काठमाडौं। भारतका विद्युत र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आउने भएका छन्।
भारत सरकारको सहयोगमा निर्माण भएको कोशी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेसन, २२०/३३ केभी बानेश्वर सवस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सवस्टेसन उद्घाटनका लागि खट्टर नेपाल आउन लागेका हुन्।
सवस्टेसन ऊर्जामन्त्री दीपक खड्का र खट्टरले संयुक्तरुपमा संखुवासभाको तुम्लिङटारमा मंगलबार दिउसो उद्घाटन गर्ने कार्यक्रम छ।
खड्काले गत माघ ३० गते भारत भ्रमणका क्रममा खट्टरलाई नेपाल भ्रमणको निम्ता दिएका थिए।
खट्टरले भारतले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्र अवलोकन गर्ने तालिका छ। उनी बुधबार मुक्तिनाथ जानेछन्। त्यहाँबाट फर्किएर बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओली र शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गरी खट्टर स्वदेश फर्किनेछन्।