काठमाडौं। डेरी उद्योग संघले मोहीको ब्राण्डिङलाई प्रोत्साहित गर्न सरकारसँग माग गरेको छ।
संघले मोही ब्रान्डिङ गरी बिक्री वितरण गर्दा कृषकबाट उत्पादित दूध व्यवस्थापन गर्न सहयोग पुग्ने भन्दै यसलाई प्रोत्साहित गर्ने नीति लिन सरकारसँग माग गरेको हो।
संघले यसका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत मोही मख्खन र घिउमा भ्याट हटाउने व्यवस्थाका लागि पहल गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
‘मख्खन, घिउ, मोही जस्ता खाद्यवस्तुमा भ्याट नलाग्ने व्यवस्था गर्दा एकातर्फ आम उपभोक्ता वर्गमा थप मूल्य भार पर्दैन भने अर्कातर्फ मोहीको खपत बढन गई आयातित दुग्धजन्य पदार्थहरुलाई प्रतिस्थापन गर्दै देशमा थप रोजगारी सृजना हुनेछ,’ संघले मन्त्रालयका सचिवलाई बुझाउको ज्ञापनपत्रमा भनिएको छ।
मोहीमा भ्याट हटाए विदेशबाट आयातित पेय वस्तुको प्रयोगलाई निरुत्साहित गर्न सकिने संघको दाबी छ।