मठमन्दिरले सजिएको सम्पदाको सहर काठमाडौं केही दिन अघि बाक्लो तुवाँलो र प्रदूषित हावाभित्र निसास्सिइरह्यो। विश्वका सबैभन्दा प्रदूषित सहरका रुपमा चित्रण हुन पुग्यो। वर्षा भएसँगै केही दिनमात्र त भयो काठमाडौंको आकाश अलि उघारिएको! अहिले वातावरणीय प्रदूषणको समस्याको संकट पुरै टरेको नभइ केही समयका लागि पर सरेको हो।
आजकल यो सहर केवल वायू प्रदूषणले मात्र होइन फोहोरी राजनीतिले समेत उसैगरी निसास्सिइरहेको छ। काठमाडौं यतिबेला दुई किसिमले निसास्सइरहेको छ, पहिलो भौतिक रुपले र दोस्रो वैचारिक रुपले।
वरपरका जंगलमा लागेको डढेलोबाट सहरतर्फ उडिरहेको धुवाँले गाँजेको काठमाडौं उपत्यकाका सडकहरुमा अचेल दिनहुँ प्रदर्शन हुन थालेका छन्। सडकहरुमा आवाजहरु अझ चर्को चर्को सुनिन्छन्। सहरको सुरिलोपन कर्कश ध्वनिबीच हराएको छ। तर यो कर्कश सुनिने स्वरभित्र लामो समयदेखि गुम्सिइरहेको आम मानिसका आवेग र उनीहरुको चरम निराशा नै प्रतिध्वनित भइरहेको छ।
उनीहरुको यो आवेग क्षणिक पनि होइन। बिगत लामो समयदेखि आम मानिसले चाहिरहेको सुशासन, लोकतन्त्र र त्यसले लिएको विपरीत दिशातर्फको चरम निराशाको परिणाम हो।
नेपालको राजधानी सहर केवल प्रदूषित मात्र छैन यो त पक्षघात भएको मानिसजस्तो भएको छ, जो अनिश्चितता र निष्क्रियताको बाक्लो तुवाँलोभित्र वर्षौंदेखि रुमल्लिइरहेको देखिन्छ।
बितेको साता हामीले काठमाडौंलाई विश्वकै सबैभन्दा प्रदूषित सहरका रुपमा देख्यौं। यहाँको हावामा यति धेरै विषाक्त कणहरु थिए जसले स्वास्थ्यका लागि हानिकारक मानिने खतराका सबै तह पार गरेको भन्दै नागरिकलाई सचेत नै गराइएको थियो। वरपरका डाँडाहरुमा लागेको डढेलोले सुन्दर काठमाडौं उपत्यकालाई धुवाँको सहर बनाइदिएको थियो।
एकातिर डढेलोको धुवाँ उठेर आँखै पिरो पार्ने वातावरण, अर्कोतिर काठमाडौंका साँघुरा गल्लीहरुमा प्रदूषण बढाउँदै कुदिरहेका सवारीसाधनहरु। उसै त प्रदूषित, त्यसमाथि गाडीका धुँवाले पनि यसलाई अझ बढी विषाक्त बनाइरहेको थियो। निर्माण क्षेत्रबाट निस्कने धुलो, जथाभावी फोहोर जलाउँदा उठ्ने धुवाँ, अनि उकुसमुकुस गराउने मौसमले काठमाडौंलाई अझ बढी संकट थपिरहेकै देखिन्छ।
कहिलेकाहीँ त घामले खुलेर उदाउने मौकै नपाएको जस्तो हुन्छ। केही दिन अघिमात्र रातो र धमिलो बल्ब जसरी उदाउने घामले दिनलाई दिनजस्तो बनाइरहेको थिएन। यहीँ नखुलेको मौसम भएको सहरमा पनि चुपचाप हिँडिरहेका थिए अनुहारमा मास्क र मनमा चिन्ता बोकेका मानिसहरु।
सरकारी अधिकारीहरु मानिसलाई खराब हावाका कारण घरभित्रै बस्न र बाहिरका गतिविधिमा सकेसम्म नजान भनिरहेका थिए। विद्यालयहरु बन्द थिए। साना बालबालिकाहरु घरभित्रै सीमित रहे। सरकारी स्वास्थ्य संस्थाहरुले श्वासप्रश्वाससम्बन्धी समस्या तीव्र गतिमा बढिरहेको तथ्यांक दिइरहेको थियो। आँखामा संक्रमण र दमजस्ता रोगको बढ्दो केसहरु थिए। जीवनको स्रोत मानिने उही हावा मानौं मानिसहरुका लागि साइलेन्ट किलर बनिरहेको थियो।
तर यतिबेला हामीले जुन वातावरणीय संकट भोगिरहेका छौं त्यो प्रकृतिले निम्त्याएको नभइ हाम्रै सरकारी संयन्त्रको विफलताको परिणाम हो। अझ भनौं शासकीय असफलताको परिणाम हो। वर्षौदेखि विज्ञहरुले काठमाडौंको हावाको गुणस्तर बिग्रेकोमा चेतावनी दिइरहेकै हुन्। तर, त्यसलाई कसरी सुधार गर्ने भन्ने बारे पर्याप्त ध्यान जान सकेन।
हाम्रो शासकीय संयन्त्र नै यस्तो छ जसलाई सुक्खायाममा डढेलो लाग्छ भन्ने राम्रोसँग जानकारी छ। जान्दाजान्दै पनि त्यसको नियन्त्रणका लागि गर्नुपर्ने पूर्वतयारीको कुनै रणनीति देखिँदैन। फेरि सहरमा जसरी जनघनत्व बढिरहेको छ, सहरीकरणको योजना त्यस अनुरुप बनिरहेको छैन।
कार्बन उत्सर्जन नियन्त्रणका नीतिहरुको कार्यान्वयन पक्ष अत्यन्तै फितलो छ। क्लिन इनर्जीलाई प्रवर्धनका लागि जति पहल गर्नुपर्ने हो त्यो पनि पर्याप्त भइरहेको देखिँदैन। यो लापरवाही र सरकारी संयन्त्रले देखाइरहेको ढिलासुस्ती, कमजोर कार्यप्रणाली र जे जति काम भएका छन् त्यो पनि प्रभावकारी हुन नसक्नु नै काठमाडौं सहरको यो दुर्गति भएको छर्लङ्ग दर्शाइरहेको छ। यस्तै कुशासन र लापरवाह संयन्त्रका कारण काठमाडौं अब सास लिन पनि संघर्ष गर्नुपर्ने सहरका रुपमा चित्रित हुन पुगेको छ।
यहाँका हावामा प्रदूषणको मात्रा बाक्लिँदै गएसँगै सर्वसाधारणको आक्रोश पनि चर्को सुनिन थालेको छ। काठमाडौंका ऐतिहासिक धरोहरहरु अनि साँस्कृतिक सम्पदा भएका चोक र गल्लीमा अचेल दिनहुँ प्रदर्शन भइरहेका छन्।
आम मानिस देश अनि यहाँको राजनीतिक यात्रालाई दिगो र सही गतितर्फ लैजान माग गरिहेका छन्। आम नागरिकको आक्रोशमा अझ बढी ऊर्जा मिसिएको महसुस हुन्छ। उनीहरुले लामो समयदेखि भित्रभित्रै गरिरहेका गुनासा र निराशाका स्वरहरु अब चोक चोकमा चर्को स्वरमा गुञ्जिन थालेको छ।
उदाहरणका लागि केही अघिको राजसंस्था फर्काउने र्याली र प्रदर्शनीलाई नै हेरौं! कुनै समय राजसंस्था फर्काउने भनेर गरिने र्याली वा प्रदर्शनहरु सानो र सांकेतिक मात्र हुन्थ्यो। तर, केही दिन अघि त्यसले देखाएको स्वरुप र परिणामले हामीलाई कति त्रसित बनाइदियो।
तर हामीले बुझ्नुपर्ने कुरा के पनि हो भने त्यस दिन पूर्वराजा ज्ञानेन्द्र फर्काउने अभियानमा राष्ट्रिय झण्डा बोकेको भीड केवल उनीप्रति नतमस्तकको मात्र थिएन त्यो त गणतन्त्रले आम नागरिकसँग गरेका प्रतिबद्धताहरु पूरा नभएर निराश भएकाहरुको आक्रोश थियो। त्यो त जनताप्रति सरकारको जवाफदेहिता गुम्नु, आर्थिक समृद्धिको यात्रामा बिराम लाग्नु, अनि राज्य र नागरिकबीच बढ्दो दूरीले जन्माएको परिणाम थियो।
जब जब निराशा र विद्रोहका मौन आवाजहरु चर्को रुपमा प्रतिध्वनित हुन थाल्छन् त्यसले कस्तो परिणाम निम्त्याउँछ भन्ने हामीले बिगतका जनआन्दोलनहरुमा देखिसकेकै छौं। सन् २००८ को जनआन्दोलनले देशलाई सदाका लागि राजतन्त्रबाट मुक्त गरेर गणतन्त्रतर्फ अघि बढायो। आम जनता अब समावेशी र समान राजनीतिक अवसरहरुका साथ देश समृद्धितर्फ अघि बढ्छ भन्नेमा ढुक्क थिए।
संघीयताको मर्म नै विभिन्न तह र तप्काका सबै लिंग, वर्ग, भाषा, धर्म र समुदायका नागरिकलाई सशक्तिकरणतर्फ लैजाने थियो। शक्ति तथा निर्णय एकै ठाउँ अर्थात केन्द्रबाट नभइ विकेन्द्रिकृत हुँदै जाने अपेक्षा आम मानिसमा थियो।
तर यतिका वर्षहरु बित्दा पनि बाचा अनुसारको काम नहुँदा आम नागरिकले आफूहरु अझै पनि पाखा पारिएको, आफ्ना आवाजहरुको सुनुवाइ नभएको, अनि आफूहरुलाई भ्रममा राखिएको महसुस गर्न थाले।
दैनिक जीवनमा महंगीको मारले आक्रान्त हुन थालेका सर्वसाधारणहरु अझ विशेषगरी युवा वर्गले शासकीय प्रणालीप्रति विश्वास नै गर्न छोडे। देशमा उनीहरुले शिक्षा र रोजगारीका सहज अवसर नपाउनुले उनीहरुलाई आफ्नो भविष्यप्रति अझ बढी निराश बनाउँदै लग्यो।
यही व्याप्त निराशाले ठूलो समूहलाई हालको शासकीय प्रणालीसँग मोहभंग भयो र त्यसले फ्याँकिसकेको राजसंस्थालाई फेरि शक्तिशाली बन्नका लागि टाउको उठाउने मौका दियो। यो अवस्था फेरि पनि कुनै राजसंस्था, राजमुकुट वा शाहवंशीयहरु प्रतिको भक्तिका कारण नभइ गणतन्त्रले पूरा गर्न नसकेका प्रतिबद्धताहरुका विरुद्धको चरम निराशाको परिणाम मात्र थियो।
काठमाडौंमा राजा फर्काउने अभियानका नाममा जुन प्रदर्शन भयो त्यसविरुद्ध सरकार संयमित भएरै प्रस्तुत भएको हो। हिंसा भड्किएका केही संवेदनशील क्षेत्रमा कर्फ्यु लगाइयो। सुरक्षाकर्मीहरु बाक्लै परिचालित भए र सर्वसाधारणलाई भेला हुनबाट रोक लगाइए। तथापि राजनीतिक नेतृत्व यस घटनालाई लिएर चिन्तनशील हुनेभन्दा पनि बढी प्रतिक्रियात्मक भएको महसुस भएको छ।
सरकार तत्कालको अवस्थालाई नियन्त्रणमा लिनुमा लक्षित भयो तर किन यस्तो अवस्था आयो भनेर त्यसमा अन्तरनिहीत आक्रोशहरुलाई सम्बोधन गर्नपट्टि भने अझै पनि संवेदनशील भएजस्तो लाग्दैन।
बिडम्बना नै भन्नुपर्छ काठमाडौंमा लागेको धुँवाधुलोको तुँवालो हटाउन जसरी सरकारसँग पूर्वतयारी र ठोस समाधान छैन उसैगरी देशमा मडारिने यस्ता राजनीतिक तुवाँलोलाई पनि हटाउनेतर्फ पनि सरकारसँग कुनै ठोस रणनीति र पूर्वतयारी छैन।
खासमा काठमाडौंको हावा र हाम्रो शासकीय संयन्त्रमा देखिएको यो समानान्तर संकट केवल संयोगमात्र होइन। दुवै एकै किसिमको रोगबाट उत्पन्न भएका हुन्। समाधानका लागि कडा रुपमा कार्यान्वयनमा उत्रिन नसक्नुको गम्भीर रोगबाट उत्पन्न प्रभावकै कारण दुवै हाम्रा लागि निम्तिएका घातक अवस्था हुन्। दीर्घकालका लागि सोच्न नसक्नु अनि जनताका गुनासा र निराशाका मसिनो स्वरलाई समयमै सुन्न नसक्दा यो चिच्याहट उत्पन्न भएको हो। चिच्याउनुअघि नै उनीहरुका निराश र मसिना स्वरहरुलाई सुन्न सकेको भए परिणाम यति भयानक र कर्कश आवाजसम्म पुग्ने थिएन।
वातावरणीय स्वास्थ्य र राजनीतिक स्वास्थ्य खासमा एक अर्कासँग सम्बन्धित नै हुन्छन्। वनजंगलमा डढेलो लाग्न नदिन सरकारले जसरी केही उपाय लगाउन सकेन, उसैगरी जनआक्रोशलाई साम्य बनाउन पनि नसकेको अवस्था छ। वास्तवमा सास फेर्नका लागि अपरिहार्य स्रोत हावाको प्रदूषणलाई नियन्त्रण गरी स्वच्छ राख्न नसक्ने प्रणालीले आफ्नै संरचना भित्रका संस्थालाई शुद्धीकरण गर्न सक्षम हुनु दुर्लभ नै मानिन्छ। काठमाडौंको आकाशमा देखिएको तुवाँलोलाई हामी कमजोर शासकीय संयन्त्र, राजनीतिक अस्पष्टता र धुमिलपन कै प्रतिबिम्ब हो भन्न सक्छौं।
यतिबेला काठमाडौंको तस्वीर रंगहीन र धुमिल भए पनि यसभित्र सम्भावनाहरु भने जीवितै छन्। संकटले आफूसँगै नयाँ सम्भावना लिएर आउँछन् भने झैं काठमाडौं अहिले यस्तो चौबाटोमा उभिएको छ, जहाँ उसले आफूलाई कस्तो सहर र कस्तो देश बनाउने हो भन्ने निर्णायक मोड लिन सक्छ। तर ती सबै समस्याका समाधानका उपायहरु तत्कालै र सहजै हुन्छन् भन्ने पनि छैन।
प्रदूषित हावालाई स्वच्छ बनाउनेतर्फ काम गर्न पूर्वाधार निर्माणमा ठूलो लगानी आवश्यक पर्छ। यस्तै वातावरणीय प्रदूषण न्यून गर्न बनाइएका नीतिनियमहरुको कडा रुपमा पालना गराउनुपर्छ। यसमा तत्कालका लागि नभइ दिगो प्रयासहरुलाई अंगीकार गर्नुपर्ने हुन्छ। उसैगरि राजनीतिक रुपमा देशले स्वच्छता पाउनका लगि जनताको भरोसालाई जित्न सक्नुपर्छ। यसका लागि उनीहरुसँग निकट रहेर विचारविमर्श र बृहत् छलफल थालिहाल्नुपर्छ। राजसंस्थाको अवसानपछि देशमा आएको नयाँ राजनीतिक परिवर्तनसँगै शासकीय संयन्त्रले आमनागरिकसँग जुन किसिमका समावेशिताका प्रतिबद्धताहरु जनाएको थियो त्यसलाई पूरा गर्नतर्फ लाग्नुको अब विकल्प छैन। यी दुवै क्षेत्रको स्वच्छताका लागि राजनीतिक, नैतिक तथा संस्थागत साहस र प्रतिबद्धता अत्यावश्यक छ।
काठमाडौं सहरले यतिबेला वातावरणीय तथा राजनीतिक रुपमा झेलिरहेको यो संकट केवल दुःखको नमुना मात्र होइन। यो काठमाडौं कति लचिलो र सहनशील छ भन्ने कुराको उदाहरण पनि हो। सहर तुवाँलोले अन्धकार हुँदा पनि सडकमा आमनागरिक प्रदर्शनरत छन्। सन्नाटालाई चिर्दै यहाँ परिवर्तनका स्वरहरु तरंगित छन्। दैनिकी निस्क्रियजस्तो देखिए पनि त्यसैभित्रबाट चेतनाका स्वरहरु बाहिरिइरहेका छन्।
यति धेरै समस्याहरुका बाबजुद पनि काठमाडौं सास फेरिरहेको छ। यसको अन्तरआत्माले यो दूषित परिस्थितिसँग हार स्वीकार गरिसकेको छैन। तर मनन गर्नुपर्ने के पनि छ भने काठमाडौंलाई सहनशीलतामात्र काफी छैन अब यहाँको परिवर्तनका लागि जोडिएर आउने सबै उत्तरदायित्वहरु पनि उसैगरी बहन गर्ने क्षमता आवश्यक छ।
गम्भीर भएर सत्ता र शक्तिमा रहेकाहरुको काँधले यो क्षमता र जिम्मेवारी बहन गर्नैपर्छ। ताकि वास्तवमै हावालाई स्वच्छ बनाउनका लागि दृढनिश्चयी भएर काम थाल्न सकियोस्। यहाँ यस्तो स्वच्छता आवश्यक छ जसले भोलिका दिनमा कुनै पनि व्यक्तिले सास फेर्दा मास्क आवश्यक नपरोस्। अनि शान्तिपूर्वक बाँच्नका लागि सन्नाटा आवश्यक नपरोस्।
काठमाडौंलाई स्वच्छ हावा र स्वच्छ राजनीतिमध्ये कुनै एकमात्र पनि मञ्जुर छैन। काठमाडौंले ती दुवै पाउनुपर्छ, त्यो पनि भोलिको भाका राखेर होइन तत्कालै। किनभने यो सहरले सास रोकेर बाँचेको धेरै भइसक्यो, अब उसलाई उकुसमुकुस मञ्जुर छैन।
रश्मी पन्त त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा विद्यावारिधी गरिरहेकी छन्।