काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनबारे भएका चर्चा आफूलाई केही थाहा नभएको बताएका छन्। ५ दिने थाइल्यान्ड भ्रमणपछि स्वदेश आइपुगेका देउवाले सञ्चारकर्मीलाई यस्तो बताएका हुन्।
उनले सत्ता गठबन्धनमा केही खटपट नरहेकोले सत्ता परिवर्तनबारे आफूलाई केही थाहा नभएको बताएका हुन्।
‘मलाई थाह छैन,’ सत्ता समीकरण नै परिवर्तन हुने भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाको जवाफ थियो।
राजनीतिक वृत्तमा देउवा बैंककबाट फर्कनसाथ सत्ता फेरबदलको राजनीति हुने चर्चा छ। तर, देउवाले भने यसमा केही नएको दाबी गरे।
‘केही भएको छैन,’ देउवाले भने।
गभर्नर नियुक्तिको विषयले निचोड नपाउँदा अहिले सत्तारुढ २ दल एमाले र कांग्रेसमा खटपटी छ।
गभर्नर नियुक्ति ढिलाइ भएकोप्रति कांग्रेसका नेताहरूले सार्वजनिक रुपमै असन्तुष्टि जनाइरहेका छन्। कांग्रेस महामन्त्री गगन थापाले बिहीबारमात्र आवश्यक परे सरकारबाट बाहिरिने टिप्पणी गरेका थिए।
बिहीबार नै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले पनि गभर्नर नियुक्तिमा सरकारले ढिलाइ गरिरहेको भन्दै असन्तुष्टि जनाएका थिए।
शनिबार सत्तारुढ दल एमालेले सत्ताको रस्साकस्सीबारे छलफल गर्न सचिवालय बैठक डाकेको छ। कांग्रेसले भने देउवा थाइल्यान्ड नपुग्दै तय गरेको केन्द्रीय समिति अनिश्चितकालका लागि स्थगित गरेको छ।
कांग्रेसले चैत १७ गतेका लागि केन्द्रीय समिति बैठक डाकेकोमा बुधबार विज्ञप्ति जारी गर्दै बैठक स्थगित गरेको हो।
थाइल्यान्डमा आयोजित संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएनएसक्याप) को ८१औँ सम्मेलनमा भाग लिएर स्वदेश आइपुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले यो भ्रमणमा कुनै राजनीतिक भ्रमण नभएको बताइन्। यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच बिहीबार साँझ कुराकानी भएको उनको भनाइ थियो।
‘बेलुका सभापति र प्रधानमन्त्रीबीच कुराकानी भएको थियो। दुवै जनाले के हो के हो भने,’ परराष्ट्रमन्त्री आरजुले भनिन्।
सरकार परिवर्तनबारे यस्तो हल्ला बेला-बेला आउने र यसलाई सामान्य मान्नुपर्ने उनको तर्क थियो।
‘कहिलेकाहीँ इन्टरटेनमेन्टका लागि पनि यस्तो न्युज आउने गर्छ,’ उनले भनिन्।