BIZMANDU
www.bizmandu.com

अमेरिका-चीन व्यापार द्वन्द्वबीच सांघाई अटो शो : इभी युगको प्रदर्शनीले बढाउला बिक्री?

२०८२ बैशाख १३

अमेरिका-चीन व्यापार द्वन्द्वबीच सांघाई अटो शो : इभी युगको प्रदर्शनीले बढाउला बिक्री?
अमेरिका-चीन व्यापार द्वन्द्वबीच सांघाई अटो शो : इभी युगको प्रदर्शनीले बढाउला बिक्री?


काठमाडौं। ट्रम्प प्रशासनको कर बढाउने नीतिले अमेरिका-चीन व्यापारबीच युद्ध पुनः उत्कर्षमा छ। चिनियाँ सवारी निर्माताहरुले घरेलु बजारबाट निस्किएर ग्लोबल मार्केटमा वर्चस्व बढाइरहेका छन्। यति बेला चीनमा सांघाई अटो शो-२०२५ भइरहेको छ।

Tata
GBIME
NLIC

अमेरिकासँगको व्यापार युद्धले उद्योगलाई असर गरिरहँदा अटोमोबाइल जगतमा विकसित नयाँ नयाँ मोडलको प्रदर्शनीसहित शो गत बुधबार सुरु भएको हो। चीनको वार्षिक प्रमुख अटो शोहरूमा विश्वको सबैभन्दा ठूलो कार बजारमा सस्तो, राम्रो प्रदर्शन गर्ने विद्युतीय सवारीसाधन र बढी आत्मविश्वासी स्थानीय ब्रान्डहरूको उदयको प्रदर्शन हुँदै आइरहेको छ।

विश्वभरका धेरै मुख्यधाराका अटोमोटिभ ब्रान्डहरूले उच्च-प्रोफाइल तरिकाले भाग लिइरहेका छन्। ३ लाख ६० हजार वर्ग मिटरमा फैलिएको यो प्रदर्शनीमा २६ देश र क्षेत्रका लगभग १ हजार अग्रणी चिनियाँ र विदेशी उद्यमहरूले भाग लिएका छन्।

यद्यपि, अमेरिका-चीन व्यापार युद्धले सवारी बजारको माग र आपूर्तिमा कस्तो असर गर्न सक्छ भन्ने अनिश्चितताको बीचमा सांघाई अटो शो अर्थपूर्ण छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चिनियाँ आयातमा १४५ प्रतिशत कर लगाउने कदम र बेइजिङको काउन्टर ट्यारिफ र व्यापार प्रतिबन्धले विश्वव्यापी वृद्धिको पूर्वानुमानलाई कम गरेको छ र कार निर्माता र उनीहरूका आपूर्तिकर्ताहरूलाई नयाँ जोखिमहरूको सामना गर्न बाध्य पारेको छ।

सांघाई अटो शो सुरु हुँदा अमेरिकी अटो उद्योग समूहहरुको गठबन्धनले भने ट्रम्पलाई सबै आयातित अटो पार्ट्समा २५ प्रतिशत कर फिर्ता लिन आग्रह गर्दै संयुक्त पत्र पठाएको छ, जसले करले सवारीसाधनको बिक्री घटाउने र मूल्य बढाउने चेतावनी दिएको छ।

व्यापार युद्धको बाबजुद यस वर्ष पनि चीनमा कारको उच्च माग अहिलेसम्म छ। मार्चसम्म उद्योगव्यापी कार बिक्री १२.५ प्रतिशतले बढेको थियो, जसको नेतृत्व चीनका दुई शीर्ष कार निर्माताहरू बीवाइडी र जीली ब्रान्डले गरेका छन्।

यद्यपि, आगामी दिनमा समस्याहरु आउने संकेतहरू पनि छन्। बिक्रीको हिसाबले चीन विश्वको सबैभन्दा ठूलो कार निर्यातकर्ता हो। अमेरिकी बजार शुल्कका कारण अनिवार्य रूपमा बन्द भए पनि ट्रम्प प्रशासनको व्यापार नीतिहरूले चिनियाँ कार निर्माताहरू माथि दबाब दिने विश्लेषकहरूले अपेक्षा गरेका छन्। यदि चीनको अर्थतन्त्र डगमगाउँछ वा वाशिंगटनको दबाबले अन्य अमेरिकी व्यापार साझेदारहरूलाई उनीहरूको शुल्कहरू मिलाउन बाध्य पार्न सक्छ भने यो चीनमा कमजोर मागको कारण हुन सक्छ।

चीनको अति-प्रतिस्पर्धी स्थानीय बजार अझै पनि विदेशी ब्रान्डहरूको लागि माइनफिल्ड हो। उदाहरणका लागि, होन्डा र निसानको बिक्री एक वर्ष अघिको तुलनामा पहिलो त्रैमासिकमा क्रमशः ३४ प्रतिशत र २८ प्रतिशतले घटेको छ।

एक समय चीनको सर्वाधिक बिक्री हुने प्यासेन्जर कार ब्रान्ड फक्सवागनको बिक्री पहिलो त्रैमासिकमा ६ प्रतिशतले घटेको छ। ‘चाइना स्पिड’ भन्ने नाराका साथ इलेक्ट्रोनिक ब्यानर अन्तर्गत, जर्मन कार निर्माताले बुधबार आफ्नो प्रिमियम अउडी ब्रान्डसहित पाँच नयाँ मोडेलहरू मध्ये पहिलो अनावरण गर्‍यो।

चीनमा सर्वाधिक बिक्री हुने इभी भएको एक मात्र विदेशी कार निर्माता टेस्लाले मंगलबार अटोमोटिभ र ऊर्जा आपूर्ति शृंखलामा परिवर्तन हुने विश्वव्यापी व्यापार नीतिको प्रभावको कारण भविष्यवाणी गर्न कठिनाइ भएकाले यसले तीन महिनामा आफ्नो वृद्धि पूर्वानुमानको पुनर्मूल्यांकन गर्नपर्ने अवस्था आयो।

यो चीन र अमेरिका व्यापार युद्धले टेस्लालाई असर गरेको छ। चीनमा यसको बिक्री एक वर्ष अघिको तुलनामा मार्चसम्म २२ प्रतिशतले घटेको छ। चीनको काउन्टर ट्यारिफका कारण कम्पनीले मोडेल एस र मोडेल एक्सको अर्डर स्थगित गरेको छ र चीनबाट प्राप्त कम्पोनेन्टहरूको केही आयात रोकेको छ।

७० भन्दा धेरै ब्रान्डको सहभागिता

अटो सांघाई २०२५ मा कार निर्माताहरूको प्रतिस्पर्धाको कारण सबैको नजर विद्युतीय सवारी साधनमा छ। प्राय सबै विद्युतीय सवारीसाधन र त्यसमा इन्ट्रिग्रेटेड हुने नयाँ प्रविधिहरु शोकेस गरिदै छ।

उक्त अटो शोमा ७० भन्दा बढी चिनियाँ तथा अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूले १०० भन्दा बढी आफ्ना नयाँ मोडेलहरू प्रदर्शन गर्नेछन्। जसले विद्युतीय सवारी साधन र हाइब्रिडहरूको लागि विश्वको प्रमुख बजारमा पहिले नै कडा प्रतिस्पर्धालाई तीव्र पारिरहेको छ।

चीनमा वर्षौंदेखि चलिरहेको उपभोक्ता मूल्य युद्ध लम्बिँदै जाँदा सवारी साधनले भने बिक्री र नाफाको लडाईमा अर्को बेन्चमार्क सेट भइरहेका छन्। टप सेलिङ चिनियाँ ब्रान्ड बीवाइडी, जीली र अन्य देशका ब्रान्डहरु फक्सवागन, निसान, टोयोटा, जनरल मोटर्स र काडिल्याक ब्रान्डहरु पनि उक्त शोमा राखिएका छन्।

जाटो डाइनामिक्सको तथ्यांकअनुसार, चीनमा प्रतिस्पर्धा गर्ने १६० भन्दा बढी कार ब्रान्डहरू मध्ये १० प्रतिशतभन्दा कमको बजार हिस्सा २ प्रतिशतभन्दा बढी छ। धेरैजसो घाटामा चलिरहेका छन्। अहिले बिवाइडी, चेरी र जीली जस्ता कम्पनीहरु मात्रै नाफामा छन्। यस्तै इभी मात्रै केन्द्रित लिपमोटर र एलआई अटो पनि नाफामा छन्।

एक चिनियाँ विज्ञका अनुसार २०२५ को सांघाई अन्तर्राष्ट्रिय अटोमोबाइल उद्योग प्रदर्शनीमा १०० भन्दा बढी विश्व अटोमोटिभ ब्रान्डहरुको स्पटलाइटमा रहेको यो प्रदर्शनीले अटोमोटिभ नवप्रवर्तन र अत्याधुनिक प्रविधिहरूको विश्वव्यापी प्रदर्शनीको रुपमा काम गर्ने अपेक्षा गरिएको छ। जसले गर्दा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धनमा चीनको प्रमुख भूमिका र खुलापन नीतिहरूप्रतिको दृढ प्रतिबद्धतालाई उजागर गर्ने विज्ञको भनाइ छ।

यही अटो शोदेखि साओमी अटो जस्ता न्यु इनर्जी भेहिकल(एनईभी) ब्रान्डहरूले आफ्नो डेब्यू गर्नेछन्, जसले इन्टेलिजेन्ट फिचर जडान गरिएका सवारी साधनहरूको युगमा नवीनतम प्रविधिहरू प्रदर्शन गर्नेछ। फेब्रुअरीदेखि बीवाइडी, जीली, ग्रेटवाल र चेरी जस्ता चिनियाँ अटोमेकरहरूले दिपसिक ठूलो मोडेललाई एकीकृत गरेका छन्, जसले एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम(एडास) लाई अगाडि बढाएका छन्।

सोनी, इन्टेल र ३एम जस्ता अन्तर्राष्ट्रिय जायन्टहरूसहित लगभग ५० कम्पनीहरूले यही सांघाई अटो शोमा अटोमोटिभ प्रविधि र आपूर्ति शृंखलामा डेब्यू गरिरहेका छन्।