काठमाडौं । हिंसात्मक प्रर्दशन गर्ने राजावादी समूहका कमान्डर दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान सुरु भएको छ।
प्रसाईं र निजको परिवार सम्बद्ध फर्म र कम्पनीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रकमहरु जुन प्रयोजनको लागि लिइएको त्यो सोही प्रयोजनमा प्रयोग नगरी अन्यत्र उपयोग गरेको अनुसन्धानमा खुलेको छ। प्रसाईं मेडिकल व्यवसायी समेत हुन्। उनको झापामा बिएण्डसी अस्पताल संचालनमा रहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले विभिन्न बैंक वित्तीय संस्थामा रहेको कर्जा चुक्ता गर्न अर्को कर्जाको रकम उपयोग गरेको समेत देखिएको छ। त्यस्तै, उनी आबद्ध भएको कम्पनीहरुले बैंक वित्तीय संस्थाबाट कर्जा लिँदा उल्लेख गरेको प्रयोजन भन्दा अन्यत्र कर्जाको रकम उपयोग गरि कर्जा दुरुपयोग गरेको पाइएको छ।
बैंकबाट लिइएको कर्जा व्यवसायमा मात्र प्रयोग गर्नुपर्ने र व्यवसायको आम्दानी कर्जा भुक्तानीमा प्रयोग गर्नुपर्नेमा ठुलो रकम पेश्कीको रुपमा प्रसाईं र उनी सम्बद्ध कम्पनीहरुलाई प्रदान गरिएको देखिएको अनुसन्धानमा खटिएका एक अधिकृतले जानकारी दिए।
विगत चार वर्षदेखि बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिलाई प्रवाह भएको कर्जाको भुक्तानी गर्ने भाखा नाघि कर्जाको बक्यौता सावा ब्याज भुक्तानी नियमित नभएको पनि खुलेको हो।
अनुसन्धानमा परियोजनाको ‘कस्ट इस्केलेसन’ गरि आवश्यक पर्ने भन्दा बढी कर्जा उपयोग गरेको, ऋणी फर्म/कम्पनीका अन्तिम हिताधिकारी दुर्गा प्रसाईं नै रहेको देखिएको हो।
प्रसाईले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ८ मा रहेको कर्जाको दुरुपयोग गर्न नहुने भन्ने व्यवस्थाको उल्लंघन गरेको, परिवार र निजहरु सम्बद्ध फर्म र कम्पनीका विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खाताहरुमा ‘राउन्ड ट्रिपिङ’, ‘रिलेटेड पार्टी ट्रान्ज्याक्सन’ लगायतका शंकास्पद कारोबारहरु भएको पनि देखिएको छ।
प्रसाईंविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम थप अनुसन्धान गरि कारबाही गर्न नेपाल राष्ट्र बैंकको गत माघ २३ गतेको पत्र साथ केन्द्रीय अनुसन्धान ब्यूरोमा पत्र प्राप्त भएको थियो। नेपाल राष्ट्र् बैंकले पहिलो चरणको अनुसन्धान गरेर थप अनुसन्धानको लागि फाइल सीआइबीलाई बुझाएको थियो।
अनुसन्धानको क्रममा तत्कालिन एनसीसी (हालको कुमारी बैंक) बाट पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा प्रवाह भएको १२ करोड ५० लाख रुपैया, नेपाल ईन्भेष्टमेन्ट मेघा बैंक लिमिटेडबाट होटलको नाममा प्रवाह भएको ५ करोड रुपैयाँ र गुडविल फाईनान्स लिमिटेडबाट यु.ए. मेडिको सप्लाइज एन्ड इक्विपमेन्ट प्रा.लि को नाममा प्रवाह भएको १० करोड रुपैयाँ कर्जा जुन प्रयोजनको लागि लिएको हो सो प्रयोजनमा प्रयोग नगरी अन्यत्र उपयोग गरि दुरुपयोग गरेको देखिन आएको छ।
प्रसाईं विवादस्पद मेडिकल व्यवसायी समेत हुन्। करौडौं ऋण लिएर उनले व्यवसाय संचालन गरेका छन्। बैंकको ऋण र ब्याज समेत समयमा नबुझाएपछि उनी बेलाबखतमा विवादमा आउने गरेका छन्। ऋण लिएर व्यवसाय गरेका उनले बैंकको ऋण तिर्न नपर्ने भन्दै मानिसहरुलाई उक्साएर प्रदर्शन पनि गरेकका थिए।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन उग्र बनाउन उनको प्रमुख नेतृत्व रहेको भन्दै हाल उनीमाथि अनुसन्धान भइरहेको छ। ‘म भाग्दिन’ भन्दै मानिस उक्साएका उनी तीनकुने घटनापछि भारत फरार भएका थिए। भारतमा नियन्त्रणमा आएका उनलाई प्रहरीले काठमाडौं ल्याएर अनुसन्धान गरिरहेको छ।