BIZMANDU
www.bizmandu.com

होम एप्लायन्सेज बजारमा वर्चस्व पुरानै ब्राण्डको, नयाँ कम्पनीका सामान खरिदमा हच्किन्छन् ग्राहक

२०८२ बैशाख ७

होम एप्लायन्सेज बजारमा वर्चस्व पुरानै ब्राण्डको, नयाँ कम्पनीका सामान खरिदमा हच्किन्छन् ग्राहक
होम एप्लायन्सेज बजारमा वर्चस्व पुरानै ब्राण्डको, नयाँ कम्पनीका सामान खरिदमा हच्किन्छन् ग्राहक


काठमाडौं। इलेक्ट्रोनिक्स होम अप्लायन्सेजको प्रयोग घरदेखि व्यावसायिक क्षेत्रसम्म बढेको छ। बिगत वर्ष बजारमा इलेक्ट्रोनिक्स सामान (होम अप्लायन्स)हरुको नयाँ ब्राण्डहरु निकै धेरै देखिन्थे। हिजोआज फेरि पुराना र परिचित ब्राण्डकै वर्चस्व बढेको छ।

Tata
GBIME
NLIC

बितेका वर्ष बजारमा धेरैजसो ग्राहकलाई घरायसी सामान खरिदमा कम्पनीभन्दा पनि मूल्य हेर्ने गरेको देखिन्थ्यो। ब्राण्डेड कम्पनीका उत्पादन महँगो भएकाले खरिद गर्न नसक्ने ग्राहकले बजारमा आएका नयाँ र नाम नै नचलेका ब्राण्ड रोज्ने गर्थे। घरायसीदेखि व्यावसायिक क्षेत्रमा बढिरहेको प्रयोगसँगै बजारमा मिक्सर ग्राइन्डर, जुसर, राइस कुकर, ओभन, भ्याक्युम क्लिनर, एयर फ्रायर, रेफ्रिजेरेटर, टेलिभिजन, पंखा, इन्डक्सन चुल्हो, ग्यास चुल्हो, इलेक्ट्रिक चिम्नी आदि तीन दर्जनभन्दा बढी कम्पनीका छन्।

ग्राहकको क्रय क्षमताअनुसार सस्तादेखि महँगासम्म र नाम चलेका पुराना तथा स्थापित ब्राण्डसँगै नौला नाममा सामान बजारमा छ्याप्छ्याप्ती पाइने क्रम विस्तारै घट्दै छ। बजारमा सामसङ, एलजी, बाल्ट्रा, सीजी, हुण्डाइ, यासुडा, माइडिया, हिमस्टार, भिडियोकोन, गोदरेज, वर्लपूल, टीसीएल, सेनसेइ, फिलिप्स, प्रेस्टिज, यासुडा, बेटर होम, ब्ल्याक एण्ड डेक्कर, बेलाको, डीएचएल, बोस्च, पानासोनिक, डाइमण्ड लगायत धेरै ब्राण्डहरु बजारमा प्रशस्त पाइन्छन्।

एउटै ब्राण्डका आयातकर्ता कम्पनीले त्यस्तै अरु पनि कम्पनीको डिलर लिँदा मूल ब्यानर जुनसुकैको भए पनि धेरैजसो इलेक्ट्रोनिक्स पसलमा ग्राहकले तिर्नसक्ने दाममा सुविधाका विकल्प पर्याप्त छन्।

व्यवसायीहरुका अनुसार केही समययता बजारमा नेपाली ग्राहकको रोजाइमा परिवर्तन देखिएको छ। नयाँ नयाँ कम्पनीका तुलनामा पुरानो र ठुला ब्राण्डको इलेक्ट्रोनिक्स सामान नै खरिद गर्न थालेको पाइएको छ। यसले गर्दा आयातकर्ताले पनि बजारमा रोजाइमा पर्ने ब्राण्ड नै आयात गर्न ध्यान दिएका छन्। हाल नेपाली बजारमा सामसङ, सीजी, एलजी, बाल्ट्रा हुण्डाइ, यासुडा र हिमस्टार ब्राण्डका सामान बढी माग भएको व्यवसायीले बताएका छन्। 

‘नयाँ ब्राण्डहरु बजारमा नआएका होइनन्, आइरहेका छन् तर बिक्री चाहिँ पुराना र नाम चलेकै ब्राण्डको बढेको छ,’ भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघका अध्यक्ष रामप्रसाद खर्वुजाले भने, ‘नचलेका ब्राण्ड बजारबाट विस्तारै हराउँदै छन्। ग्राहकले चलेकै ब्राण्डको सामान बढी खोज्न थालेका छन्।’ 

बजारमा अहिले धेरै चलेकामध्ये पनि सामसङ, बाल्ट्रा, एलजी, सीजी र हिमस्टारको बिक्री राम्रो रहेको उनको भनाइ छ। ‘पहिलेजस्तो जुन पायो त्यही ब्राण्ड बिक्ने ग्यारेन्टी छैन,’ उनले भने, ‘कतै नाम नसुनिएकादेखि संसारभर नाम चलेका ब्राण्ड पाइन्छन्। बुझेका ग्राहक चलेका ब्राण्ड नै रोज्छन्।’

ग्राहक इन्टरनेटका अनलाइनहरुबाट हेरेर पनि सामानका बारेमा निकै चनाखो भइसकेको उनले बताए। ‘धेरै कम्पनी भएकाले मूल्यमा प्रतिस्पर्धा छ। चलेका ब्राण्ड र सामान्य ब्राण्डका सामानको मूल्यमा धेरै फरक पर्दै‌न,’ उनले भने, ‘थोरै पैसा बढी तिर्दा राम्रो ब्राण्डका सामान आउने भएपछि ग्राहकले अरु कहाँ खोज्छन्!’

इलेक्ट्रोनिक्स सामान बेला बेला बिग्रिन्छन्। तिनको मर्मत र फेर्नुपर्ने सामानका विषयमा पनि उपभोक्तामा चेतनाको स्तर बढेको छ। बिक्री राम्रो रहेका कम्पनीको आफ्टर सेल्स सर्भिसको व्यवस्था पनि सहज छ। केही कम्पनी बाहेक अरु ब्राण्डका सामानको आफ्टर सेल्स सर्भिस राम्रो नहुनुको असर पनि व्यापारमा परेको उनको बुझाइ छ।

‘दुई दिनमा बन्ने सामान एक हप्ता लगाउने गर्छन्, यसो हुँदा ग्राहकले चलेका र समयमै सर्भिसिङ दिने कम्पनीको सामान खरिद गर्ने ट्रेण्ड बढ्दै गएको छ,’ उनले भने। ग्राहकले इलेक्ट्रोनिक्स सामान खरिद गर्दा बुझेर लिने गर्छन्। यस्ता सामान पटक पटक खरिद गर्न सकिदैन। जसले गर्दा राम्रो र टिकाउ सामानको खपत बढेको अध्यक्ष खर्बुजाले जानकारी दिए।

सीजी इलेक्ट्रोनिक्सका ब्राण्ड म्यानेजर मुकेश बैठाले इलेक्ट्रोनिक्स सामानको मार्केट चलायमान नभएको बताए। ‘तुलनात्मक रूपमा सीजीका होम अप्लायन्स प्रडक्टहरुको बिक्री चाहिँ राम्रो छ,’ उनले भने, ‘बजारमा धेरै कम्पनीका सामान आएका हुन्छन्, ती सामानको कस्टमर रेस्पोन्स कस्तो आउँछ त्यसले बजार तय गर्ने हो।’

ग्राहकले खरिद गरेको सामान जुनसुकै ब्राण्डको किन नहोस् बिग्रिएमा समयमै सर्भिसिङ पाएनन् भने त्यो ब्राण्ड प्रतिको विश्वास नरहने उनी बताउँछन्। ‘ग्राहकले पैसासँगै सर्भिसिङ खोज्ने गर्छन्। मूल्यमा धेरै फरक नहुने भएपछि चलेका ब्राण्डका सामान नै खोज्छन्,’ उनले भने।

इलेक्ट्रोनिक्स होम एप्लायन्सहरु बेच्ने कम्पनी तथा फर्महरुले ग्राहकलाई आफ्टर सेल्स सर्भिसमा पनि विश्वास दिलाउनुपर्ने उनले बताए।

इलेक्ट्रोनिक्स व्यवसायीहरुका अनुसार ग्राहकले हिजोआज नाम चलेका भरमा वा सस्तो पाइयो भन्दै हतारमा इलेक्ट्रोनिक्स सामान खरिद गर्दैनन्। सामानको गुणस्तर, मूल्य, ग्यारेन्टी, मर्मतको सेवाका साथै फीचर्स पनि हेर्छन्। ब्राण्डअनुसार फीचर्स  फरक हुन्छन्। 

कतिपय विदेशी कम्पनीका कम मूल्यका सामानमा ग्यारेन्टी, मर्मतको सुविधा र खोजेको जस्तो फीचर्सको नहुने भएपछि ग्राहकले दुई-चार हजारको परवाह नगरी राम्रो कम्पनी नै रोज्ने गरेको व्यवसायी बताउँछन्।

केही व्यवसायी भने इलेक्ट्रोनिक होम एप्लायन्सेजको बजार अहिले मन्द रहेको बताउँछन्। उनीहरुका अनुसार अपेक्षाकृत परिमाणमा बिक्री नहुँदा बिक्री हुने ब्राण्ड प्राथमिकतामा हुने गरेको छ। चाडपर्वका अफर ल्याएका बेला बिक्री बढ्ने भएकाले अरु बेला जे बढी चल्छ बिक्रेताले पसलमा राख्न तिनै कम्पनीका प्रडक्टलाई प्राथमिकता दिने गरेका छन्।

बजारमा धेरैजसो ब्राण्डका आयातकर्ता र बिक्रेता कम्पनी भने सीमित छन्। ग्राहकलाई क्रय क्षमताअनुसार छनोटको सुविधा दिन कम्पनीहरुले विभिन्न ब्राण्ड राखेका छन्। नेपाली बजारमा सीजी कम्पनी मात्रै २६ वटा ब्राण्डको आधिकारिक बिक्रेता छ। सीजीले अरु ब्राण्डका होम अप्लायन्सेज बेच्ने मात्रै नभइ आफ्नै नाममा प्रडक्टहरु बजारमा ल्याएको छ। यस्तै गोल्छा समूहको हिमस्टारले पनि गरेको छ।  

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालमा वासिङ मेसिन २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँको ९४ हजार ३ सय ६१ वटा आयात भएको थियो। १ अर्ब ३२ करोड ५९ लाख रुपैयाँको टीभी आयात भएको छ।

यस्तै ४ अर्ब ९० लाख ७१ हजार रुपैयाँको फ्रिज, ४ अर्ब २२ करोड रुपैयाँको एसी, २ अर्ब ३२ करोड रुपैयाँको पंखा, २२ करोड ६१ लाख रुपैयाँको ओभन, १० करोड ४० लाख रुपैयाँको आइरन, २८ करोड४८ लाख रुपैयाँको राइस कुकर आयात भएको तथ्यांक छ।