BIZMANDU
www.bizmandu.com

प्रभावहीन बनेको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई प्रभावकारी बनाउने सरकारको दाबी

२०८२ बैशाख १९

प्रभावहीन बनेको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई प्रभावकारी बनाउने सरकारको दाबी
प्रभावहीन बनेको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई प्रभावकारी बनाउने सरकारको दाबी

काठमाडौं। सरकारले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई प्रभावकारी बनाउने दाबी फेरि दोहोर्‍याएको छ।

Tata
GBIME

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको आगामी वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत सरकारले प्रभावहीन बनिरहेको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई प्रभावकारी बनाउने वाचा पुन: दोहोर्‍याएको हो।

सरकारले सूचना प्रविधि क्षेत्रमा नवीनतम् प्रविधिको विकास र विस्तारका लागि डिजिटल इकोसिस्टम निर्माण गर्ने भएको छ। आर्टिफिसियल इन्टेलिजेन्सको विकास र नैतिक प्रयोगका लागि संस्थागत र कानुनी आधार तयार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै, सरकारले सञ्चार र निगरानी क्षमतामा वृद्धि गर्न नेपालको आफ्नै भू-उपग्रह सञ्चालनको आधार तयार गर्ने प्रतिबद्धता जनाएको छ।

‘अति संवेदनशील सूचना प्रविधि पूर्वाधारको सुरक्षा र निरन्तरताको सुनिश्चितता गर्दै सुरक्षित साइबर स्पेस निर्माण गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

त्यसैगरी, सरकारले सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्धन गर्न सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन प्रभावकारी नियमन गर्ने कामलाई पनि अघि बढाउने भएको छ।