म्याग्दी। माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। म्याग्दीको रघुगंगा-७ मा निर्माणाधीन उक्त आयोजना २२.५ मेगावाट क्षमताको हो।
ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको निर्माण तीन वर्षअघि सुरू भएको थियो। निर्माणमा भौतिक प्रगति ९० प्रतिशत पुगेको आयोजना प्रमुख लोकबहादुर नायकले बताएका छन्। उनका अनुसार बाँध, विद्युतगृह र पाइपलाइन जडान सकिएको आयोजनाको विद्युतगृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ।
यही वैशाख महिनासम्ममा परीक्षण उत्पादन सुरू गर्ने आयोजनाको कार्यतालिका थियो। बेनीदेखि आयोजना निर्माणस्थल जोड्ने सडक स्तरोन्नतिका कारण काम रोकिँदा तालिका पछि सरेको उनले बताए। ‘अप्ठ्यारो सडकले हाम्रा उपकरण ढुवानी रोकिँदा जडान गर्न ढिलाइ भएको हो,’ उनले भने।
सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान, फेदीमा विद्युतगृह निर्माण गरिएको छ। विद्युतगृह परिसरमा स्विचयार्ड निर्माण गर्न थालिएको छ। फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर ५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणाधीन छ।
बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मंगले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराइनेछ।
देव ऊर्जा कन्ट्रक्सन सिभिल, हाइड्रोमेकानिकल र बीएफएल ब्याङलोर इलेक्ट्रोमेकानिकल ठेकेदार हुन्। तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स र माछापुच्छ्रे बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्। प्रवर्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ। रासस