BIZMANDU
www.bizmandu.com

टोयोटा-वेमोबीच सहकार्य घोषणा, स्वचालित ड्राइभिङ प्रविधिका सवारी उत्पादन गर्न अनुसन्धान

२०८२ बैशाख १७

टोयोटा-वेमोबीच सहकार्य घोषणा, स्वचालित ड्राइभिङ प्रविधिका सवारी उत्पादन गर्न अनुसन्धान
टोयोटा-वेमोबीच सहकार्य घोषणा, स्वचालित ड्राइभिङ प्रविधिका सवारी उत्पादन गर्न अनुसन्धान

टोकियो। जापानको शीर्ष अटोमेकर कम्पनी टोयोटाले अमेरिकी स्वायत्त ड्राइभिङ प्रविधि कम्पनी वेमोसँग साझेदारीको घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

विश्वभर यस्तो प्रविधिको प्रयोग तीव्र गतिमा भइरहेका बेला टोयोटाले आफूलाई अगाडि राख्ने प्रयासमा यस्तो सहकार्य हुनसक्ने विश्लेषकहरुले पहिल्यै अनुमान गरेका थिए।

‘टोयोटा समाजलाई ट्राफिक दुर्घटना शून्य भएको बनाउन र सबैका लागि गतिशीलता दिने कम्पनी बन्न प्रतिबद्ध छ। स्वचालित ड्राइभिङ प्रविधिमार्फत सुरक्षा सहकार्यलाई अगाडि बढाउन हामीले वेमोसँग हात मिलाएका हौं,’ टोयोटाका कार्यकारी उपाध्यक्ष हिरोकी नाकाजिमाले बुधबार विज्ञप्तिमार्फत भनेका छन्।

२००९ मा गुगल सेल्फ-ड्राइभिङ कार प्रोजेक्टको रूपमा सुरु भएको वेमोले अहिले सान फ्रान्सिस्को, फिनिक्स, लस एन्जलस र अस्टिनमा पूर्ण रूपमा स्वायत्त राइड-हेलिङ सेवाहरू दिइरहेको छ। अन्य अमेरिकी सहरहरूमा पनि यसलाई विस्तार गर्दैछ। वेमोको राइड-हेलिङ लिडर उबरसँग पनि साझेदारी छ।

टोयोटाले रोबोटिक्स, एआइ र शून्य कार्बन उत्सर्जन गर्ने यातायात परीक्षण गर्न माउन्ट फुजी नजिकै सडक र आवाससहितको एउटा सहर निर्माण गरेको छ, जसलाई वुवन सिटी भनिन्छ। क्यामरी सेडान र लेक्सस लक्जरी मोडेलहरूको यो निर्माता कम्पनीले सुरक्षित र वातावरणीय रूपमा सचेत निर्माताका रूपमा आफ्नो प्रतिष्ठा जोगाउन खोज्दै अटो प्रविधिलाई प्रयोगमा ल्याउन निकै सतर्क छ।

वेमोका सह-सीइओ टेकेद्रा मावाकानाले विश्वास जित्न साझेदारहरू महत्त्वपूर्ण रहेको बताए। ‘यसका लागि टोयोटा जस्ता विश्वव्यापी साझेदारहरू आवश्यक छन् जसले सडक सुरक्षा सुधार गर्ने र पहुँचयोग्य यातायात विस्तार गर्ने हाम्रो प्रतिबद्धतामा सघाउँछन्,’ मावाकानाले भने।

सम्झौताका सर्तहरूको विवरण भने खुलाइएको छैन। दुवै पक्षले अझै पनि आपसी सहकार्यमा उत्पादनहरू के कस्ता विकास गर्न सकिन्छ भन्नेमा अनुसन्धानहरु भइरहेको जनाएका छन्।

जापानमा पूर्ण रूपमा स्वायत्त सवारीसाधनका विभिन्न परीक्षण संस्करणहरू भए तापनि तिनीहरू हाल निश्चित प्रतिबन्धित क्षेत्रहरूमा सीमित छन्। अन्य कम्पनीहरू र अटोमेकरहरूले सार्वजनिक यातायातसहित समान सेवाहरूमा काम गरिरहेका छन्। (एपी)