काठमाडौं। नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका लागि युवा पुस्तासँग सहकार्य गर्ने भएको छ।
बोर्डले युवा पुस्ताको साथ लिने उद्देश्यसहित मंगलबार काठमाडौंमा ‘कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेटर’ कार्यक्रम गरेको छ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन प्रवर्धनमा प्रविधिको उपयोग गरी नयाँ पुस्तालाई जोड्न आवश्यक रहेको बताए।
‘पर्यटन क्षेत्रमा पुरानै र सीमित गन्तव्यको मात्रै प्रचार भइरहेको छ,’ उनले भने, ‘पछिल्लो दशकमा विश्वमा पर्यटनको ट्रेन्ड परिवर्तन भएकाले हामीले पनि नयाँ गन्तव्यको खोजी र प्रचारमा नयाँ शैली अवलम्बन गर्न आवश्यक छ।’
जोशीले पर्यटन प्रवर्धनका लागि नयाँ रणनीतिको आवश्यकता औंल्याउँदै घुमफिर गरिरहेको युवा पुस्तासँग काम गर्न बोर्ड इच्छुक रहेको बताए। ‘हामी कन्टेन्ट क्रियटरहरुसँग मिलेर पर्यटनलाई रिइम्याजिन गर्न प्रतिबद्ध छौं,’ उनले भने।
कार्यक्रममा पूर्वको मुन्धुम ट्रेलदेखि सुदूरपश्चिमको अपि हिमाल तथा सातै प्रदेशका प्रचार हुन नसकेका गन्तव्यबारे समेटिएको भिडियो सामग्री प्रस्तुत गरिएको थियो।