BIZMANDU
www.bizmandu.com

बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाइ द बुक’ लोकार्पण, ‘सपना देख्नेका लागि प्रेरक हुने’

२०८२ बैशाख २०

बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाइ द बुक’ लोकार्पण, ‘सपना देख्नेका लागि प्रेरक हुने’
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाइ द बुक’ लोकार्पण, ‘सपना देख्नेका लागि प्रेरक हुने’


काठमाडौं। नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले किताब लेखेका छन्। उनको पुस्तक ‘बाइ द बुक’ शनिबार पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो।

Tata
GBIME
NLIC

कार्यक्रममा कर्मचारी सञ्चयकोषका पूर्व प्रमुख प्रशासक संसारभक्त श्रेष्ठ, हिमालयन बैंकका सीइओ अशोक सम्शेर जबरा र श्रीमती सुनिता बस्नेतले पुस्तक विमोचन गरेका हुन्। कार्यक्रममा बस्नेतले आफ्नी आमा आशारानी बस्नेतबाट पुस्तक ग्रहण गरेका छन् ।

‘यो अनुशासनसँग जोडिएको किताब हो। बुद्ध एयरलाई मात्र नभइ म आफैंलाई अनुशासनले जोडेको छ। आज २८ वर्ष अनवरत अगाडि बढिरहेको यो वायुसेवा,’ कार्यकारी अध्यक्ष बस्नेतले भने,’किताब लेखिनुको मुख्य कारण व्यवस्थापन नै हो। हामीले नव उद्यमी, व्यवस्थापनका विद्यार्थी लक्षित किताब निकालेका हौँ। यो राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले किताब लेखिएको हो। सपना देख्ने सबैलाई प्रेरणा दिने किताब हो ‘बाइ द बुक’।

नियमलाइ पालना गर्नु पद्धतिलाई मान्नु नै किताबको मुख्य आशय रहेको भनाइ उनले राखे। ‘वायुसेवा उद्योग एकदमै जोखिमपूर्ण उद्योग हो। गुरुत्वाकर्षण छोडेर हावामा उड्नु जोखिम छ। यसमा नियमका कुरा आउँछन। इन्जिन मर्मत, नियम पालना हुनै पर्ने उद्योग हो यो,’ उनले भने, ‘हामी विश्वकै सफल उड्डयन उद्योगमा पर्न सफल छौँ। २८ वर्ष अगाडि सिर्जना भएको अवधारणा अनुसार हाम्रो समूहले ठूलो कलेज, संस्थाबाट डिग्री लिएर कम्पनी सञ्चालन गरेका होइनौ। सर्वसाधरणको सपना अठोट बोकेर यहाँसम्म आएका हौँ।’

आम नेपाली, भावी पुस्ताका लागि आफ्नो पुस्तक उपयोगी हुने उनले विश्वास व्यक्त गरे। ‘यो रेफ्रेन्सको रुपमा प्रयोग गर्न सकिन्छ। सिर्जनशील काम गर्न सकुन् भनेर यो किताब लेखिएको हो,’ उनले भने, ‘५८ वर्षसम्म म बुवासँग बसेँ। मेरो सबैभन्दा ठूलो गुरु बुबा नै हुनुहुन्छ। बुबा म ५९ वर्ष हुँदा स्वर्गीय हुनुभयो। टुहुरो महसुस गरेँ। हामीलाई बुबाले आफ्नो सेयर हस्तान्तरण गर्नुभएको थियो। डेबिट इक्विटी रेसियो २.५  संस्थागत गराइदिनुभयो। इक्विटी भन्दा साढे २ गुणाभन्दा ऋण लिन नपाइने व्यवस्था बनाइदिएर जानुभयो।’

उनले कम्पनी सबैको संयुक्त प्रयासले चलेको बताए। ‘म एक्लोले बुद्ध एयरमार्फत दैनिक १६० उडान गर्न असम्भव छ। हामी सहकर्मी कर्मचारी मिलेर बुद्ध एयरलाई यहाँसम्म ल्याएका हौँ,’ उनले भने, ‘वर्षको ३० लाख यात्रुलाइ सेवा दिन सफल भएका छौँ। सबै कर्मचारीले स्वामित्व महसुस गर्दै आउनुभएको छ।’

सन् १९९७ मा ४ जनाबाट सुरु भएको वायुसेवा १५ सयको परिवारमा विस्तार भएको कथा किताबमा उल्लेख छ। बुद्ध एयर अनुशासन र मिहिनेतको परिणाम रहेको किताबले दर्शाउन खोजेको जनाइएको छ।

हाल यो वायुसेवाले दुई वटा एटीआर-४२, र १६ वटा एटीआर-७२ गरि १८ वटा जहाजमार्फत ४३ वटा गन्तव्यमा उडान गर्दै आएको छ। कम्पनीले हालसम्म २ करोडभन्दा बढी यात्रुलाई सेवा दिइसकेको छ।