काठमाडौं। लगानी बोर्डले ४ वर्षभित्र ८ अर्ब ९५ करोड अमेरिकी डलर बराबरका ११ वटा परियोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित रणनीति तथा व्यावसायिक योजना बनाएको छ।
आर्थिक वर्ष २०८५/८६ सम्म कम्तीमा ४ अर्ब ७ करोड डलरका ५ वटा परियोजना संचालनमा ल्याइसक्ने लक्ष्यसहित बोर्डले रणनीति तथा योजना बनाएको हो।
बोर्डले आर्थिक वर्ष २०८५/८६ सम्म कम्तीमा २ अर्ब ८३ करोड डलर बराबरका ७ वटा परियोजना निर्माणको चरणमा पुगिसक्ने तथा अधिकतम ५ अर्ब ५५ करोड डलरका १४ वटा निर्माणको अन्तिम चरणमा पुर्याउने योजना बनाएको छ।
बोर्डले आगामी ४ वर्षमा २४ अर्ब ३० करोड डलर बराबरका ५७ वटा परियोजना ‘पाइपलाइन’मा राखी सम्भाव्यता अध्ययन गर्न प्रस्ताव गरेको छ।
२३ अर्ब ५० करोड डलरका ५२ वटा परियोजना खरिदको चरणमा पुर्याउने तथा १७ अर्ब ९५ करोड डलर बराबरका ४२ वटा आयोजना परियोजना विकास सम्झौता (पीडीए) र परियोजना कार्यान्वयन सम्झौता (पीआइए) वार्ताको चरणमा हुने बोर्डका अधिकारीहरूले बताएका छन्।
बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले १५ अर्ब ७० करोड डलर लागतका ३२ वटा परियोजना वित्तीय व्यवस्थापन र पूर्व-विकास गतिविधि संचालनको अवस्थासम्म लग्ने गरी व्यावसायिक रणनीति स्वीकृत गरेको जानकारी दिए।
४ वर्षभित्र निजी लगानीका ६७ वटा परियोजनाका लागि ७ अर्ब ४५ करोड डलर र अन्य निकायबाट कार्यान्वयन हुने २५ वटा परियोजनाका लागि ३ अर्ब १५ करोड डलर बराबरको लगानी स्वीकृत गर्ने बोर्डको योजना छ।
पूर्वाधार विकासका क्षेत्रमा सार्वजनिक-निजी साझेदारी (पीपीपी) अवधारणामा महत्त्वाकाङ्क्षी लक्ष्य हासिल गर्ने गरी बोर्डको आइतबार बसेको बैठकले रणनीति तथा व्यावसायिक योजना स्वीकृत गरेको छ।
योजना कार्यान्वयनका लागि बोर्डको सांगठनिक संरचना पनि फेरिएको छ। बोर्डमा अब योजना प्रशासन तथा वित्तीय व्यवस्थापन निर्देशनालय, सार्वजनिक-निजी साझेदारी निर्देशनालय, लगानी प्रवर्धन तथा सहजीकरण निर्देशनालय र आयोजना विकास तथा व्यवस्थापन निर्देशनालय राखिएको छ।
निर्देशनालयको नेतृत्व कम्तीमा सहसचिवस्तरको कर्मचारीले गर्नेछन्।
बोर्डले आफ्नो स्थापनायता विभिन्न ३८ वटा परियोजनाका लागि १२ खर्ब बराबरको लगानी स्वीकृत गरेको छ।