BIZMANDU
www.bizmandu.com

भृकुटीमण्डपमा रैथाने खाना मेला : ५० स्टलमध्ये ४० वटामा थरीथरी जातजातिका परिकार

२०८२ बैशाख ६

भृकुटीमण्डपमा रैथाने खाना मेला : ५० स्टलमध्ये ४० वटामा थरीथरी जातजातिका परिकार
काठमाडौँ, ६ वैशाखः नेपाली सेफ सोसाईटीले शनिबार प्रदर्शनी मार्ग भृकुटीमण्डपमा नेपाली सेफ सोसाईटी र ईन्टरनेशनल नेपाली सेफ सोसाईटीको फुड फेस्टीवल, प्रथम केन्द्रीय अधिवेशन, ईन्टरनेशनल नेपाली सेफ फुड अवार्ड, सोसियल अवार्ड साथै नेपाली खानाको प्रदर्शनी कार्यक्रममा गर्दै सेफहरू। तस्बिरः प्रदीपराज वन्त÷रासस


काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा भइरहेको ‘खाना महोत्सवमा इङ्वा सुब्बा कागुनो, याङ्बेन र मकैको खीर पकाउनमा व्यस्त छिन्। छेवैमा पाक्दैछ तात्तातो सेल, अनि लहरै राखिएका छन् थप परिकार।

Tata
GBIME
NLIC

सिस्नुको सुप र च्याउ साँधेको परिकारले खानाका पारखीहरुको ध्यान गइरहेको देखिन्छ। खाना पारखीहरु स्वाद मानी मानी खाइरहेको देखिन्छन्। नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’ बाट चिनिएकी सुब्बा आफूले शोमा बनाएको खीर सबैले रुचाएकाले महोत्सवमा पनि चखाउन आएको बताउँछिन्।

रियालिटी शोमा आफ्नो समुदायको खानालाई पस्केर सबैको मन जितेकी उनी नेपाल रैथाने परिकारको धनी भएकाले यसलाई प्रवर्द्धन र संरक्षण गर्न सबैले लाग्नुपर्ने बताउँछिन्। ‘हिमाल, पहाड र तराई सबै ठाउँको आआफ्नो खानाको विशेषता छ। हामीले सबै परिकारलाई थोरै मात्र परिस्कृत गरेर पस्किन सक्यौँ भने यसले अन्तरराष्ट्रिय बजारमा फैलिने मौका पाउन सक्छ,’ उनले भनिन्।

उनको छेवैको स्टलमा नेवारी परिकारहरु बारा, योमरी, छोयला छन्। खोकनाको तोरीको तेल, बेसार आदि पनि स्टलमा बेच्न राखिएको छ। भिलेज क्याफेकी पुनमाया डंगोल नेवारी परिकारलाई प्रवर्द्धन गर्न महोत्सवमा आएको बताउँछिन्। ‘क्याफेमा त थुप्रै परिकारहरु पाइन्छन्, आज भने हामीले यति मात्र ल्याएका छौं,’ उनले भनिन्, ‘नेवारी परिकारहरु धेरैको जिब्रोमा झुण्डिएको छ। धेरैले रुचाइदिनु भएको छ।’

डेढ वर्षदेखि टोखामा ‘आरोग्य कर्णाली अर्गानिक प्रालि’ सञ्चालन गर्दै आएकी सीता आचार्य मौरी संरक्षणकर्मी हुन्। उनका १५० वटा मौरीका घार छन्। मौरीपालनका साथै कर्णालीमा पाइने विभिन्न रैथाने अन्नबालीहरुको ब्रान्डिङ गरेर उनले बेच्दै आएकी छन्। उनको स्टलमा मह, कागुनो, चिनो, मार्सी, फापरको पिठो, कोदो, मकैको च्याख्ला, सातु, गुन्द्रुकलगायत २० प्रकारका सामग्रीहरु छन्।

आचार्यका अनुसार चिनो, कागुनो, कोदो र फापरको माग बढी छ। ‘यी अन्नहरु मधुमेह, उच्च रक्तचापका बिरामीले खान मिल्छ। कतिलाई थाहा छैन। थाहा हुनेले खोजेर खानुहन्छ,’ उनी भन्छिन्।

परम्परागत र मौलिक खानाको संगम रहेको खाना महोत्सवमा मोही पनि बिक्रीका लागि राखिएको छ। ओखलढुंगे डेरी एण्ड एग्रीफुड प्रालिले दुग्धजन्य पदार्थहरुलगायत मिठाइ, आइसक्रिम, भुजिया, निम्की, पनिर तथा चिज मःम बेच्दै आएको छ। डेरीका सञ्चालक गोपाल तिमिल्सनाले बजारमा पाइने विभिन्न पेयपदार्थभन्दा कयौँ गुणा मोही स्वस्थ्यकर भएकाले यसको ब्राण्डिङमा लागेको सुनाए।

उनले भने, ‘स्थानीय उत्पादन मोहीलाई प्रवर्धन गर्ने उद्देश्यले प्याकिङ गरेर बेच्दा स्वास्थ्यलाई राम्रो हुने र आफ्नो स्थानीय उत्पादनको खपत हुने उद्देश्यले हामीले सुरु गरेका हौं। गुलियो चिसो पेयपदार्थभन्दा गर्मीमा मोहीले शीतल गराउँछ।’

नेपाली खानाको प्रदर्शनी कार्यक्रम। तस्बिर : प्रदीपराज वन्त/रासस

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी नेपालका महासचिव गिरीराज भट्ट यो महोत्सव परिकारहरुको प्रदर्शनी मात्र नभइ नेपाली सेफहरुको पहिचान, प्रतिभा, मिहिनेत र सिर्जनशीलताको सजीव दस्तावेज रहेको बताउँछन्। नेपाली पाककलामा स्वाद, विविधता, मौलिकता अद्वितीय भए पनि अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नु चुनौतीपूर्ण रहेको उनको तर्क छ।

‘विश्वसामू चिनाउने हाम्रो सपना हो। यसका लागि सबैको समर्पण र सहकार्य आवश्यकता छ,’ उनले भने। खाना महोत्सवले परम्परागत, रैथाने स्वादसँग आधुनिक परिकारको प्रर्दशनी र नेपालभित्रको पाककलाको सम्भावनाको उज्यालो चित्र प्रस्तुत गर्ने प्रयास गरेको छ।

महोत्सवमा ५० वटा स्टलमध्ये ४० वटा खानाका छन् भने ५ वटा रैथाने बाली नालीको प्रदर्शन र ५ वटा पर्यटन जानकारीसम्बद्ध छ। खानाका स्टलमा विभिन्न जातजातिका खाना (नेवारी, थारु, राई लिम्बू, थकाली आदि) परिकारहरु राखिएको छ। रासस