काठमाडौं। ललितपुर सिटी एफसी लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न फाइनल खेलमा पोखरा थण्डर्सलाई २-१ गोलअन्तरले हराउँदै ललितपुर च्याम्पियन बनेको हो।
दोस्रो संस्करणमा ललितपुरले फाइनलमा धनगढी एफसीलाई हराएको च्याम्पियन बनेको थियो। पहिलो संस्करणको च्याम्पियन भने काठमाडौं रेजर्स हो।
प्रतिस्पर्धात्मक खेलको ४२ औँ मिनेटमा ललितपुरले अग्रता बनायो। मनोज राईले पेनाल्टी क्षेत्रबाहिरबाट निकालेको उत्कृष्ट क्रसलाई पोखराका गोलकिपर गुइलउमे प्रिसोले भेट्टाउन सकेनन। यस्तोमा इमोह इजेकेइले हेडरमार्फत गोल गर्दै ललितपुरलाई अग्रता दिलाए।
पहिलो हाफमा ललितपुर एक गोलले अघि रह्यो।
दोस्रो हाफमा भने पोखरा खेलमा फर्कन सफल भयो। खेलको ६३ औँ मिनेटमा पदम भट्टराईको क्रसमा स्टेफेन बिनोङले गरेको हेडिर ललितपुरका गोलकिपर जेफ्रे बाल्टुसले पञ्च गर्दै बचाए। तर, रिबाउन्डमा आएको बललाई सुदिल राईले गोलमा परिणत गर्दै खेल बराबरी गरे।
ललितपुर सिटीले खेलमा दोस्रो पटक पनि अग्रता बनाउन सफल भयो। खेलको ७४ औँ मिनेटमा इमोह इजाकेइलले दिएको क्रसलाई पेनाल्टी क्षेत्र भित्रै रहेका पापा इबोउ केबेले नियन्त्रणमा लिँदै तीन डिफेन्डरको बीचबाटै गोल गर्न सफल भए। यही गोल ललितपुरलाई च्याम्पियन बन्न पर्याप्त बन्यो।
च्याम्पियन हुने टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्न नेपाल स्पोर्ट्स म्यानेजमेन्टका कार्यकारी निर्देशक श्रेयांश कार्कीले बताए। दोस्रो संस्करणको च्याम्पियन ललितपुर सिटीले ७० लाख रुपैयाँ र उपविजेता धनगढीले २० लाख प्राप्त गरेको थियो। त्यसअघि पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ प्राप्त गरेको थियो।