काठमाडौं। नेकपा (एमाले)ले सत्तारुढ नेपाली कांग्रेसका नेताहरुले सरकारको निरन्तर आलोचना गरिरहेकामा असन्तुष्टि जनाएको छ।
एमालेको सचिवालय बैठकमा सरकारको सबैभन्दा ठूलो दलका नेताबाट निरन्तर आलोचना भइरहनुलाई स्वाभाविक मान्न नसकिने छलफल भएको छ।
बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दलभित्रको असन्तुष्टिलाई सरकारमाथि नपोख्न कांग्रेस नेताहरुलाई आग्रह गरे।
‘दलभित्र आन्तरिक समस्या हुन सक्छन्। तर त्यसलाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउनु हुँदैन भन्ने लाग्छ। दलभित्रका समस्या आफ्ना ठाउँमा होलान्। हामीभित्र छ भने त्यो समस्या समाधान गर्ने दायित्व हाम्रो हो,’ ज्ञवालीले भने, ‘अरु पार्टीहरुसँग समस्या भए उहाँहरुले समाधान गर्ने हो। राष्ट्रिय राजनीतिमा गएर पोख्न खोजियो भने त्यसले राम्रो गर्दैन।’
कांग्रेस महामन्त्री गगन थापाले आइतबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको विरोध गरेका थिए। देशमा बढेको निराशा चिर्न रातदिन काम गर्नुपर्नेमा ओलीले महत्वपूर्ण समय भाषण गरेर बिताइरहेको र दुई पार्टी मिलेर सरकार बनाउनुको औचित्य सावित गर्न नसकेको थापाले बताएका थिए।