BIZMANDU
www.bizmandu.com

नेपाल बैंकका संचालकले ऋणीसँग घुस लिएको पुष्टि, राष्ट्र बैंकले गर्‍यो कारबाहीको निर्णय

२०८२ बैशाख ८

नेपाल बैंकका संचालकले ऋणीसँग घुस लिएको पुष्टि, राष्ट्र बैंकले गर्‍यो कारबाहीको निर्णय
नेपाल बैंकका संचालकले ऋणीसँग घुस लिएको पुष्टि, राष्ट्र बैंकले गर्‍यो कारबाहीको निर्णय


काठमाडौं। नेपाल बैंक लिमिटेडका संचालक डा. चन्द्रबहादुर अधिकारीले ग्राहकलाई ऋण मिलाइदिन्छु भन्दै पैसा उठाएको पुष्टि भएको छ। आफ्नो छानबिनबाट अधिकारीले ऋणीसँग घुस लिएको पुष्टि भएपछि नेपाल राष्ट्र बैंकले कारबाहीको निर्णय गरेको छ।

Tata
GBIME
NLIC

अधिकारीलाई राष्ट्र बैंकको संचालक समितिले ५ लाख रुपैयाँ जरिवाना गराउने निर्णय गर्दै नेपाल बैंकमा पत्राचार गरेको छ।

अधिकारी ‘पैसा उठाएको काण्ड’ बाहिरिनुअघि बैंकको अध्यक्ष थिए। काण्ड बाहिरिएपछि उनलाई अर्थ मन्त्रालयले यसअघि नै संचालकमा घटुवा गरेको थियो।

कसरी खुल्यो घटना?

अधिकारी २०८० असोजमा नेपाल बैंकको अध्यक्षमा चयन भएका थिए। त्यसबेला बजारमा ऋण माग्नेको हाहाकार थियो। बैंकहरूसँग तरलता अभाव थियो, ब्याजदर उच्च थियो। ऋणीहरूले पुरानो ऋण तिर्न नयाँ ऋण लिन चाहिरहेका थिए।

त्यसैको मौका छोप्दै अधिकारीले केही इच्छुक ग्राहकहरूलाई सस्तो ब्याजमा ऋण मिलाइदिन्छु भनेर बचन दिए। अप्ठेरो समयमा बैंककै अध्यक्षले ऋण मिलाइदिन्छु भनेपछि उनीहरू विश्वस्त भए।

अधिकारीले ऋणको प्रकृया पूरा हुन केही समय लाग्ने भन्दै अहिले नै केही रकम आफूलाई दिन आग्रह गरे। तय भएको घुसको १०/२० प्रतिशतका दरले उनले उठाउन थाले। उनले त्यो पैसा आफ्नो खातामा लिएनन्, आफ्नो ड्राइभरको खातामा मागे।

तरलता अभाव थियो, सामान्य प्रपोजलमा ऋण दिने अवस्था थिएन। बैंक व्यवस्थापनले अध्यक्ष अधिकारीले ल्याएको फाइलमा ऋण नदिने निर्णय गर्‍यो।

ऋण मिलाइ दिन्छु भनेका अधिकारीलाई अग्रिम कमसिन दिएका ऋणीले ऋण पाउने अवस्था नभएपछि नेपाल राष्ट्र बैंकमा उजुरी गरे।

राष्ट्र बैंकमा ऋणीहरू पुगेपछि त्यहाँको गुनासो सुनुवाइ इकाइ ‘एक्टिभ’ भयो। राष्ट्र बैंकको सुपरिवेक्षण विभागलाई तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंकमा खटाए।

करिब १२ दिन नेपाल बैंकमा स्थलगत अनुगमन गरेपछि पुष्टि भयो- अधिकारीले ऋण मिलाइ दिन्छु भनेर कमिसन लिएकै हो।

विभागले उनलाई कारबाही गर्नु पर्ने राय राष्ट्र बैंकको संचालक समितिमा पठायो। त्यहीबीचमा तत्कालीन गभर्नर महाप्रसादले अर्थमन्त्री विष्णु पौडेललाई नेपाल बैंकका अध्यक्ष अधिकारीले गरेको गड्बडी बारेमा बताइसकेका थिए। अर्थमन्त्री पौडेलले अधिकारीलाई अध्यक्षबाट हटाएर संचालकमा घटुवा गरिदिए।

राष्ट्र बैंकले बैंकिङ गतिविधि बाहिर गएर कमिसन मागेको भन्दै कारबाही किन नगर्ने भनेर अधिकारीसँग स्पष्टीकरण सोध्यो। उनले राष्ट्र बैंकमा स्पष्टीकरण बुझाउनुका साथै कमिसन बुझाएका भनिएका ऋणीको हस्ताक्षरसहितको पत्र पनि पठाए। ऋणी र अधिकारीको हस्ताक्षर रहेको नेपाली कागजमा लेखिएको पत्रमा ‘हामीबीच कुनै लेनदेन नभएको र विवाद मिलिसकेको’ व्यहोरा थियो।

अधिकारीको स्पष्टीकरणमा राष्ट्र बैंकले चित्त बुझाएन। आफ्नो अनुगमनका क्रममा अधिकारीले ड्राइभरको खातामा पैसाको कारोबार गरेको भेट्टाएको राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

अधिकारी कारबाहीस्वरुप संचालकमा घटुवा भइसकेको भन्दै राष्ट्र बैंकका केही संचालकहरूले थप कारबाही आवश्यक छैन भनेर अड्को थाप्न खोजेका थिए। तर, गभर्नरले कारबाही नगरे संस्थागत सुशासनमा समस्या आउने भन्दै ५ लाख जरिवाना गर्ने निर्णय सुनाए। सुरुमा असहमति राखेका संचालकहरूले पनि निर्णयमा हस्ताक्षर गरे।

पत्र भर्खरै नेपाल बैंकमा पुगेको छ। राष्ट्र बैंकले जरिवाना गराएपछि अधिकारीलाई सरकारले पदमुक्त गर्नुपर्ने हुन्छ। अधिकारी २०८० असोज २ गते अध्यक्ष हुँदा बैंकले थप उचाइ लिने आशासहितको विज्ञप्ति जारी गरेको थियो।

बेलायतको युनिभर्सिटी अफ रिडिङबाट अर्थशास्त्रमा पीएचडी गरेका अधिकारीले त्रिभुवन विश्वविद्यालयमा २५ वर्ष प्राध्यापन गर्नुका साथै यसअघि कृषि विकास बैंकको संचालकका रुपमा ४ वर्ष काम गरेका थिए। अधिकारीले कृषि विकास बैंकमा रहँदा पनि यसैगरी पैसा उठाएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्।