BIZMANDU
www.bizmandu.com

१० खेलाडीमा समेटिएर पनि धनगढीलाई हराउँदै ललितपुर फाइनलमा, खेलपछि पनि कार्डै कार्ड

२०८२ बैशाख ६

१० खेलाडीमा समेटिएर पनि धनगढीलाई हराउँदै ललितपुर फाइनलमा, खेलपछि पनि कार्डै कार्ड
Ncell Nepal Super League 2025: Qualifier 1 match between Lalitpur Cityi FC and Dhangadi FC at Dasharath Stadium in Kathmandu on Saturday 19.April.2025. Photo: Udipt Singh Chhetry/USC Images Production


काठमाडौं। साविक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा पुगेको छ। आज सम्पन्न पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २-१ गोलअन्तरले हराउँदै ललितपुर फाइनल पुगेको हो।

Tata
GBIME

विवादस्पद खेलमा रेफ्रीको निर्णयले सबैलाई अचम्मित बनाएको थियो। खेलको १५ औँ मिनेटमा धनगढीका मोहम्मद अल जाउनीले ललितपुरका मणीकुमार लामालाई खराब ट्याकल गरे। तर, रेफ्री उमेश विडारीले उल्टै लामालाई रेड कार्ड दिएपछि रंगशालामा माहोल बिग्रिएको थियो।

यो संस्करणमा प्रभावशाली रहेका मणीकुमार लामा रेडकार्डपछि फाइनलमा नहुने हुँदा ललितपुरलाई धक्का पनि लागेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकियो।

खेलमा अग्रता भने १० खेलाडीमा समेटिएको ललितपुरले बनायो। ५४ औँ मिनेटमा पाएको फ्रिकिकमा कार्भिन्स फिल्स बेलफोर्टले सिधै गोल गरे।

६१ औँ मिनेटमा धनगढी खेलमा फर्कियो। अनन्त तामाङले हेडरमार्फत क्लियर गर्न गर्न खोजेको बललाई जर्ज प्रिन्सले नियन्त्रणमा लिँदै गोल गरे।

दोस्रो गोल ७९ औँ मिनेटमा ललितपुरले थप्यो। काउन्टरमा ललितपुरका पापा इबोउ केबेले धनगढीका डिफेन्डसलाई छक्याउँदै पेनाल्टी क्षेत्रभन्दा निकै पछाडिबाट शशक्त गोल गर्न सफल भए।

खेल सकिएपछि धक्कामुक्की चल्दा धनगढीका काइसेडोले रेडकार्ड ब्यहोरे। त्यस्तै ललितपुरका पापा डियाकेटेले सो कार्ड ब्यहोरे। त्यस्तै ललितपुरका कप्तान अनन्त तामाङले पहेँलो कार्ड ब्यहोरे।

योसँगै ललितपुरले फाइनल खेल्दा धनगढीले दोस्रो क्वालिफायर खेल्ने छ। दोस्रो क्वालिफायरमा धनगढीको प्रतिद्वन्दी इलिमिनेटमा पोखरा थण्डर्स र एफसी चितवनमध्येबाट जितेर आउने एक टोली हुनेछ।