BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकले आयोजना गरेको ‘एआई/एमएल ह्याकाथन’मा टिम क्याल्कुलस विजयी

२०८२ बैशाख २१

ग्लोबल आइएमई बैंकले आयोजना गरेको ‘एआई/एमएल ह्याकाथन’मा टिम क्याल्कुलस विजयी
ग्लोबल आइएमई बैंकले आयोजना गरेको ‘एआई/एमएल ह्याकाथन’मा टिम क्याल्कुलस विजयी


काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आयोजना गरेको ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन’मा टिम क्याल्कुलस प्रथम भएको छ। उक्त टिमले प्रथम पुरस्कार स्वरुप १ लाख रुपैयाँ जित्न सफल भएको छ।

Tata
GBIME
NLIC

आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी उक्त ह्याकाथनमा डब्लुडीके, लार्के पास, टिम जनकपुर र फ्रडेक्स टोली क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ भएका छन्।

दोस्रो हुने टोली डब्लुडीकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौ हुने टिम जनकपुर र फ्रडेक्सले १५/१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। साथै, बेष्ट प्रिजेन्टेसन बिधाअन्तर्गत बैंकले डिजीविट्सलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ।

बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गर्दै सम्भावित नवीनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरू विकासका लागि यो प्रतियोगिता संचालन गरेको जनाएको छ।

प्रतियोगितामा २१ टोलीहरूलाई अनलाइन पेपर प्रिजेन्टेसनका लागि छनौट गरिएको थियो। काठमाडौं, महेन्द्रनगर, पोखरा, वीरगंज, काभ्रे, धरानबाट प्रतियोगीहरू सहभागी थिए।

नेपालमा पहिलो पटक एआई र एमएलसम्बन्धी ह्याकाथन संचालन गरेकोमा डेपुटी गभर्नर बम बहादुर मिश्रले आयोजक ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए। यस किसिमका प्रतियोगिताले युवा तथा विद्यार्थीलाई अवसर प्रदान गर्नुका साथै बैंकका सेवा तथा सुविधाहरूमा नवीनतम् प्रविधिको प्रयोग अझ प्रभावकारी भई सेवाको पहुँच विस्तार हुने विश्वास राष्ट्र बैंकले लिएको डेपुटी गभर्नर मिश्रले बताए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरू र यसको चुनौतिहरूको समाधानका लागि सहयोग पुग्नुका साथै नवीनतम् सेवाहरूको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। यस प्रतियोगिताको उत्कृष्ट टोलीहरूलाई बैंकले सहकार्य गर्ने अवसर प्रदान गर्ने समेत उनले जानकारी दिए।

प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले बैंकले तोकेका विभिन्न विषयहरूमा केन्द्रित रही आफ्ना धारणाहरू प्रस्तुत गरेका थिए। प्रतियोगितामा सहभागी हुन विभिन्न टोलीहरूले बैंकको वेबसाइटमार्फत आवेदन दिएका थिए।

यस ह्याकाथन प्रतियोगिता दुई चरणमा संचालन भएको थियो। जसअन्तर्गत पहिलो चरणमा कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन भएको हो।