BIZMANDU
www.bizmandu.com

बुद्ध एयरको कोलकाता रुटमा कमब्याकको तयारी, आगामी साउनभित्र व्यावसायिक उडान गर्ने

२०८२ बैशाख ७

बुद्ध एयरको कोलकाता रुटमा कमब्याकको तयारी, आगामी साउनभित्र व्यावसायिक उडान गर्ने
बुद्ध एयरको कोलकाता रुटमा कमब्याकको तयारी, आगामी साउनभित्र व्यावसायिक उडान गर्ने


काठमाडौं। बुद्ध एयरले ६ वर्षपछि पुनः काठमाडौं-कोलकाता उडान गर्ने भएको छ। एयर इण्डियाले हात झिकेपछि बुद्ध एयरले पुन: काठमाडौं-कोलकाता उडान गर्ने भएको हो।

Tata
GBIME
NLIC

कम्पनीका बिक्री तथा बजार निर्देशक रुपेश श्रेष्ठले आउँदो साउनभित्र कोलकातामा व्यावसायिक उडान गर्ने योजना अनुसार काम गरिरहेको बताए।

‘हामीले ६ वर्ष अगाडि यो गन्तव्यमा उडान गर्दा एयर इण्डियासँग प्रतिस्पर्धा थियो। अब एयर इण्डियाले यो रुटमा उडान नगर्ने भएपछि हामीले व्यावसायिकरुपमा फाइदा हुने देखेर पुनः उडान सुरु गर्न लागेका हौं,’ उनले भने।

बुद्ध एयरले सन् २०१९ मा काठमाडौं-कोलकाता रुटमा साताको ३ वटाका दरले ९ महिना उडान गरेको थियो। त्यतिखेर १० करोड रुपैयाँभन्दा बढी घाटा व्यहोरेको भन्दै कम्पनीले उडान बन्द गरेको थियो।

जोशीका अनुसार कम्पनीले कोलकातामा सुरुमा साताको ४ वटा उडान गर्ने योजना बनाएको छ। एयर इण्डियाले पनि साताको ४ वटा नै उडान गर्दै आएको थियो।

१५८ सिटे जहाजमा न्युनतम एकतर्फी लोड १२० हुँदै आएकामा एयर इण्डियाले दिल्लीमा केन्द्रित हुने भन्दै काठमाडौं-कोलकाता उडान बन्द गरिसकेको छ। यो रुटको उडान दूरी १ घण्टा २५ मिनेटको हो।

बुद्ध एयर कोलकातातर्फ एकतर्फी उडानका लागि न्यूनतम १४ हजार रुपैयाँ भाडा निर्धारण गर्ने तयारीमा छ। कम्पनीले अहिले बनारसमा नियमित व्यावसायिक उडान गर्दै आएको छ।

कोलकातापछि गुवाहटी, लखनउ लगायत गन्तव्यमा पनि उडान गर्ने योजना रहेको जोशीले बताए। ‘ती सबै गन्तव्यमा दुईतर्फी व्यापार र पर्यटनको प्रचुर सम्भावना देखेका छौं,’ उनले भने।

कोलकाता उडानका लागि बुद्ध एयर अन्तर्गत बुद्ध होलिडेजले भ्रमण प्याकेज तयार गर्ने जनाइएको छ।