काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको बताएकी छन्।
उनले थाइल्यान्डको बैंककमा सोमबार सुरु भएको संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएनस्केप)को ८१औं सत्रको अध्यक्षता गर्दै अव्यवस्थित शहरीकरणले एसिया तथा प्रशान्त क्षेत्र बढी प्रभावित भएको बताइन्।
‘शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इञ्जिन हुन्। तर योजनाविहीन शहरीकरणले धेरै समस्याहरु निम्त्याइरहेको छ। त्यसैले हामीले राम्रोसँग योजनाबद्ध शहरी विकास गर्नुपर्छ,’ उनले भनिन्।
मन्त्री राणाले समावेशी र हरित शहरमा लगानी वृद्धि गर्नुपर्ने बताइन्। उनले शहरहरुबीचको सञ्जाललाई मजबुत बनाउनुपर्ने, जनसाङ्ख्यिक रूपान्तरणका लागि सशक्त योजना बनाउनुपर्ने र विविध स्रोतबाट वित्तीय सहयोगका उपायहरू अपनाउनुपर्नेमा जोड दिइन्।
मन्त्री राणाले एसिया तथा प्रशान्त क्षेत्रमा वित्तीय जोखिम, दिगो पूर्वाधारका क्षेत्रमा लगानीको अभाव, व्यापारको खण्डीकरण र संरक्षणवादी प्रवृत्ति, ‘डिजिटल डिभाइड’जस्ता समस्या देखिएको बताइन्।
उनले सबैखाले समस्याको समाधानका लागि क्षेत्रीय एकता र सामूहिक सहकार्यको आवश्यकता औंल्याइन्। ‘अहिलेको युगमा कुनै पनि मुलुकले यस प्रकारका सबै चुनौती एक्लै समाधान गर्न सक्दैनन्। हाम्रा प्रयासहरुलाई सार्थक बनाउन क्षेत्रीय सहकार्य अपरिहार्य छ,’ उनले भनिन्।