काठमाडौं। प्रणालीमा पर्याप्त तरलताका कारण लागत कम गर्न निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरुले संस्थागत मुद्दती निक्षेपलाई निरुत्साहित गर्न थालेका छन्।
बैंकहरुले व्यक्तिगततर्फको तुलनामा ब्याजदर आधा कम गरेर संस्थागत मुद्दती निक्षेपलाई निरुत्साहित गरेका हुन्। व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर दिइरहेका कतिपय बैंकहरुले संस्थागततर्फ भने ३ प्रतिशतभन्दा दिन मानेका छैनन्।
नियामकीय व्यवस्था अनुसार व्यक्तिगततर्फको तुलनामा संस्थागत मुद्दतीमा कम्तिमा १ प्रतिशतसम्म कम ब्याजदर तोक्न पाइन्छ।
तर, अपेक्षाजनकरुपमा लगानी बढाउन नसकेको भन्दै पछिल्लो समय बैंकहरुले एउटै अवधिको व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ३ प्रतिशत विन्दुसम्म फरक पारेर सार्वजनिक गरिरहेका छन्।
५ वर्ष अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.२५ प्रतिशत ब्याज दिइरहेको स्टान्डर्ड चार्टर्ड बैंकले संस्थागत मुद्दतीको ब्याजदर भने ३.२५ प्रतिशत कायम गरेको छ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकले समेत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरको तुलनामा संस्थागत मुद्दतीतर्फ ३ प्रतिशत विन्दु कम ब्याज दिइरहेको छ।
अधिकांश बैंकहरुले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर अन्तर १ प्रतिशत विन्दुभन्दा धेरै राखेका छन्। प्रणालीमा पर्याप्त तरलता रहेको तर अपेक्षाजनकरुपमा ऋणको माग नरहेका कारण संस्थागत मुद्दतीलाई निरुत्साहित गर्ने रणनीति अनुसार नै ब्याजदर अन्तर धेरै फरक पारेको बैंकरहरु बताउँछन्।
उनीहरुका अनुसार ब्याजदर धेरै फरक गरिनुको कारण संस्थागत निक्षेप स्थिर नहुनु पनि हो।
‘व्यक्तिगत मुद्दती निक्षेप संस्थागत भन्दा धेरै स्टेलब हुन्छ। व्यक्तिगत निक्षेप बढी आकर्षित गर्न सकियो भने त्यो लामो अवधिसम्म रहिरहन्छ,’ एक सीइओले बिजमाण्डूसँग भने, ‘संस्थागत निक्षेप ब्याजदर अलिकति तलमाथि हुने बित्तिकै अर्कोतिर जान्छ। त्यसमाथि बजारमा अहिले बजारमा पर्याप्त तरलता छ। तर, लोनको डिमान्ड छैन। त्यसैले व्यक्तिगत मुद्दती र संस्थागततर्फको ब्याजदर अन्तर बढाएका हौं।’
सम्पत्ति र दायित्वको कम्पोजिसन तथा ऋणको माग हेरर चाहिएको बेलामा संस्थागत मुद्दती लिन सक्ने भएकाले पनि अहिले त्यसतर्फ चासो कम गरेको अर्का सीइओले बताए।
‘अधिक तरलता भएपनि व्यक्तिगत निक्षेप लिन्न भन्न पाइँदैन। अर्को कम ब्याजदरमा व्यक्तिगत मुद्दतीको हिस्सा बढाउन सकियो भने दीर्घकालका लागि राम्रो हुन्छ,’ ती सीइओले भने, ‘संस्थागत निक्षेपमा बिडिङ गरेर लिनुपर्छ। त्यसमाथि ब्याजदर घटेका बेला उनीहरु पनि छोटो अवधिका लागि मात्र पैसा राख्न खोज्छन्। हाम्रो उद्देश्य भनेको ब्याजदर घटेका बेला लामो अवधिका लागि निक्षेप उठाउनु हो। अहिले ऋणको माग नरहेकाले छोटो अवधिका लागि निक्षेप लिएर काम पनि छैन। त्यसैले संस्थागत निक्षेप हाम्रो प्राथमिकतामा नपरेको हो।’
व्यक्त्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर कुन बैंकमा कति ?
बैंक | व्यक्तिगत मुद्दती अधिकतम | संस्थागत मुद्दती |
स्टान्डर्ड चार्टर्ड | ६.२५ | ३.२५ |
राष्ट्रिय वाणिज्य | ६ | ३ |
प्राइम | ६.२५ | ३.५ |
माछापुच्छ्रे | ६.५ | ४ |
एभरेष्ट | ६.६१ | ५.६१ |
नेपाल एसबिआइ | ५.५ | ४.५ |
हिमालयन | ५.५ | ४ |
सिद्धार्थ | ६ | ५ |
नबिल | ५.७५ | ४.०५ |
सिटिजन्स | ५.६५ | ४ |
कुमारी | ५.९२ | ४.९२ |
कृषि विकास | ५.५१ | ३.२५ |
सानिमा | ५.९५ | ४.२ |
नेपाल | ५.१५ | ४ |
ग्लोबल आइएमई | ६ | ४.२५ |
एनआइसी एसिया | ६.६ | ५.६ |
प्रभु | ६.१ | ५ |
नेपाल इन्भेष्टमेन्ट | ६.५ | ५.१ |
लक्ष्मी सनराइज | ५.७५ | ४.५ |
एनएमबि | ६.६ | ५.६ |
औसत | ६ | ४.३७ |
बैंकहरुको बदलिएको रणनीतिले पछिल्लो समय निक्षेपको कम्पोजिसन फेरिन थालेको छ। पछिल्लो एक वर्षमा मुद्दती निक्षेपको हिस्सा ७ प्रतिशतले खुम्चिएको छ। गत फागुनमा कूल निक्षेपमा मुद्दतीको हिस्सा ५८.७ प्रतिशत रहेकामा अहिले ५१.७ प्रतिशतमा झरेको छ।
एक वर्षको अवधिमा साधारण बचतको हिस्सा ७.३ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्ष ८ महिनामा संस्थागत निक्षेपकर्ताले बैंक तथा वित्तीय संस्थामा थप ५२ अर्ब ३६ करोड रुपैयाँ मुद्दती निक्षेपमालगानी राखेका छन्। पोहोर ८ महिनामा यस्तो निक्षेप १ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ थपिएको थियो।
कर्मचारी सञ्चय कोषका प्रवक्ता दामोदर सुवेदी बैंक तथा वित्तीय संस्थाले ब्याजदर निरन्तर घटाएका कारण आफूहरुले लगानी डाइभर्ट गरिरहेको बताए।
‘हामीले कूल लगानीको ५० प्रतिशत सञ्चयकर्तालाई नै ऋण दिएका छौं। मुद्दतीमा लगानीको फोर्टफोलियो धेरै ठूलो छैन,’ उनले भने, ‘ब्याजदर ३/४ प्रतिशतमा झरेपछि पोर्फफोलियोमा असर पर्ने नै भयो।’
सामाजिक सुरक्षा कोषले मुद्दती निक्षेपको ब्याजदर ओरालो लागेपछि आफ्नो पुँजी म्युचल फण्ड, डिबेञ्चर र बण्डतर्फ केन्द्रित गरेको छ।
कोषका प्रवक्ता कृष्ण अधिकारीले निक्षेपको घट्दो ब्याजदरका कारण प्रतिफल धेरै आउने क्षेत्रमा लगानी केन्द्रित गरेको बताए। ‘हामीले अहिले म्युचल फण्ड, डिबेञ्चर र बण्डतर्फ लगानी केन्द्रित गरेका छौं। मुद्दतीतर्फ आकर्षित हुने अवस्था छैन,’ उनले भने।