अमेरिका-चीनबीचको व्यापार युद्धको पछिल्लो शिकार बनेको छ- बोइङको जेट विमान। चीनको एक एयरलाइन्सका लागि तयार पारिएको विमान शनिबार अमेरिकाको उत्पादन केन्द्रमै फर्किएको छ।
उक्त विमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको विश्वव्यापी व्यापार युद्ध अन्तर्गत लागेका पारस्परिक भन्सारहरूका कारण फर्काइएको बताइएको छ।
७३७ म्याक्स मोडेलको उक्त विमान चीनको सियामेन एयरलाइन्सका लागि उत्पादन गरिएको थियो। यो विमान सियाटलको बोइङ फिल्ड विमानस्थलमा साँझ ६:११ बजे अवतरण गरेको थियो। विमानमा सियामेन एयरलाइन्सको लोगो लगाइएको थियो।
विमान ८ हजार किलोमिटर लामो यात्रा पार गरेर फर्किएको थियो। सो क्रममा गुआम र हवाईमा इन्धन भर्न अवतरण गरिएको थियो।
बोइङको झाउशान कम्प्लिसन सेन्टरमा अन्तिम तयारी र डेलिभरीको प्रतीक्षामा केही ७३७ म्याक्स विमानहरू छन्। यस विमान तिनैमध्ये एक हो। यी विमानहरू चिनियाँ एयरलाइन्सलाई डेलिभरी गर्न लागिएको थियो।
ट्रम्पले यस महिनाको सुरुवातमा चीनबाट आयात हुने सामानहरूमा लाग्ने आधारभूत शुल्क १४५ प्रतिशत पुर्याएका छन्। त्यसको जवाफमा चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशत शुल्क लगाएको छ।
एभिएसन कन्सल्टेन्सी आइबीएका अनुसार नयाँ ७३७ म्याक्स विमानको बजार मूल्य लगभग साढे ५ करोड डलर बराबर छ। हालको अवस्थामा चिनियाँ एयरलाइन्सले विमानको डेलिभरी लिँदा अत्यधिक शुल्क तिर्नुपर्ने हुन्छ। यसले एयरलाइन्सको आर्थिक स्थिति कमजोर बनाउने खतरा रहेको विश्लेषण गरिएको छ।
विमान फर्काउने निर्णय कुन पक्षबाट गरियो भन्ने हालसम्म स्पष्ट भएको छैन। बोइङले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। सियामेन एयरलाइन्सले पनि कुनै प्रतिक्रिया दिएको छैन।
७३७ म्याक्स बोइङको सबैभन्दा धेरै बिक्री हुने मोडेल हो। पछिल्लो घटनाले व्यापार युद्धका कारण नयाँ विमान डेलिभरीहरूमा देखिएको अवरोधलाई संकेत गरेको छ।
विमान उद्योगमा दशकौंदेखि रहँदै आएको ‘ड्युटी फ्री स्टाटस’ अब धमिलिँदै गएको यो पछिल्लो उदाहरण हो।
५ वर्ष लामो आयात प्रतिबन्ध खेपेको ७३७ म्याक्स विमान बिस्तारै उकासिँदै गर्दा यस्तो परिस्थिति आएको हो। अबका दिनहरूमा शुल्क परिवर्तनप्रति अनिश्चितता रहिरहने सम्भावना छ।
केही एयरलाइन्सका प्रमुख कार्यकारीहरूले शुल्क तिर्नुभन्दा बरु विमान डेलिभरी स्थगित गर्ने धारणा व्यक्त गरिरहेका छन्।