BIZMANDU
www.bizmandu.com

एनएसएलको इलिमिनेटरमा आज पोखरा र चितवन भिड्दै, जित्ने टोलीले धनगढीसँग खेल्ने

२०८२ बैशाख ७

एनएसएलको इलिमिनेटरमा आज पोखरा र चितवन भिड्दै, जित्ने टोलीले धनगढीसँग खेल्ने
Ncell Nepal Super League 2025: Match between Chitwan FC and Pokhara Thunders FC at Dasharath Stadium in Kathmandu on Monday 31.March.2025. Photo: Udipt Singh Chhetry/USC Images Production


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आज पोखरा थण्डर्स र एफसी चितवन भिड्दैछन्। एनएसएलको इलिमिनेटर खेल अन्तर्गत पोखरा र चितवन साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भिड्नेछन्।

Tata
GBIME

आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ भने विजेता टोलीले दोस्रो क्वालिफायरमा धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ।

पोखरा र चितवनबीच हालसम्म ३ खेल भएका छन्। जसमा चितवनले एक पटक जित निकाल्दा पोखराले दुई पल्ट जित निकालेको छ। जारी संस्करणको लिग चरणमा यी २ टोली भिड्दा चितवनले २-० गोलको जित निकालेको थियो।

लिग चरणमा चितवन तेस्रो र पोखरा चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए। यसअघिका दुई संस्करणमा लिग चरणबाटै बाहिरिएको चितवनले पहिलो पटक प्लेअफ खेल्दै छ।

चितवनसँग अञ्जन बिस्ट, निरज चौधरी जस्ता नेपाली खेलाडी र नोदिर माभलोनोभ, टोरिक जेब्रिइनजस्ता प्रभावशाली विदेशी खेलाडी छन्। अर्कोतर्फ पोखरासँग आयुष घलान, समीर तामाङजस्ता नेपाली खेलाडीसँगै स्टेफेन बिनोङ, जोए ऐडूजस्ता खेलाडी छन्।

लिग चरणमा राम्रो सुरुवात गरेको चितवनले पछिल्ला खेलमा गएर लय बिगारेको थियो भने खराब सुरुवात गरेको पोखराले पछिल्ला खेलमा कमब्याक गरेको थियो।

खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ। रंगशालामा गएर खेल हेर्न खल्ती एप र आइएमई पेबाट टिकट काट्न सकिनेछ।