BIZMANDU
www.bizmandu.com

एनएसएल : ८० लाख राशिको उपाधिका लागि पोखरा र ललितपुर भिड्दै, बढ्लान् दर्शक?

२०८२ बैशाख १३

एनएसएल : ८० लाख राशिको उपाधिका लागि पोखरा र ललितपुर भिड्दै, बढ्लान् दर्शक?
Ncell Nepal Super League 2025: Head Coach and captains react with media during pre final match press conference at Dasharath Stadium in Kathmandu on Friday 25.April.2025. Photo: Udipt Singh Chhetry/USC Images Production


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि पोखरा थण्डर्स र ललितपुर सिटी एफसी भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ६ बजे खेल सुरु हुनेछ।

Tata
GBIME
NLIC

ललितपुर सिटी र पोखरा थण्डर्स हालसम्म चारपटक आमनेसामने भएका छन्। जसमा ललितपुरले दुई पटक खेल जित्दा दुई वटा खेल बराबरीमा टुंगिएको छ। जारी संस्करणको लिग चरणमा ललितपुरले पोखरामाथि ३-२ गोलको जित निकालेको थियो।

च्याम्पियन हुने टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्न नेपाल स्पोर्ट्स म्यानेजमेन्टका कार्यकारी निर्देशक श्रेयांश कार्कीले बताए। दोस्रो संस्करणको च्याम्पियन ललितपुर सिटीले ७० लाख रुपैयाँ र उपविजेता धनगढीले २० लाख प्राप्त गरेको थियो। त्यसअघि पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ प्राप्त गरेको थियो।

खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ। दशरथ रंगशालामा साधारण प्यारापिटमा बसेर खेल हेर्न ४ सय रुपैयाँ र भीआईपीतर्फ बसेर खेल हेर्न १५ सय टिकट शुल्क तोकिएको छ। टिकट आईएमई पे र खल्ती एपमार्फत काटन सकिनेछ। रंगशालाको गेट साढे ३ बजे खुल्नेछ भने आयोजकले साढे पाँच भित्र रंगशालामा प्रवेश गरिसक्न आग्रह गरेको छ।

एनएसएलको फाइनलसम्म पुग्दा कुनै पनि खेलमा स्टेडियम भरिएको छैन। दोस्रो क्वालिफायरमा ब्राजिलियन फुटबल लेजेन्ड रोबर्टो कार्लोस रंगशालामा आउँदा पनि रंगशाला आधाभन्दा बढी खाली थियो। 

अघिल्लो संस्करणमा पनि फाइनलमा रंगशाला खचाखच भएकाले आयोजकले आज पनि त्यही अपेक्षा रहेको बताएको छ।

ललितपुर सिटीको फाइनल यात्रा

साविक विजेता ललितपुर सिटी सोझो हिसाबले फाइनल पुगेको छ। लिग चरणमा ६ खेल खेल्दा तीन जित र तीन बराबरी खेल्दै तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ पुग्यो।

मैदान प्रवेश गर्दै ललितपुरका खेलाडी। तस्बिर: एनएसएल

पहिलो क्वालिफायरमा सिटीले धनगढी एफसीलाई हराउँदै फाइनलमा स्थान बनायो।

अनन्त तामाङको कप्तानीमा रहेको ललिपुर सिटी जारी संस्करणको सुरुबाटै सन्तुलित देखिएको टोली हो। खासगरी विदेशी खेलाडी र नेपाली खेलाडीबीचको राम्रो तालमेल देख्न सकिन्छ यो टोलीमा।

ललितपुरसँग अनन्तसहित सनिस श्रेष्ठको प्रभावशाली प्रदर्शन रहँदै आएको छ। मिडफिल्डमा फ्रिकिक र उत्कृष्ट एसिस्टका साथमा मणीकुमार लामाको प्रदर्शन लोभलाग्दो छ। तर, लामाले धनगढी एफसीसँगको पहिलो क्वालिफायरको खेलमा रेफ्रीको विवादस्पद निर्णयका बीच रेड कार्ड ब्यहोरेका थिए। यो हिसाबले उनी फाइनल खेलमा देखिने छैनन्। तर, खेलपछि ललितपुरले उनको रेडकार्ड विरुद्ध अपिल गरेको थियो। एनएसएलले उनको रेडकार्डको निर्णयलाई पुनरावलोकन गर्दै फिर्ता लिएको छ।  

ललितपुरसँग विदेशी खेलाडीको प्रदर्शन पनि उत्तिकै लोभलाग्दो छ। पापा इबोउ केबे, इमोह इजाखिल र केरभिन्स बेलफोर्टको प्रदर्शन उच्च छ।

‘फाइनल अघि हामीलाई ५/६ दिनको रेस्ट मिल्यो। यसमा हामी आफ्नो कमीकमजोरीलाई सुधारेर अघि बढेका छौँ। फाइनलमा बेस्ट दिनेछौँ।,’ फाइनल अघि ललितपुरका कप्तान अनन्त तामाङले भने, ‘पोखराको म्याचबाइ म्याच राम्रो हुँदै आएको छ। उहाँहरुको बलियो र कमजोर दुबै पक्ष छ। हामी कमजोर पक्षमा कसरी आक्रमण गर्न सकिन्छ भन्नेमा केन्द्रीत छौँ।’  

पुनरागमनपछि चम्किएको पोखरा

दुई विवादास्पद खेल र त्यसमा हार। त्यसपछिका खेलमा पुनरागमन। र, फाइनलसम्मको यात्रा। यो ‘ड्रामाटिक’ यात्रा हो पोखरा थण्डर्सको जारी एनएसएलमा। अझ पछिल्ला तीन खेलमा त पोखराले गोल पनि ब्यहोरेको छैन।

ललितपुरविरुद्धको खेलमा गोल अघि बढाउँदै आयुष घलान। तस्बिर: एनएसएल

लिग चरणमा ६ खेलबाट ८ अंक बनाएको पोखरा चौथो स्थानमा रहँदै प्लेअफमा मुस्किलले स्थान बनाएको थियो। इलिमिनेटरको खेलमा पोखराले चितवनलाई ३-० गोलको रवाफिलो अन्तरले पाखा लगायो। त्यस्तै, दोस्रो क्वालिफायरमा धनगढी एफसीलाई १-० गोलको साँघुरो अन्तरले हराउँदै फाइनलमा स्थान बनायो। यसअघिका दुई संस्करणमा पोखरा फाइनल पुग्न सकेको थिएन।

‘स्टेपबाइ स्टेप टिम सेट हुँदै आएको छ। हामीले गरेको मेहेनतको फल लिने समय आएको छ,’ पोखराका प्रशिक्षक सुमन श्रेष्ठले भने, ‘हाम्रो खेलाडीमा कन्फिडेन्स ब्युल्डअफ भएको छ। ललितपुरसँगको पहिलो भेटमा भन्दा अहिले टिममा धेरै सुधार आइसकेको छ।’

त्यस्तै कप्तान नवयुग श्रेष्ठले फाइनलसम्म आइपुग्दा लेभल बढेको दाबी गरे। ‘फाइनल टफ हुनेछ।’ उनले भने।