BIZMANDU
www.bizmandu.com

प्रदीप पौडेलले नि:शुल्क घोषणा गरेका रोगको उपचारमा १० वर्षमा साढे ८ अर्ब खर्च हुने

२०८२ बैशाख १९

प्रदीप पौडेलले नि:शुल्क घोषणा गरेका रोगको उपचारमा १० वर्षमा साढे ८ अर्ब खर्च हुने
प्रदीप पौडेलले नि:शुल्क घोषणा गरेका रोगको उपचारमा १० वर्षमा साढे ८ अर्ब खर्च हुने


काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नि:शुल्क घोषणा गरेका रोगको उपचारका लागि राज्यकोषमा १० वर्षमा साढे ८ अर्ब रुपैयाँको भार पर्ने देखिएको छ।

Tata
GBIME
NLIC

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले संसद्‍मा दर्ता गराएको लिखित प्रश्नमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री पौडेलले नि:शुल्क घोषणा गरेका विभिन्न ६ रोगको उपचारमा १० वर्षमा ८ अर्ब ४१ करोड रुपैयाँ खर्च हुने जवाफ दिएको हो।

मन्त्री पौडेलले १४ वर्षमुनिका क्यान्सर पीडित बालबालिका र जलनका बिरामीको नि:शुल्क उपचार, रगत नजम्ने दुर्लभ किसिमको वंशानुगत रोग होमोफिलिया र पक्षघातको महँगो औषधि नि:शुल्क वितरण लगायत घोषणा गरेका छन्।

मन्त्रालयले सांसद खनाललाई दिएको जवाफ अनुसार १४ वर्षमुनिका क्यान्सर पीडित बालबालिकाको उपचारमा जनही ३ लाख ११ हजारका दरले ३ अर्ब ११ करोड रुपैयाँ खर्च हुनेछ। मन्त्रालयले प्रत्येक वर्ष १ हजार बालबालिकाको नि:शुल्क उपचार गर्ने योजना बनाएको छ।

यस्तै रगत नजम्ने दुर्लभ किसिमको वंशानुगत रोग होमोफिलियाको औषधि नि:शुल्क वितरणका लागि १० वर्षमा २ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान छ। यो औषधि सरकारलाई दुई वर्ष नि:शुल्क प्राप्त हुने र त्यसपछि यो रोगको उपचारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने मन्त्रालयको जवाफ छ।

जलनका बिरामीको उपचारमा १ अर्ब ८० करोड रुपैयाँ खर्च हुने मन्त्रालयको हिसाब छ।