BIZMANDU
www.bizmandu.com

एक सय करोड लगानीमा विराटनगरमा सलाइन पानी उद्योग, मासिक ९ लाख बोतल उत्पादन गर्ने

२०८२ बैशाख १५

एक सय करोड लगानीमा विराटनगरमा सलाइन पानी उद्योग,  मासिक ९ लाख बोतल उत्पादन गर्ने
एक सय करोड लगानीमा विराटनगरमा सलाइन पानी उद्योग, मासिक ९ लाख बोतल उत्पादन गर्ने


विराटनगर। दुई मेडिकल कलेजसहित अन्य एक दर्जन ठूला अस्पतालका कारण मेडिकल हब भइसकेको विराटनगरमा एक सय करोडका लगानीमा सलाइन पानी उद्योग सुरु भएको छ।

Tata
GBIME
NLIC

एलेक्जा लाइफ साइन्सेस प्रालिले विराटनगरसँग जोडिएको मोरङको बुढीगंगा गाउँपालिकामा सलाइन पानी उत्पादनबाट औषधि उद्योग सुरुआत गरेको हो।

लामो समयदेखि सलाइन पानी आयात गरिरहेका दिनेश ठाकुर स्वर्णकार र रञ्जित भगतको संयुक्त लगानीमा सञ्चालनमा आएको उद्योगमा एभरेष्ट बैंकको पनि लगानी छ।

देशमा लगानीको वातावरण नभएको भन्ने भाष्य निर्माण भइरहेका बेला आफूहरुले ठूलो लगानीमा उद्योग सुरु गरेको सञ्चालक दिनेशले बताए।

सञ्चालक दिनेशले ७५ करोड लगानी भइसकेको र उद्योग पूर्णरूपमा सञ्चालनमा आउन थप २५ करोड आवश्यक पर्ने बताए ।

उद्योगले तीन चरणमा सलाइन पानी बजारमा ल्याउने छ। पहिलो चरणमा अत्यावश्यक मानिने सलाइन पानी एलभीपी उत्पादन गरिने छ। यस्तो एलभीपी सलाइन १ सय, ५ सय, १ हजार र ३ हजार एमएल गरी ४ प्रकारका बोतलमा आउने छ। उद्योगसँग मासिक ९ लाख बोतल सलाइन पानी उत्पादन गर्ने क्षमता छ।

ठूलो बोतलमा आउने यस्तो सलाइनलाई एलभीपी अर्थात् लार्ज भोल्युम प्यारेन्टेरल भनिन्छ।

आधुनिक चिकित्सामा बिरामीका लागि सलाइन पानीलाई महत्त्वपूर्ण तत्त्व मानिन्छ। मुखबाट दिइने औषधिभन्दा सलाइन पानीलाई संवेदनशील मानिएको छ।

एलभीपी सिधै रगतमा पुगेर मुटु र मस्तिष्कसम्म जाने भएकाले गुणस्तरमा कुनै कमीकमजोरी भए ज्यान जोखिममा पर्ने सम्भावना उच्च हुन्छ। त्यसैले सलाइन पानी रगतजत्तिकै शुद्ध हुनुपर्ने चिकित्सा विज्ञानको मान्यता छ।

औषधि व्यवस्था विभागले परीक्षणमा राख्ने भएकाले सलाइन पानी आगामी साउनदेखि बजारमा ल्याउने उद्योगको तयारी छ।

नेपालमा एलेक्जाबाहेक एलभीपीका अन्य २ वटा उद्योग सञ्चालनमा छन्। जनकपुरमा एभरेष्ट प्यारेन्टेरल पूर्ण र ढल्केवरमा लोमस प्यारेन्टेरल आंशिक क्षमतामा चलिरहेका छन्।

एलेक्जाले दोस्रो चरणमा सानो परिमाणमा स्मल भोल्युम प्यारेन्टेरल (एसभीपी) उत्पादन गर्ने छ। एसभीपी अन्तर्गत १ देखि २० एमएलसम्मका इन्जेक्टेबल लिक्विड हुनेछन्।

‘नेपालमा हाल एलभीपी क्षेत्रमा पूर्णरूपले सञ्चालित एक उद्योग मात्र छ। भारतका अन्य ९ उद्योगका एलभीपी नेपाली बजारमा प्रचलित छन्। एलेक्जा नेपालको सबैभन्दा ठूलो र अत्याधुनिक एलभीपी उद्योग हो’, सञ्चालक दिनेशले भने।

उनले विश्व स्वास्थ्य संगठनको कुशल औषधी उत्पादन (जीएमपी) र अन्य अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्लान्ट स्थापना गरिएको जानकारी दिए।

दिनेश ठाकुर स्वर्णकार

नेपालमा वार्षिक ६० अर्बको औषधि बिक्री हुनेमा ६० प्रतिशत हिस्सा विदेशी कम्पनीका उत्पादनले ओगटेका छन्।

एलेक्जाले आफ्नो उत्पादन देशभित्र मात्र बिक्री गर्ने छैन, विदेशमा पनि निर्यात गर्नेछ। दिनेशले एलेक्जा ब्रान्डको एलभीपी भारत, श्रीलंका, भुटान, यमन लगायत १० देशमा निर्यात हुने निश्चित भइसकेको जानकारी दिए।

औषधि व्यवस्था विभागमा हाल १ सय कम्पनी दर्ता रहेकामा ७५ वटा मात्र सञ्चालनमा छन्। ती मध्ये दुई दर्जन उद्योग मात्र बलियो अवस्थामा छन्। सरकारले प्रोत्साहन र संरक्षण गर्ने नीति नलिएका कारण उद्योगहरु धराशायी बनेको व्यवसायीहरुले बताउने गरेका छन्।

औषधिमा भ्याट नलाग्ने हुँदा उद्योग भ्याटमा दर्ता हुँदैन। उद्योग स्थापना र सञ्चालन गर्दा खरिद गर्नुपर्ने सामग्रीमा लागेको भ्याट क्रेडिट गर्न नपाइने बाध्यता छ। यसबाट उद्योगको लागत बढेको छ।

त्यस्तै उद्योग स्थापना गर्दा प्रयोग हुने प्यानल, चिलर, कम्प्रेसर, बोयलर, पानी प्रशोधन यन्त्र, ल्याबका फर्निचर लगायत सामग्रीमा पनि चर्को भन्सार महसुल तिर्नुपर्ने बाध्यता छ। यसलाई उद्योगीहरुले सरकारले लगानी गर्न प्रोत्साहन नगरेको रुपमा अर्थ्याउने गरेका छन्।

‘अन्य मुलुकमा आफ्नै देशभित्र उत्पादन हुने ओखती आयातमा प्रतिबन्ध लगाएको हुन्छ। तर, हामीकहाँ एकै प्रकारको ओखती १० वटा उद्योगले उत्पादन गरे पनि आयात गर्न दिइएको छ। स्वदेशी उद्योगबीच मात्र नभइ विदेशीसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ,’ दिनेशले भने।

उनका अनुसार भर्खरै अनुसन्धान भएका औषधि सुरुमा महँगा हुन्छन् र सरकारको स्वीकृतिमा आयातकर्ताले ती औषधि महँगो मूल्यमा बिक्री गर्छन्।

तर, केही वर्षपछि विदेशमा ती औषधि सस्तो भइसक्दा पनि नेपालमा पुरानै महँगो एमआरपीमा बिक्री भइरहेका छन्। औषधि व्यवस्था विभागले यसमा अनुगमन र कारबाही गर्न सकेको छैन।