काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाले विश्व बजारमा दरिलो उपस्थिति देखाउन सकेको बताएका छन्।
२९ औं राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ललितपुरमा आयोजित गरेको कार्यक्रममा उनले विभिन्न चुनौतीहरुका बीच नेपाली चिया प्रमुख निर्यातजन्य बालीका रुपमा रहेको छ बताएका हुन्।
‘यो कृषक, मजदुर, उद्योगी व्यवसायी ,सहकारी र सरकारको सामुहिक प्रयासबाट सम्भव भएको हो,’ उनले भने।
मुलुकको व्यापारघाटा चुलिँदो अवस्थामा चियामा आत्मनिर्भर मात्रै होइन ,भारत सहित तेस्रो मुलुकमा समेत निर्यात हुँदै आएकाले नेपाली चियामा अपार सम्भावना रहेको उनले बताएका छन्।
‘बजारीकरणका लागि नेपाली चियाले अझै चुनौतीहरुको सामना गर्नु परिरहेको सुनिएको छ। आगामी दिनमा यी चुनौतीहरुको समाधान निकाल्दै चियाको गुणस्तरीय वृद्धि र दीर्घकालीन बजारको समस्या समाधानका लागि रणनीतिक योजनाका साथ अघि बढ्नु पर्छ,’ अधिकारीले भने।
त्यसक्रममा उनले चिया क्षेत्रको समग्र नेतृत्व गरिरहेको बोर्डलाई स्रोतसाधन सम्पन्न बनाएर नीतिगत समस्याहरुलाई फुकाउन मन्त्रालय तयार रहेको प्रतिबद्धता व्यक्तसमेत गरे। आगामी आर्थिक वर्ष चियामा लगानी बढाउने, नयाँ बजारको पहिचान गर्ने , चियालाई पर्यटन सँग जोड्ने र युवा तथा महिला उद्यमीलाई चियामा आक्रषित गर्ने गरि कार्यक्रम ल्याइने उनले जानकारी दिए।
कार्यक्रममा बोर्डका अध्यक्ष तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले सबैको सामुहिक प्रयास मार्फत नेपालको चियाले महत्वपूर्ण स्थान बनाएकाले आगामी दिनमा यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।