BIZMANDU
www.bizmandu.com

लगानी दशक घोषणा गर्न महासंघको माग, अध्यक्ष ढकालले भने- नीति नफेरिने सुनिश्चितता चाहियो

२०८२ बैशाख १८

लगानी दशक घोषणा गर्न महासंघको माग, अध्यक्ष ढकालले भने- नीति नफेरिने सुनिश्चितता चाहियो
लगानी दशक घोषणा गर्न महासंघको माग, अध्यक्ष ढकालले भने- नीति नफेरिने सुनिश्चितता चाहियो


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशमा लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणाका साथै लगानी सम्बन्धी एकीकृत कानून बनाउन सरकारसँग आग्रह गरेका छन्।

Tata
GBIME
NLIC

उनले बिहीबार कोशी प्रदेश सरकारले पहिलोपटक आयोजना गरेको लगानी सम्मेलनको उद्घाटनका अवसरमा लगानी अभिवृद्धिका लागि सरकारले वातावरण तयार गर्नुपर्ने बताए।

‘सरकारले आगामी १० वर्षलाई लगानी दशकको रुपमा घोषणा गर्नुका साथै लगानीसँग सम्बन्धित वन, वातावरण, भूमि लगायत कानुन एकीकृत गर्नुपर्छ,’ उनले भने, ‘निकाय नै पिच्छे कानुनको फरक फरक व्याख्या गरेर व्यवसायीलाई हतोत्साहित गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।’

उनले लगानी वृद्धि र आर्थिक विकासका लागि नीतिगत स्थायित्वमा जोड दिए। ‘लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व अबको आवश्यक्ता हो। राजनीतिक अस्थिरताका बीचमा पनि नीतिगत स्थायित्व हुँदा धेरै देशले विकास गरेका प्रशस्तै उदाहरण छन्। त्यसैले सबै दलहरुले कम्तीमा अबको दश वर्ष नीतिगत परिवर्तन नगर्ने सहमति गर्नुपर्छ,’ उनले भने, ‘कानुनको अपव्याख्या गर्ने र बाझिने अवस्था हुनुभएन।’

महासंघका अध्यक्ष ढकालले अबको बजेट र मौद्रिक नीति लगानी सहजीकरणमा केन्द्रित हुनुपर्ने बताए। ‘अबको बजेट नयाँ चरणको आर्थिक सुधारको प्रस्थान विन्दु बन्नुपर्छ,’ उनले भने।

उनले व्यवसाय दर्ता नागरिक एपबाट हुने, कर बुझाएको आधारमा स्वतः नवीकरण हुने र विदेशी लगानीलाई अनलाइनबाट सबै प्रक्रिया पूरा गरेपछि फाइल बुझाए पुग्ने व्यवस्था गर्न आग्रह गरे।

‘लगानी बोर्ड, उद्योग विभाग लगायत केही निकायलाई एकीकृत गरी लगानी सहजीकरण गर्ने थलो बनाउन आवश्यक छ,’ उनले भने, ‘लगानीकर्ताले फाइल डुलाउँदै हिंडनुपर्ने अवस्था अन्त्य गरियो भने त्यसले ठूलो सन्देश जान्छ।’