काठमाडौं। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले काठमाडौंका नदी सफा गर्न ठोस कार्यक्रम ल्याउने बताएका छन्। काठमाडौंको वडा नं १० बुद्धनगरवासीद्वारा सञ्चालन गरिएको ‘सके सफा गरौं नसके फोहर त नगरौं’ भन्ने नारासहितको बुद्धनगर सरसफाइ अभियानको १० वर्ष पूरा भएको उपलक्ष्यमा शनिबार आयोजित कार्यक्रममा उनले नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताए।
उपप्रधानमन्त्री सिंहले नदी सफा गर्नका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण, वाग्मती सभ्यता एकीकृत विकास समिति लगायतसँग छलफल गर्ने र लगानीको लक्ष्य र उद्देश्यअनुरुप प्रतिफल प्राप्त नभएको पक्षलाई विश्लेषण गर्न जरुरी रहेकामा जोड दिए।
बुद्धनगरवासीले सानो भए पनि सकारात्मक कामलाई निरन्तरता दिएर रचनात्मक कामलाई जारी राखेको भनी अभियन्ता र सहभागीप्रति आभार प्रकट गर्दै उनले बधाई दिए। उक्त अभियानमा आबद्ध हुन पनि उनले सबैलाई आह्वान गरे।
अभियानबाट टोलवासीको मनमा सकारात्मक दियो बाल्न गरिएको प्रयास सफल भएको उल्लेख गर्दै मन्त्री सिंहले सरसफाइ अभियान २०७२ को भूकम्प अगाडि नै सुरु भई ५२२ हप्ता पूरा गरेको जानकारी दिए।
कार्यक्रमका अभियन्ता संविधानसभाका पूर्वसदस्य मोहनकुमार राईले सार्थक परिवर्तनका लागि सानै काम गरौं भन्ने भावनाले प्रेरित भई बुद्धनगर सफाइ अभियान सञ्चालन गरेको र यसलाई १० वर्षसम्म निरन्तरता दिन सकिएको उहाँले बताए।
थर्ड आई युथ क्लबका सुवास राईको समाजमा केही गरौं भन्ने भावनाबाट यो अभियान सुरु गरी यसलाई हालसम्म निरन्तरता दिइएकाले दुनियाँले के भन्छ भन्ने कुरामा नलागी आत्मसन्तुष्टिका लागि काम गरिएको बताए।
यसअघि बुद्धनगरस्थित सेतो गणेशस्थानबाट सुरु भएको सरसफाइ कार्यक्रमका सभापति सप्तराज बज्राचार्यले सहभागी सबैलाई सरसफाइलाई निरन्तरता दिइ १० वर्ष पूरा गरेकामा धन्यवाद दिए। कार्यक्रममा वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, कांग्रेस नेतृ सृजना सिंह र नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति रवीन्द्रविक्रम राणालगायत सहभागी थिए।