BIZMANDU
www.bizmandu.com

आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप गरिँदै, वीरमा आइसीयू सेवा विस्तार हुने

२०८२ बैशाख ८

आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप गरिँदै, वीरमा आइसीयू सेवा विस्तार हुने
आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप गरिँदै, वीरमा आइसीयू सेवा विस्तार हुने


काठमाडौं। चालु महिना सरकारले संघ अन्तर्गतका ८ अस्पतालमा १५ सेवा थप तथा विस्तार गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गरेका हुन्।

Tata
GBIME
NLIC

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वीर अस्पतालले सर्जिकल आइसीयूको सेवा विस्तार गर्नेछ। आइसीयूमा नौ शय्या थप गरिने छ। यसैगरि भरतपुर अस्पतालले क्याथ ल्याब सेवा सुरु गर्दैछ। जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्याडाभर ल्याब सेवा वैशाख अन्तिमसम्म थप गरिसक्ने विवरण मन्त्रालयमा पठाएको छ।

भक्तपुर क्यान्सर अस्पतालले पीआइसीयू तथा पेडियाट्रिक वार्ड तथा भेरी अस्पतालले मृगौला प्रत्यारोपण सेवा आरम्भ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्।

यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शय्या वैशाख अन्त्यसम्ममा थप गर्नेछ। यस्तै वीरगंजको नारायणी अस्पतालले वैशाख अन्त्यसम्ममा क्याथ ल्याब सुरु गर्नेछ भने तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रले हेमोडायलासिस सेवा वैशाख तेस्रो साता औपचारिक सञ्चालनमा ल्याउने भएको छ।

धनगढीको गेटा अस्पतालले भने वैशाख तेस्रो साताभित्र मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट एकै साथ थाल्नेछ। मन्त्री पौडेलले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सबै संघीय अस्पतालहरुलाई थप तथा विस्तार गर्ने व्यवस्था मिलाउन भनेका थिए। जसअनुसार गत चैत्रमा १२ संघीय अस्पतालले केही सेवा थप तथा विस्तार गरेका थिए भने वैशाखमा समेत यसलाई निरन्तरता दिइएको जनाइएको छ।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले चालु आर्थिक वर्षभित्रै थप संघीय अस्पतालमा सेवा विस्तारका कार्यक्रम कार्यान्वयन क्रममा रहेको जानकारी दिए । ‘केहीमा सेवा थपिएका छन्, केहीमा थपिने क्रममा छन्,’ उनले भने।