BIZMANDU
www.bizmandu.com

ओलीले सार्वजनिक मञ्चबाट गरे सरकार ढल्न लागेको संकेत, ‘संसद्को बनावट अनुसार सकेसम्म प्रयास गर्नेछु’

२०८२ बैशाख ११

ओलीले सार्वजनिक मञ्चबाट गरे सरकार ढल्न लागेको संकेत, ‘संसद्को बनावट अनुसार सकेसम्म प्रयास गर्नेछु’
ओलीले सार्वजनिक मञ्चबाट गरे सरकार ढल्न लागेको संकेत, ‘संसद्को बनावट अनुसार सकेसम्म प्रयास गर्नेछु’


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको सम्बन्धमा खटपटका कारण सरकारमा गडबडी हुन लागेको संकेत गरेका छन्।

Tata
GBIME
NLIC

उनले बिहिबार आफ्नो पार्टीका नेता तथा कार्यकर्तामाझ त्यस्तो संकेत गरेका हुन्। यसअघि हरेकजसो सार्वजनिक मञ्चबाट २०८४ सम्म कांग्रेस र एमालेको सरकार रहने बताउँदै आएका ओलीले लोकतन्त्र दिवसका अवसरमा एमालेले भृकुटीमण्डपमा गरेको कार्यक्रममा त्यस्तो अभिव्यक्ति दोहोर्‍याएनन्।

उनले राष्ट्रियताको स्पष्ट अडान लिएका कारण विदेशका दलाल तत्वहरु एमालेकाविरुद्ध लागेको र सरकार दिन दिनै ढल्छ भन्न थालिएको बताए।

‘हामीले राष्ट्रियताको स्पष्ट अडान लिएका कारण विदेशका दलाल तत्वहरु एमालेकाविरुद्ध लागेका छन्। यत्तिकै होइन,’ उनले भने, ‘विभिन्न प्रकारका शक्तिहरु हामीसँग भयभीत भएका छन्। दिनैपिच्छे अनेक भ्रम फिंजाउन खोजेका छन्। हरेक कुरामा हरेक दिन सरकार जान्छ भन्न थालेका छन्।’

ओलीले गत मंगलबार कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आफू अझै १५ महिना सरकारको नेतृत्वमा रहने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताएका थिए।

तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहिबार पार्टीको संसदीय दलको बैठकमा देउवाले उपचारका लागि विदेश जानुअघि आफूलाई फोन गरेको र उनी फर्किएपछि नयाँ सरकार गठनबारे कुरा हुने ब्रिफिङ गर्नु, कांग्रेस महामन्त्री गगन थापाले आधारभूत कुरामा कम्प्रोमाइज गर्नुपरे सरकारबाट बाहिरिने अभिव्यक्ति दिनु लगायत कारण ओलीमा चिसो पसेको उनकै अभिव्यक्तिले देखाएको छ।

त्यसैले उनले यसअघिका कार्यक्रममा जस्तो सरकारको आयुबारे दाबी सुनाउन सकेनन्। ‘लोकतन्त्रमा सरकार लामो समयका लागि बन्दैन। ५ वर्षका लागि बन्छ। अनि यो तानाशाही त होइन ५० वर्षका लागि कसैको वंशको शासन हुन्छ?,’ उनले भने, ‘सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन। सरकार बचाउ भनेर एमाले कराएको छैन।’

ओलीले कार्यकर्तालाई अब सरकारभन्दा चुनावको चिन्ता गर्न भनेका छन्। ‘अब चुनावको बारेमा चिन्ता गर्नुपर्छ। हामीले मिसन ८४ भनेका छौं। ढुक्कले मिसन ८४ मा लाग्नुस,’ उनले भने।

ओलीले कांग्रेसले साथ छोडेको अवस्थामा सरकार जोगाउन सबै किसिमको प्रयास गर्ने पनि संकेत गरे। ‘सरकार चलाउन, नेतृत्व गर्न जे गर्नुपर्छ संसद्को बनावट अनुसार एमालेले सकेसम्मका प्रयास गर्नेछ। यस कुरामा चिन्ता नगर्नुस,’ उनले कार्यकर्तासामु भने।

पछिल्लो समय नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति रोकेको विषयमा कांग्रेस ओलीसँग असन्तुष्ट छ। गभर्नर कांग्रेसको भागमा परेकामा ओलीले नियुक्ति गरेका छैनन्। देउवाले गभर्नरमा अगाडि सारेका गुणाकर भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट दिएको राजीनामा कार्यबाहक गभर्नर नीलम ढुंगाना तिम्सिनाले स्वीकृत गरेकी छैनन्।

कांग्रेसले यसलाई ओलीले रोक्न लगाएको रुपमा बुझेको छ। गभर्नर पद चैत २४ देखि रिक्त छ। कानुनमा रिक्त हुनु एक महिनाअघि नै गभर्नर नियुक्त गर्ने व्यवस्था छ।

तर सरकारले गभर्नरको नाम सिफारस गर्न अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा गठन गरेको समितिको बैठक एक महिना वित्दा पनि बस्न सकेको छैन। समितिको सदस्यबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले मंगलबार राजीनामा दिएपछि नियुक्ति प्रक्रिया थप लम्बिने देखिएको छ। ओलीले स्वार्थ समूहको चाहनामा तिम्सिनालाई नै गभर्नर बनाउन चाहिरहेको कांग्रेस नेताहरुको बुझाइ छ।

यस्तै चैत २० देखि आन्दोलन गरिरहेका सामुदायिक विद्यालयका शिक्षकको माग पूरा गर्न बेवास्ता गरेको बरु उल्टै भड्काउने अभिव्यक्ति दिएको भन्दै कांग्रेस ओलीसँग रुष्ट छ।

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई ओलीले बुधबार बर्खास्त गरेको विषयलाई पनि रुचीकर नमानेको कांग्रेस स्रोतले बतायो।

पछिल्लो समय सरकारको कामलाई लिएर थापाका साथै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा लगायत धेरै नेताले सार्वजनिक मञ्चबाट नै असन्तुष्टि जनाउँदै आएका छन्। सत्तारुढ कांग्रेसका जिम्मेवार नेताहरुले गरिरहेको आलोचनालाई ओलीले पनि सहजरुपमा लिएका छैनन्।