BIZMANDU
www.bizmandu.com

कुलमानले देखाएको नाफालाई स्वीकार गर्न ऊर्जामन्त्री बाध्य, यस्तो छ प्राधिकरणको श्वेतपत्र

२०८२ बैशाख १५

कुलमानले देखाएको नाफालाई स्वीकार गर्न ऊर्जामन्त्री बाध्य, यस्तो छ प्राधिकरणको श्वेतपत्र
कुलमानले देखाएको नाफालाई स्वीकार गर्न ऊर्जामन्त्री बाध्य, यस्तो छ प्राधिकरणको श्वेतपत्र


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आफू साढे ४६ अर्ब सञ्चित नाफाको अवस्थामा रहेको हिसाबसहित श्वेतपत्र तयार गरेको छ।

Tata
GBIME
NLIC

प्राधिकरणका सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जामन्त्री दीपक खड्काले यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि कागजी नाफा देखाएको आरोप लगाउँदै आएकामा सोमबार उनकै अध्यक्षतामा बसेको बैठकले सञ्चित नाफा साढे ४६ अर्ब रहेको विवरणसहितको श्वेतपत्र स्वीकृत गरेको हो।

सञ्चालक समितिको स्वीकृत गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्दैछन्, जसमा सञ्चित मुनाफा ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको उल्लेख छ।

यस अघिका कार्यकारी निर्देशक कुलमानले पनि आफूले नेतृत्व सम्हाल्दा प्राधिकरण ३४ अर्ब सञ्चित नोक्सानीको अवस्थामा रहेकामा ८ वर्षमा करिब ४७ अर्ब सञ्चित नाफामा पुगेको विवरण सार्वजनिक गरेका थिए। तर, मन्त्री खड्काले कुलमानले सार्वजनिक गरेको विवरणलाई प्रतिनिधि सभाको बैठकमै कागजी भनेका थिए।

सोमबार उनै खड्काले कुलमानले भने बमोजमिकै सञ्चित मुनाफालाई सदर गरी श्वेतपत्रलाई अन्तिम रुप दिएका हुन्। खड्काले मन्त्रिपरिषद्बाट निर्णय गराइ चैत ११ गते कुलमानलाई बर्खास्त गरेका थिए। त्यही दिन हितेन्द्रदेवलाई कार्यकारी निर्देशक बनाइएको थियो।

हितेन्द्रदेवले पदबहाली गरेकै दिन राति बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणको श्वेतपत्र जारी गर्ने निर्णय गरेको थियो।

कुलमानले आफूले पदमा रहँदा सार्वजनिक गरेको विवरण सत्य र मन्त्री खड्काको अभिव्यक्ति गलत भएको कुरा प्राधिकरण सञ्चालक समितिको बैठकले स्वीकृत गरेको श्वेतपत्रबाट पुष्टि भएको बताए।

कुलमान घिसिङ

‘मन्त्रीले मलाई गलत देखाउन हरसम्भव प्रयास गरेका थिए। तर, महालेखा परीक्षकको कार्यालयले अडिट गरेको तथ्यांकलाई म्यानुपुलेसन गर्न सक्ने अवस्थै थिएन। उनीहरु प्राधिकरण नाफामा रहेको स्वीकार गर्न बाध्य भएका छन्। सञ्चालक समितिले आफैं मैले भनेको विवरण अनुसार नै सञ्चित नाफा रहेको स्वीकार गरेपछि मन्त्री आफैं नांगिएका छन्,‘ उनले भने।

सञ्चालक समितिले स्वीकृत गरेको श्वेतपत्र अनुसार प्राधिकरणमा सरकारको सेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड, अन्य जगेडातर्फ ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी (लगानी) २ खर्ब ५९ अर्ब १० करोड रुपैयाँ छ।

प्राधिकरणमा सरकारको २ खर्ब ४८ अर्ब १२ करोड ऋण लगानी छ। जुन कुल सम्पत्तिको करिब ३९ प्रतिशत रहेको श्वेतपत्रमा उल्लेख छ।

आर्थिक वर्ष २०८०/८१ सम्म प्राधिकरणको कुल सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब छ। स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रहेकामा पुनर्मूल्यांकनबाट करिब ९९ अर्ब ४६ करोड थप भएको छ, जुन लेखांकन हुन बाँकी छ।

त्यसैगरी प्राधिकरण मातहत करिब २ खर्ब २० अर्ब बराबरका निर्माणाधीन आयोजना छन्। कुलमानले ९९ प्रतिशत जनतामा बिजुलीको पहुँच पुर्‍याएको भनेकामा श्वेतपत्रमा घरसंरचनाका आधारमा ९१.४१ र परिवार संख्याका आधारमा ८४.६२ प्रतिशतमा विद्युतीकरण भएको उल्लेख गरिएको छ।

बक्यौता साढे ४४ अर्ब

श्वेतपत्र अनुसार प्राधिकरणले उठाउनु पर्ने बक्यौता रकम २०८१ फागुनसम्म ४४ अर्ब ५४ करोड रुपैयाँ छ। त्यसमध्ये २३ अर्ब ४४ करोड रुपैयाँ डेडिकेटेड फिडर तथा ट्रंक लाइनतर्फको हो।

कुलमानले उद्योगको लाइन काटेर बक्यौता उठाउन खोज्दा मन्त्री खड्कादेखि प्रधानमन्त्री केपी शर्मा ओलीसम्मले भाँजो हालेका थिए।

यसबाहेक नियमिततर्फ १२ अर्ब ४९ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ।

यस्तै कोभिडको समयमा चिस्यान केन्द्र लगायतमा दिएको छुट सरकारले शोधभर्ना गर्ने भनिए पनि प्राधिकरणले हालसम्म प्राप्त गर्ने सकेको छैन। प्राधिकरणले चिस्यान केन्द्रलाई दिएको सहुलियतबापत सरकारबाट १४ अर्ब १० करोड रुपैयाँ शोधभर्ना पाउन बाँकी छ।

प्राधिकरणले उठ्न बाँकी बक्यौता रकमलाई आयमा समावेश गरेको श्वेतपत्रमा उल्लेख छ।

भुक्तानी दायित्व कति?

श्वेतपत्रमा उल्लेख भएअुनसार प्राधिकरणले चालु आवको फागुन मसान्तसम्म गरिएका ठेक्कापट्टामा ११ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

प्राधिकरणको केन्द्रीय कोषमा करिब १० अर्ब १० करोड मौज्दात रहेको र त्यसमध्ये डलर र मुद्दती खातामा ३ अर्ब ६८ करोड रुपैयाँ, धरौटी खातामा ३ अर्ब ९५ करोड तथा अन्य कल/चालु खातामा २ अर्ब ४७ करोड रुपैयाँ छ।

सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको ब्याज २९.५ अर्ब रुपैयाँ र टनकपुर विद्युतबापत ३ अर्ब रुपैयाँ गरी कुल ३२.५ अर्ब रुपैयाँ दायित्व बाँकी छ।

यस्तै कर्मचारीतर्फ अल्पकालीन तथा दीर्घकालीन दायित्व ४७ अर्ब २४ करोड र धरौटीबापत २४ अर्ब ११ करोड दायित्व रहेको छ।

प्राधिकरणको ऋण

सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड रुपैयाँ र सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रुपैयाँ गरी २ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको श्वेतपत्रमा उल्लेख गरिएको छ।

हितेन्द्रदेव शाक्य

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब छ। यसको अलावा २०८०/८१ सम्ममा प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ। प्राधिकरणविरुद्ध विभिन्न अर्धन्यायिक तथा न्यायिक निकायमा विचाराधीन रहेका दाबी रकमसहितका मुद्दाहरुको सम्भावित दायित्व ८ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।

प्राधिकरणले सहायक तथा सम्बद्ध कम्पनीहरूको प्रवर्धनका लागि कुल ४१ अर्ब १३ करोड बराबरको संस्थागत जमानत प्रदान गरेको छ।

कुलमानले विद्युत चुहावट १२.७३ प्रतिशतमा झारेको बताउँदै आएकामा श्वेतपत्रमा १४.८५ प्रतिशत उल्लेख गरिएको छ।