काठमाडौं। सरकारले चालु आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएकामा पूरा नहुने भएको छ।
सरकारले बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएकामा राष्ट्रिय तथ्यांक कार्यालयले ४.६१ प्रतिशतभन्दा बढी वृद्धि सम्भव नहुने बताएको छ।
कार्यालयले चालु वर्षको साढे ९ महिना बितेपछि बुधबार पत्रकार सम्मेलन गरी उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो।
निजी क्षेत्रमा अपेक्षा अनुसार कर्जा लगानी हुन नसकेका कारण आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा नहुने भएको हो। नेपाल राष्ट्र बैंकले चालु वर्ष साढे १२ प्रतिशतले कर्जा विस्तार हुने लक्ष्य लिएकामा ७ प्रतिशत हाराहारीमा मात्र लगानी बढेको छ।
निर्माण क्षेत्र सुस्त रहेका कारण अर्थतन्त्र अपेक्षितरुपमा विस्तार हुन सकेको छैन।
गत आर्थिक वर्ष आर्थिक वृद्धि ३.६७ प्रतिशतमा सीमित थियो। त्यसको अघिल्लो वर्ष अर्थतन्त्र १.९८ प्रतिशतले मात्र विस्तार भएको थियो।
भूकम्पपछि पुनर्निर्माणले तीव्रता पाउँदा आर्थिक वर्ष २०७३/७४ मा ८.९८ प्रतिशत आर्थिक वृद्धि भएकामा त्यसपछि क्रमश: ओरालो लागेर आर्थिक वर्ष २०७६/७७ मा २.३२ प्रतिशतले ऋणात्मक भएको थियो।
कार्यालयका अनुसार अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्नेछ।
प्रति व्यक्ति आय ५० अमेरिकी डलर बढ्ने प्रक्षेपण छ। गत आर्थिक वर्ष प्रति व्यक्ति आय १४६७ अमेरिकी डलर रहेकामा चालु वर्ष १५१७ डलर पुग्ने कार्यालयको अनुमान छ।