काठमाडौं। उपत्यकामा पछिल्लो समय विभिन्न समूहले दिनदिनै प्रदर्शन गरिरहेका छन्। किसानदेखि शिक्षक, राजावादीदेखि चिकित्सकसम्म। राजधानीका मुख्य सडक नै बन्द गरेर भइरहेको प्रदर्शनको सोझो असर व्यापारीहरुलाई परेको छ।
माइतीघर-नयाँ बानेश्वर सडकखण्ड हरेक दिन अवरुद्ध भएको करिब एक महिना हुन लाग्यो। माइतीघरमा प्रदर्शन छुट्ने कुरा हुँदै भएन। अझ रत्नपार्क, भृकुटीमण्डप, बल्खु लगायत क्षेत्रमा विभिन्न समूह प्रदर्शन गरिरहन्छन्। यसको असरले गर्दा सडकमा सवारीसाधन सहजरुपले चल्न सक्दैनन्। जसकारण बजार पुग्ने ग्राहकको संख्यामा कमी आएको व्यवसायी बताउँछन्।
बानेश्वर क्षेत्रमा शिक्षकको प्रदर्शनको असर धेरैतिर परेको छ। बिहानदेखि दिउँसोसम्म सडक बन्द गर्दा त्यसको असर काठमाडौंका अन्य सडकमा पनि पर्छ। जाम बढ्दा सहरी सडक नै अस्तव्यस्त हुन्छ। जसकारण होलसेलमा सामान किन्न असन, इन्द्रचोक, न्यूरोड, महाबौद्ध पुग्नेको संख्यामा कमी आएको छ। बानेश्वर, कोटेश्वर लगायत क्षेत्रमा पनि यसको असर छ।
‘दिनहुँ प्रदर्शनका कारण दिउँसोको समयमा हुने कारोबारमा ग्राहक आउन कम भएपछि व्यापार नै घटेको छ,’ न्यूरोडका एक व्यवसायीले भने।
गर्मीयामको सुरुवाती महिना हो अहिले। व्यापारीहरले गर्मीका लागि भन्दै कपडा स्टक गरेका छन् गोदाममा। तर, किन्न आउनेहरु प्रदर्शनको कारण देखाएर आउन छाडेको उनीहरु बताउँछन्।
यस्तै, आन्दोलनका कारण बानेश्वर क्षेत्रको व्यापार चौपट भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ। बानेश्वर व्यापारिक क्षेत्र भएकोले ग्राहकको फुटफल धेरै हुन्छ। प्रदर्शनका कारण हुने ट्राफिक जाम र झन्झटका कारण त्यहाँ ग्राहक आउन कम भएको नेपाल राष्ट्रिय व्यवासायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले बताए।
‘बानेश्वर र तीनकुने क्षेत्रको मुख्य सडक हरेक दिन प्रदर्शनको कारण बन्द छ। आन्दोलनकारी ठूलो संख्यामा उपस्थित हुने भएकाले दिउसोको समयमा पसल खोल्नै सकिंदैन। व्यापार व्यवसायमा ठूलो असर पुगेको छ,’ उनले राजावादीको आन्दोलनमा भएको हिंस्रक गतिविधितर्फ इंगित गर्दै भने, ‘आन्दोलन, झडप, आमसभाले गर्दा हामी व्यवसायी त्रसित भएका छौं। बिहान एकछिन पसल खोलेर दिउँसो बन्द गर्नुपर्दा सटर भाडा कसरी तिर्ने?’
आरबी कम्प्लेक्स व्यवसायी संघका उपाध्यक्ष रमेश कुमार सुवेदीले पनि अहिले काठमाडौं केन्द्रित आन्दोलनका कारण ग्राहकहरुको फुटफल घटेको बताए।
‘पहिले गर्मीका सिजनमा अर्डर आएका सामान ५-१० दिनसम्म बिल बनाएर पठाउन भ्याइँदैनथ्यो। पछिल्लो समय ७० प्रतिशत व्यापार घटेको छ। अनलाइन र ट्रेडिङ संचालन गर्ने व्यवसायी बाहेक सबैको व्यापार कम भएको छ। अनलाइन व्यापार नगर्नेलाई भाडा जवहो गर्नै मुस्किल छ। बानेश्वर क्षेत्रका व्यापारीले लामो समयदेखि पसल बन्द भएकोले केही समय सामानको भुक्तानी समेत तिर्न नसकेको जानकारी गराएका छन्,’ उनले भने।
थोक पसलमा खरिद गर्न आउने ग्राहकको संख्या निक्कै पातलिएको छ। ‘यतिबेला पुराना केही ग्राहकका कारण मात्र होलसेल पसल चलिरहेका छन्। नयाँ ग्राहक छैनन्,’ सुवेदीले भने।
रन्जना ट्रेड सेन्टरमा रहेको फाइब एम भिनटेज डेनिमका संचालक विकास धिमाल सडक ठप्प पारेर दिनहुँ भइरहेको प्रदर्शनका कारण ग्राहक उल्लेख्यरुपमा घटेको बताउँछन्।
‘ग्राहकले यातायातका कारण समस्या भोग्नुपरेको छ। सडक प्रदर्शनकारीले कब्जा गरेका कारण सामान किन्नका लागि बजारमा निस्किने अवस्था छैन। पोहोर यतिबेलासम्म गर्मीका सामान बिक्री भइसकेका थिए। यसपालि सामान बिक्री गर्न सकिएला जस्तो छैन,’ उनले भने, ‘सिजनको सुरुवातमै व्यापार नहुँदा तनाव छ। रिटेलमा व्यापार भएमात्र होलसेलबाट कपडा जाने हो। विभिन्न समूहको प्रदर्शनले हाम्रो व्यापार नै चौपट भयो। आन्दोलनकारीका माग त सरकारले पूरा गर्ला। हामीले बेहोरेको क्षति चाहिं कसले बेहोरिदिन्छ ?’
महाबौद्धस्थित सधैं भिड भइरहने रेडिमेड हाउसका कर्मचारी पवन गौतमले हाल दिउँसोको समयमा पसलमा ग्राहक आउनै छाडेको बताए।
‘अतिआवश्यक पर्ने ग्राहकले बिहानै आएर कपडा लिएर जाने गरेका छन्। दिउँसो त ग्राहक नै आउन छाडे,’ उनले भने।
एक महिनादेखि मुख्य सडक ठप्प हुँदा त्यसको असर व्यापारीलाई मात्र परेको छैन, ती क्षेत्रमा आधारित रहेर जीविकोपार्जन गरिरहेकाहरु पनि सकसमा परेका छन्। यातायात व्यवसायी झनै प्रताडित बन्न पुगेका छन्।