काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसले कृषि उत्पादनमा आत्मनिर्भर हुने खालको बजेट ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।
राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा कांग्रेस सांसद कृष्णप्रसाद पौडेलले चालु आर्थिक वर्ष ९ महिनामा आयात भएको कृषि उपजको तथ्यांक सुनाउँदै उत्पादन बढाउने कार्यक्रम ल्याउन अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गराएका हुन्।
‘आत्मनिर्भर अर्थतन्त्र सरकारको उच्च प्राथमिकतामा पर्दा पर्दै पनि आम नागरिकको अपेक्षा र चाहना अनुसार आर्थिक विकास हुन नसकेको घाम झैं छर्लंग छ। ९ महिनामा ६६ अर्ब ५ करोडको सोयाबिन तेल कच्चा, २२ अर्ब ६४ करोडको सनफ्लावर तेल कच्चा, १८ अर्ब ५ करोडको धान, १३ अर्ब ७८ करोडको चामल, १३ अर्ब ७३ करोडको मकै, ७ अर्ब ६४ करोडको स्याउ, ६ अर्ब ४५ करोडको लसुन, ६ अर्ब २ करोडको आलु आयात भएको देखिन्छ,’ उनले भने, ‘यस्तो कहालीलाग्दो व्यापार घाटाले मुलुकको अर्थतन्त्र कता जाँदैछ? यसलाई गहिरो विश्लेषण गरी स्वदेशमै उत्पादन हुन सक्ने यस्ता वस्तुको उत्पादन बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराउँछु।’