काठमाडौं। सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग अवहेलना मुद्दामा लिखित जवाफ मागेको छ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलाासले अदालतको अवहेलना मुद्दामा गगनसँग मंगलबार लिखित जवाफ मागेको हो। उनलाई लिखित जवाफ पेस गर्न ७ दिन दिइएको छ।
सर्वोच्चले अदालतमा विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी अभिव्यक्ति नदिन पनि आदेश दिएको छ।
अधिवक्ताहरु अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति मुद्दामा सर्वोच्चले ‘डिल’ गरिरहेको अभिव्यक्ति गगनले दिएको र यसले सर्वोच्चको सम्मानमा आँच पुगेको भन्दै वैशाख १४ गते रिट दायर गरेका थिए।
लोकतन्त्र दिवसका अवसरमा वैशाख ११ गते काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र : अवसर र चुनौती’ विषयक कार्यक्रममा गगनले संवैधानिक आयोगका पदाधिकारीहरूलाई अदालतले ‘तँलाई हान्दिऊँ’ भन्दै झुलाइरहेको आरोप लगाएको रिट निवेदनमा उल्लेख छ।