव् कर २४५ प्रतिशतसम्म पुग्न सक्ने बताएको थियो।

चीनले यसको जवाफमा अमेरिकाबाट आयात हुने वस्तुहरूमा १२५ प्रतिशत ट्यारिफ लगाएको छ। अन्य देशहरूलाई भने अहिले अमेरिकी ट्यारिफको १० प्रतिशत करको सामना गर्नुपरेको छ, जुन जुलाईसम्म लागू हुनेछ।