काठमाडौं। नेपाली कांग्रेसका सांसद विनोद चौधरी चौतर्फीरुपमा आलोचित र सर्वोच्च अदालतले लगाम लगाएको सांसद विकाष कोष ब्युँताउनुपर्ने पक्षमा उभिएका छन्।
उनले बुधबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा सांसद विकास कोष आवश्यक रहेको बताएका हुन्। ‘सांसद विकास कोष आवश्यक छ। जनतालाई खानेपानी, पुल, बाटो जस्ता तत्कालका आवश्यकता यसले पूरा गर्न सक्छ,’ उनले भने।
आगामी आर्थिक वर्षको बजेटको तयारीका विषयमा छलफलका लागि राखिएको बैठकमा चौधरीले स्रोतको चापका कारण नयाँ कार्यक्रम नल्याउन अर्थमन्त्री विष्णु पौडेलसँग आग्रह गरे।
उनले विकास आयोजनालाई पर्याप्त बजेट छुट्याउनुपर्ने भन्दै उत्पादनमूलक उद्योग र स्टार्टअपलाई प्राथमिकतामा राख्न सुझाव दिए।
‘अहिलेको परिस्थितिमा नयाँ कार्यक्रम नराख्नुहोस्। अर्बका आयोजनामा १/२ करोड बजेट दिने परिस्थिति हट्नुपर्छ,’ उनले भने, ‘उत्पादनमूलक उद्योग, स्टार्टअप केन्द्रित बजेट ल्याउनुपर्छ। राज्यले दिने अनुदान उपयोगिता हेर्नुपर्छ।’
चौधरीले अध्ययनका लागि विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षामा विदेशी लगानी भित्र्याउनुपर्ने बताए। ‘विदेशी लगानीलाई सहज बनाउनु पर्छ। विद्यार्थी धेरै विदेशिए। अब शिक्षामा पनि विदेशी लगानीलाई खुला गरौँ,’ उनले भने।