BIZMANDU
www.bizmandu.com

खट्टर नेपालमा भएकै बेला भारतबाट बिजुली आउन बन्द, औद्योगिक क्षेत्रमा पुनः लोडसेडिङको मार

२०८२ बैशाख १०

खट्टर नेपालमा भएकै बेला भारतबाट बिजुली आउन बन्द, औद्योगिक क्षेत्रमा पुनः लोडसेडिङको मार
खट्टर नेपालमा भएकै बेला भारतबाट बिजुली आउन बन्द, औद्योगिक क्षेत्रमा पुनः लोडसेडिङको मार


विराटनगर। भारतबाट ६ सय मेगावाट बिजुली आउन बन्द भएपछि औद्योगिक क्षेत्र फेरि लोडसेडिङको मारमा परेको छ।

Tata
GBIME

सुनसरीको मोरङ औद्योगिक क्षेत्रका उद्योगले सोमबार साँझ ५ बजेदेखि नै १३ घण्टाको लोडसेडिङ खप्न थालेका छन्। औद्योगिक क्षेत्रमा साँझ ५ देखि बिहान ६ बजेसम्म विद्युत् कटौती हुन थालेको हो।

हाल भारतका ऊर्जा, सहरी आवास तथा संसदीय मामिलामन्त्री मनोहरलाल खट्टर नेपालमा छन्। मंगलबार मात्रै उनी काठमाडौं आएका हुन्।

भारतको सहयोगमा निर्माण भइरहेको प्रसारणलाइनको उद्घाटन गर्न र अरुण-३ जलविद्युत् आयोजनाको अवलोकन गर्न उनलाई ऊर्जामन्त्री दीपक खड्काले नेपाल बोलाएका थिए। खट्टर नेपालमा भएकै बेला भारतले गरेको विद्युत् कटौती अर्थपूर्ण छ।

भारतका ऊर्जा, सहरी आवास तथा संसदीय मामिलामन्त्री मनोहरलाल खट्टर।

मंगलबार साँझदेखि पनि विद्युत् नआएपछि उद्योगीले नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारीलाई गुहारेका थिए। प्राधिकरणका अधिकारीहरूले भारतबाट १ महिनाका लागि ६ सय मेगावाट विद्युत् आउन नसक्ने जानकारी प्राप्त भएको उत्तर दिएका थिए।

सरकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई ल्याएपछि भारतले लगत्तै ६ सय मेगावाट बिजुली दिन सुरु गरेको थियो। यसबाट औद्योगिक क्षेत्रमा भइरहेको १२ घण्टे लोडसेडिङ सकिएको थियो।

तर, अचानक भारतीय पक्षले अब एक महिना उक्त विद्युत् दिन नसक्ने जनाएपछि फेरि औद्योगिक क्षेत्र उत्पादन कटौतीको मारमा परेको छ। विद्युत् कटौतीबाट सिमेन्ट, स्टिल, कर्कटपाता जस्ता अत्याधिक विद्युत् आवश्यक पर्ने उद्योग ठूलो मारमा परेको तिनका संचालकले बताएका छन्।

मेल्टिङ युनिट भएको एक स्टिल उद्योगीले भने, ‘अब त दिनमा बढीमा ७ घण्टा मात्रै उत्पादन गर्न सकिने छ। किनकी भट्टी तात्न र सेलाउन नै ३-३ घण्टा लाग्छ।’

हिजोआज निर्माण सामग्रीको बिक्री हुने मुख्य सिजन हो। यसबेला २४ घण्टा नै उद्योग चल्नुपर्ने उनीहरूको भनाइ छ।

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष एवम् प्रिमियर स्टिलका संचालक पवनकुमार शारडाले कोशी प्रदेशका उद्योगले सोमबारदेखि राति १३ घण्टा विद्युत् नपाएको बताए।

शारडाले भने, ‘मुख्य सिजनमै मार परेको छ।’

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले आइएक्सबाट बिड गरेर बिजुली आपूर्ति गरिने बताएका छन्।

‘सोमबार र मंगलबार हामीले बिड गर्दा बिजुलीको मूल्य पनि धेरै र त्यसमाथि बिजुली नै पाइएन। त्यसले गर्दा २ दिन औद्योगिक क्षत्रको बिजुली कटौटी भएको हो,’ उनले भने।

आज बिडबाट बिजुली पाएको जानकारी दिँदै शाक्यले औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्ने बताए।