BIZMANDU
www.bizmandu.com

दीपक मल्होत्रासँग १ अर्ब ३४ करोडमा किनेको जग्गामा प्रकाश गौतमले बनाउँदैछन् ५ तारे होटल

२०८२ बैशाख २१

दीपक मल्होत्रासँग १ अर्ब ३४ करोडमा किनेको जग्गामा प्रकाश गौतमले बनाउँदैछन् ५ तारे होटल
दीपक मल्होत्रासँग १ अर्ब ३४ करोडमा किनेको जग्गामा प्रकाश गौतमले बनाउँदैछन् ५ तारे होटल

काठमाडौं। झापाको बिर्तामोडबाट हस्पिटालिटी सेवा सुरु गरेको किङ्सबरी होटलले ४ अर्ब रुपैयाँ लगानीमा विराटनगरमा हेलिप्याडसहितको ५ तारे लक्जरियस होटल सञ्चालन गर्ने भएको छ।

Tata
GBIME

चार वर्षदेखि बिर्तामोडमा किङ्सबरी होटल सञ्चालन गरिरहेका प्रकाश गौतम व्यापार राम्रो भएपछि विराटनगरमा ५ तारे लक्जरी होटल खोल्ने योजनातिर लागेका हुन्। उनले होटल निर्माणका लागि व्यवसायी दीपक मल्होत्रासँग १ अर्ब ३४ करोड रुपैयाँमा अढाइ विघा जग्गा यसअघि नै किनिसकेका छन्।

गौतमले होटल सञ्चालनमा ल्याउनका लागि डिजाइन बनाउने जिम्मा दिइसकेका छन्। होटलको डिजाइन तयार गर्ने जिम्मेवारी डिजाइन सेललाई तथा इन्टेरियर डिजाइनको जिम्मेवारी वरिष्ठ इन्जिनियर सिद्धार्थ गोपालानलाई दिइएको छ।

१५१ कोठा क्षमताको होटल १४ तलाको हुनेछ। कोठालाई सुइट, प्रेसिडेन्ट, मिनी सुइट र डिलक्समा विभाजन गरिनेछ। गौतमले २ वर्षभित्र होटल सञ्चालनमा ल्याउने योजनासहित काम अगाडि बढाइएको जानकारी दिए। ‘डिजाइन तयार गर्न सम्झौता गरिसकेका छौं। नक्सा पासको प्रक्रिया पनि अगाडि बढाइएको छ,’ उनले भने।

विराटनगरस्थित बसपार्क छेउमा निर्माण गरिने होटलमा १५ सयजना क्षमताको बैंक्विट हल, ५०० क्षमताको कन्फ्रेन्स हल र २००० जना क्षमताको आउटडोर इभेन्ट साइड हुनेछ।

यस्तै ४  वटा रेष्टुरेन्ट, दुईवटा स्विमिङ पुल (ग्राउण्ड फ्लोर र १४ औं तल्लामा), मर्निङ वाक करिडोर, स्पा, बच्चाका लागि मिनी पार्क, टेनिस कोर्ट लगायत सुविधा समावेश गरिने गौतमले जानकारी दिए। होटल परिसरमा आउटडोर इभेन्टका लागि १० कठ्ठा क्षेत्रफल छुट्याइनेछ।

‘विराटनगर व्यापारिक र पर्यटकीय गन्तव्य हो। तर यहाँ पाँच तारे स्तरको होटल छैन। त्यस्तै अहिले भारतीयहरु वैवाहिक समारोहका लागि सीमा क्षेत्रका नेपाली होटलमा आउने क्रम बढेको छ। त्यही कारण विराटनगरमा लक्जरियस होटल बनाउन लागेको हुँ,’ गौतमले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेको बोर्डर छेउका पर्यटकीय गन्तव्यलाई थप भाइब्रेन्ट बनाउनु हो।’

गौतमले निर्माण गर्न लागेको होटल भारतको जोगवनीबाट ६ किलोमिटरको दूरीमा पर्छ।

पछिल्लो समय वैवाहिक समारोहका लागि भारतीयहरुले नेपालका सीमा क्षेत्रका होटल बुक गर्ने क्रम बढेपछि गौतमले विराटनगरमा लगानी गर्न लागेका हुन्।

भैरहवाका तारे होटल अहिले भारतीय पर्यटकले धानिदिएका छन्। भैरहवा भारतीयहरुको वेडिङ डेस्टिनेसन बनिरहेको छ। त्यो देखेर पनि गौतम हौसिएका हुन्।

‘भैरहवाका होटलमा वैवाहिक कार्यक्रम धेरै हुने गरेको छ। बिर्तामोडको किङ्सबरी पनि भारतीय पर्यटककै कारण चलिरहेको हो। विराटनगर त झनै व्यापारिक गन्तव्य पनि भएकाले होटलमा लगानीबाट राम्रो रिटर्नको सम्भावना देखेको छु,’ गौतमले भने।

गौतम होटलमा क्यासिनो पनि राख्ने योजनामा छन्। त्यसका लागि उनले विभिन्न कम्पनीसँग छलफल थालिसकेका छन्।

किङ्सबरीमा क्यासिनो व्यवसायी रवि धिताललाई भित्र्याएका गौतम विराटनगरको होटल भने एकल लगानीमा बनाउने योजनामा छन्। ‘अहिलेसम्म एकल लगानीमा नै बनाउने सोचमा छ। आवश्यक परेको खण्डमा साझेदार भित्र्याउने विषयमा सोच्न सकिन्छ,’ उनले भने।     

गौतमले ४ वर्ष अगाडि बिर्तामोडमा सञ्चालनमा ल्याएको ५ तारे होटल किङ्सबरीमा धितालको प्रवेशपछि ८० कोठा थपिंदैछ। १७ रोपनी क्षेत्रफलमा रहेको किङ्सबरीमा अहिले ८६ वटा कोठा छन्।