BIZMANDU
www.bizmandu.com

विश्वबजारमा तहल्का मच्चाइरहेको चिनियाँ ग्रान्ड अटो शोमा सय गाडी लन्च, छान्न नेपाली व्यापारीको लर्को

२०८२ बैशाख १०

विश्वबजारमा तहल्का मच्चाइरहेको चिनियाँ ग्रान्ड अटो शोमा सय गाडी लन्च, छान्न नेपाली व्यापारीको लर्को
विश्वबजारमा तहल्का मच्चाइरहेको चिनियाँ ग्रान्ड अटो शोमा सय गाडी लन्च, छान्न नेपाली व्यापारीको लर्को


काठमाडौं। बहुप्रतिक्षित सांघाई अन्तर्राष्ट्रिय अटोमोबाइल प्रदर्शनीमा ७० भन्दा धेरै ब्रान्डहरुले १०० वटा नयाँ मोडल ल्याएका छन्।

Tata
GBIME
NLIC

तीमध्ये डेढ दर्जनभन्दा धेरै गाडी नेपाली बजारमा उपलब्ध छन्। अहिले नेपाली बजारमा ४० भन्दा धेरै इभी ब्रान्ड बिक्री भइरहेका छन्।

सांघाई अटो शोमा जापानी ब्राण्ड टोयोटा, माज्दा, निसान, होण्डा, युरोपियन ब्राण्ड मर्सिडिज, बेन्टले, जेटोर, फक्सवागन, रेनो, बीएमडब्लू, आइकार, स्मार्ट, अवतारलगायत ब्राण्डले नयाँ मोडल लन्च गरेका छन्।

चिनियाँ ब्राण्ड चांगन, बीवाइडी, हुवावे, फायर फ्लाई, डोङफेङ, जिकर, ओमोडा/जेको, जिली, डेन्जा, एक्सपेङ, याङवाङ, एलआई अटो, लिपमोटरलगायत ब्रान्डले पनि नयाँ मोडलका गाडी अटो शोमा राखेका छन्।

त्यसैगरी, अन्भो, नियो, हुवावे, शाओमी, फ्याङ चेङ बाओ, ग्रेटवाल मोटरलगायत ब्रान्डले पनि आफ्नो नयाँ गाडी देखाएका छन्।

यिनैमध्येका एक दर्जनभन्दा धेरै गाडी नेपालमा हुने अटो शोमा राख्ने व्यवसायीहरुको तयारी छ। नेपालमा दसैंको मुख पारेर पहिलोपटक दुईवटा अटो शो गरिंदैछ।

नेपालमा अहिले ओमोडा एण्ड जेको, लिपमोटर, निसान, बीवाइडी, फोर्ड, कायी, जिकर, एक्सपेङ, चेरी, नामी, डिपल, सेरेस, रिडारा, एमजी, आयोन, अवतार जस्ता ब्रान्ड उपलब्ध छन्।

यस्तै नयाँ ब्रान्ड निओ, फोर्थिङ नेपाली बजारमा भित्रिले तयारीमा छन्।  

जिकरले अटो शोमा आफ्नो पहिलो हाइब्रिड कार जिकर ९एक्स लक्जरी एसयूभी सार्वजनिक गरेको छ। यो गाडीले ८०० भोल्टको फास्ट चार्जिङ टेक्नोलोजीलाई सपोर्ट गर्छ।

यस्तै निओले ३ वटा गाडी ब्रान्ड निओ, अन्भो र फायरफ्लाई शोकेस गरेको छ। फायरफ्लाई ब्रान्डलाई नेपाल भित्र्याउने तयारी छ। यसलाई नेपाल ल्याउन पारामाउन्ट मोटर्सले निओसँग सम्झौता गरिसकेको छ। नाइमा अटो शोमा यो ब्रान्ड आउने अनुमान छ।

यसैगरी नेपाल आउने अर्को मोडल डङफेङ नामीको नामी ०६ हो। यो गाडी पनि बुधबार सार्वजनिक गरिएको छ। डोङफेङको क्वान्टम इलेक्ट्रिक आर्किटेक्चर थ्री प्लेटफर्ममा निर्मित यो गाडी नाडा अटो शोमा देख्न पाइने कम्पनीले जनाएको छ।

यही कम्पनी डिपल एस०९ पनि नेपाल आउने पक्का छ। यो गाडी सांघाई अटो शोमा राखिएको छ।

बीवाइडीको प्रिमियम ब्रान्ड डेन्जाको नयाँ गाडी डेन्जा जेड पनि लन्च गरिएको छ। जसले वेस्टर्न ब्रान्ड पोर्से र मर्सिडिज बेन्जसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ।

अटो शोमा देखाइएको जेको जे फाइभ पनि नेपाल ल्याउने तयारी छ। यसको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले नेपाल ल्याउन तयारी गरिरहेको हो।

यस्तै लिपमोटरको बी १० पनि सांघाई अटो शोमा राखिएको छ। यो गाडी नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले ल्याउने तयारी गरिरहेको छ। कम्पनीका अनुसार यो गाडी नाइमा अटो शोमा देख्न पाइनेछ।   

यस्तै फक्सवागन ग्रुपले चीनमा उत्पादन गर्ने ५ वटा नयाँ गाडी मोडल शोकेस गरेको छ। जसमा केही फक्सवागन र केही अउडी रेन्जका कार छन्। कम्पनीले पहिलो कारका रुपमा ई५ स्पोर्टब्याक ल्याउनेछ। फक्सवागनको आइडी ३ इभी भने छिट्टै नेपाल आउनेछ।

यसैगरी, टोयोटाले पनि आफ्नो नयाँ इभीको लाइनअप देखाएको छ। जसमा बीजेड७ ब्याट्री इभीका साथै बीजेड४एक्स, बीजेड३, बीजेड३एक्स र बीजेड५ छन्। साथै लेक्ससको ईएस पहिलो नेक्स्ट जेनेरेसन लाइनअपमा छ।

एक दर्जन नेपाली अटो व्यवसायी सांघाईमा

जसरी पछिल्लो समय नेपाली अटो बजारले सिफ्टिङ खोज्यो, त्यसैगरी अटो शोले पनि एउटा प्याराडाइम नै सिफ्ट गराएको छ। केही वर्ष अगाडिसम्म युरोप, जापान, कोरिया र भारततिर जाने व्यवसायी अहिले चीनमा हुने अटो शोमा आकर्षित भएका छन्।

सांघाई अटो शोमा एक दर्जनभन्दा बढी नेपाली व्यवसायी सहभागी छन्। उनीहरुले आ आफ्ना कम्पनीका उच्च व्यवस्थापकलाई पनि साथै लगेका छन्। नयाँ ब्रान्डका प्रतिनिधिसँग भेटघाट गर्ने र आकर्षक अफर प्राप्त गर्ने अवसरले व्यवसायीहरु उत्साहित देखिन्छन्।

यस्ता अटो शो डिल गर्ने थलो हुन्। त्यस्तै नयाँ प्रविधि र डिजाइनबारे पनि एकैथलोमा जानकारी हुन्छ। त्यही कारण लिपमोटर बिक्री गर्ने सांग्रिला मोटर्स, चेरी ओमोडा एण्ड जेको बिक्री गर्ने शारडा ग्रुप, कायी बिक्री गर्ने जिओ अटोमोबाइल्स, लक्ष्मी इमोबिलिटी, डिपल र नामी बिक्री गर्ने एमएडब्लू, एक्सपेङ, जीएसी र जिलीका गाडी बिक्री गर्ने सीजी मोटर्स लगायत कम्पनीका प्रतिनिधि सांघाई पुगेका हुन्।