काठमाडौं। कटथ्रोट प्रतिस्पर्धाले थलिएका इन्टरनेट सेवा प्रदायकहरुले पछिल्लो समय कस्टमर बेस बढाउन सफल भएका छन्।
प्रतिस्पर्धा गर्न नसकेर नवीकरण गर्न समेत नसकेका साना इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स धमाधम खारेजीमा परिरहेको अवस्थामा २० मध्ये १६ इन्टरनेट सेवा प्रदायकहरुले ग्राहक संख्या बढाउन सफल भएका छन्। बाँकी ४ वटाको ग्राहक संख्या भने घटेको छ।
चैतमा वर्ल्डलिंकले सर्वाधिक मात्रामा इन्टरनेट ग्राहक थप्न सफल भएको छ। १० लाख कस्टमर बेस बनाउन सफल भएको देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले चैतमा झण्डै १५ हजार नयाँ ग्राहक थपेको हो।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार फागुनको तुलनामा चैतमा वर्ल्डलिंकले १४ हजार ८५२ इन्टनरनेट ग्राहक थपेको छ। वर्ल्डलिंकसँग फागुनमा ९ लाख ८६ हजार ७९ ग्राहक रहेकामा चैतमा १० लाख ९३१ पुगेको छ।
ग्राहक संख्यामा वर्ल्डलिंकपछि रहेको सरकारी स्वामित्व नेपाल टेलिकमको ग्राहक संख्या भने झिनो मात्रामा घटेको छ। फागुनमा ३ लाख ५० हजार ६७६ ग्राहक रहेको टेलिकमसँग चैतमा १०१ ले घटेर ३ लाख ५० हजार ५७५ पुगेको छ।
वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवले सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा पनि फाइबर इन्टरनेटको विस्तार तीव्र गतिमा हुँदै गएकाले कस्टमर बेस बढाउन सफल भएको बताए।
‘हामी इन्टरनेट मात्रै जोड्दैनौं, त्यसको गुणस्तरमा सधैं प्रयत्नरत छौं। सेवाको गुणस्तर राम्रो भएकाले नै ग्राहक संख्या बढाउन सफल भएका हौं,’ यादवले भने।
इन्टरनेट सेवा प्रदायकहरुकाअनुसार गुणस्तरमा ध्यान नदिने सेवा प्रदायकहरुले अब प्रतिस्पर्धा गर्न गाह्रो भइसकेको उनी बताउँछन्। सस्तो मूल्यमा इन्टरनेट दिन्छु भन्ने तर गुणस्तरमा सम्झौता गर्ने कम्पनीलाई छोडेर पछिल्लो समय प्रयोगकर्ताहरु आफ्टर सेल्स् सर्भिसमा चुस्त कम्पनीको छनोट गरिरहेकाले पनि ठूला आइएसपीहरुको कस्टमर बेस बढ्दै गएको उनीहरुको भनाइ छ।
‘ग्राहकसँग इन्टरनेटको भुक्तानी लिने तर, कबोल गरेअनुसारको गुणस्तरीय इन्टरनेट नदिनेसँग उपभोक्ता सचेत बनेका छन्। कुनै पनि बेला इन्टरनेट नचल्ने भएपछि त्यसको रेस्पोन्स त गर्नुपर्छ। तर, त्यस्ता आइएसपीहरुले वास्ता नगर्दा बरु केही बढी शुल्क नै तिरेर राम्रो इन्टरनेट कम्पनी छनोट गर्नेको संख्या बढेको छ। त्यसको प्रभाव ठूला आइएसपीहरुको कस्टमर बेसमा देखिएको हो,’ एक इन्टरनेट व्यवसायीले भने।
त्यसैगरी, डिस मिडिया नेटवर्कले पनि ग्राहक संख्या बढाएको छ। फागुनमा ३ लाख ४५ हजार ७६ रहेको ग्राहक संख्या डिस मिडियाले चैतमा १ हजार ७०३ थपेर ३ लाख ४६ हजार ७७९ पुर्याएको छ।
प्राधिकरणकाअनुसार चैतमा अर्को इन्टरनेट सेवा प्रदायक सुबिसुले २ हजार ३२९ ग्राहक थपेर ३ लाख १२ हजार ६२७ पुर्याएको छ। भायनेटले १ हजार ४६७ इन्टरनेट ग्राहक संख्या बढाएर २ लाख ४५ हजार १५४ पुर्याएको प्राधिकरणले जनाएको छ।
वर्ल्डलिंकको बजार हिस्सा ३२ प्रतिशत छ। नेपाल टेलिकमको ११.२ प्रतिशत, डिस मिडियाको ११.०८ प्रतिशत, सुबिसुको ९.९९ प्रतिशत र भायनेटको ७.८३ प्रतिशत बजार हिस्सा छ।
ग्राहक संख्याका आधारमा शीर्ष ६ स्थानमा रहेको वेबसर्फरको ग्राहक संख्या घटेको छ। फागुनमा १ लाख ८७ हजार २९९ रहेको ग्राहक संख्या चैतमा १ लाख ८६ हजार ६६७ मा खुम्चिएको छ।
ग्राहक संख्या बढाउन कसरत गरिरहेको क्लासिक टेकले भने चैतमा २ हजार ६५ नयाँ ग्राहक थपेको तथ्यांकमा देखिन्छ। फागुनमा १ लाख ७८ हजार ९३४ रहेको ग्राहक संख्या क्लासिक टेकले चैतमा १ लाख ८० हजार ९९९ पुर्याएको छ।
टेकमाइन्ड्सले पनि ग्राहक संख्या थप्न सफल भएको छ। ८५० ग्राहक थपेर टेकमाइन्ड्सले चैतमा ८५ हजार ५१ पुर्याएको छ।
यस्तै, चौधरी समूहको सिजी कम्युनिकेसनले पनि १ हजार २६३ नयाँ ग्राहक थप्न सफल भएको छ। चैतमा सिजी कम्युनिकेसनको इन्टरनेट ग्राहक संख्या ७९ हजार ९८३ पुगेको छ। वाइफाई नेपालले पनि साढे ४ हजार बढी ग्राहक थपेर चैतमा ७० हजार ६७५ पुर्याएको प्राधिकरणले जनाएको छ।
ब्रोडलिंकले ५२७ ग्राहक थपेर चैतमा कस्टमर बेस ५५ हजार ८१ पुर्याएको छ। फाइबरवर्ल्ड कम्युनिकेसनको भने ग्राहक संख्या ओरालो लागेको छ। चैतमा १ हजार ४२८ ग्राहक घटेर ४७ हजार ७८८ मा सीमित भएको छ।
सजिलो नेटले भने एकै महिना ६ हजार ७२ ग्राहक थपेको छ। चैतमा सजिलो नेटको ग्राहक संख्या २५ हजार ३२० पुगेको प्राधिकरणले जनाएको छ।
त्यसैगरी, फर्स्टलिंक कम्युनिकेसन्सले ८३ ग्राहक थपेर चैतमा १६ हजार ९७० पुर्याएको छ। कनेक्ट नेपाल नेटवर्क्सले भने सो अवधिमा १ हजार ४८ ग्राहक गुमाएको छ। जसअनुसार चैतमा उसको ग्राहक संख्या १५ हजार ९५१ मा सीमित भएको छ।
प्राधिकरणकाअनुसार एरोनेट, चित्रवन युनिक नेट, पोखरा इन्टरनेट, एभरेष्ट वायरलेस नेटवर्क र आइ जोनले भने ग्राहक संख्या बढाएका छन्। एरोनेटले १ हजार ७३२ ग्राहक थपेर चैतमा १२ हजार ५२० पुर्याएको छ। चित्रवन युनिकले १०८ थपेर १२ हजार ५०२, पोखरा इन्टरनेटले ३ ग्राहक थपेर १० हजार २२, एभरेष्ट वायरलेसले १ हजार ४१५ थपेर ८ हजार ७७० र आइ जोनले ५० थपेर ५ हजार ५४० पुर्याएको प्राधिकरणले जनाएको छ।
फागुनमा इन्टरनेट सेवा प्रदायकसँग ३० लाख ८२ हजार ७२६ ग्राहक संख्या रहेकामा चैतमा बढेर ३१ लाख ३० हजार ६५५ पुगेको छ। प्राधिकरणबाट अनुमति पाएका १०७ इन्टरनेट (इमेलसहित) सेवा प्रदायक अस्तित्वमा छन्।
प्रविधिअनुसार मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता सर्वाधिक २ करोड ५९ लाख छन् भने फिक्स्ड ब्रोडब्याण्ड (वायर्ड)का ग्राहक ३१ लाख ४४४ छन्। मोबाइल ब्रोडब्यान्डको बजार हिस्सा ८९.२५ प्रतिशत रहँदा फिक्स्ड ब्रोडब्याण्ड (वायर्ड)को १०.६५ प्रतिशत छ। फिक्स्ड ब्रोडब्याण्ड (वायरलेस)का ग्राहक ३० हजार २११ छन्। समग्र बजारमा यसको हिस्सा जम्मा ०.१० प्रतिशत मात्रै रहेको प्राधिकरणले जनाएको छ।