काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार विकासलाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिएका छन्।
उनले बिहीबार झापाको मेचीनगर क्षेत्रमा सडकको निरीक्षणका क्रमका विकास निर्माणमा गरिएको लगानीले उत्पादन वृद्धि हुनुपर्ने बताए।
‘राज्यले वर्षेनि विकासका लागि अर्बौं रुपैयाँ लगानी गरिरहेको छ। तर, त्यो लगानी अनुसार प्रतिफल प्राप्त भएको छ कि छैन भनेर विश्लेषण गर्न पनि जरुरी छ,’ उनले भने, ’सडक सञ्जालको पहुँचले ग्रामिण क्षेत्रमा कृषि उपजको उत्पादन बढेर स्थानीयको जीवनस्तरमा सुधार हुन पनि आवश्यक छ।’
उनले सरकारले अब ठूलो जनसंख्यालाई लाभ हुने आयोजनालाई प्राथमिकता दिने बताए। ‘हामी अब आयोजना थप्नेभन्दा थालिएका र अलपत्र योजना पूरा गर्नतिर लाग्छौं,’ उनले भने।
मन्त्री दाहालले सुके निन्दा खोलामा निर्माण रोकिएको पुलको काम अगाडि बढाउन सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवलाई निर्देशन दिए।
मन्त्रीसँग मेचीनगर नगरपालिका प्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती लगायत जन प्रतिनिधिले राधा स्वामी-सांगली टार सडक निर्माणका लागि बजेट व्यवस्था गर्न माग गरेका थिए।