काठमाडौं। सरकारले १ हजार सीसीभन्दा कम क्षमताका ट्याक्सी अब आइन्दा दर्ता नहुने व्यवस्था गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ मापदण्ड लागू गर्दै अबदेखि कम्तीमा १ हजार सीसी क्षमताका ट्याक्सी मात्रै दर्ता हुने व्यवस्था गरेको हो।
यातायात व्यवस्था विभागले तयार पारेको ट्याक्सीको नयाँ मापदण्ड मन्त्रालयले यसै साता स्वीकृत गरी बिहीबारदेखि लागू गरेको छ।
नयाँ मापदण्ड अनुसार अबदेखि इन्धनमा १ हजार सीसी र इभीमा ४० किलोवाट क्षमताभन्दा कम पावरट्रेन भएका गाडी ट्याक्सीमा दर्ता हुन पाउने छैनन्।
अहिले बजारमा चलिरहेका प्राय: सबै ट्याक्सी ८०० सीसीभन्दा कम क्षमताका हुन्। इभीको आगमनले केही ट्याक्सी लग्जरी सेगमेन्टमा प्रवेश गरेका छन्।
नयाँ मापदण्डअनुसार नयाँ ट्याक्सीमा सेन्ट्रल लकिङ, एयर कन्डिसनर (एसी), डिजिटल मिटरसहितको प्रिन्टर, हाइस्पिड अलर्ट, रियर पार्किङ सेन्सर, एबीएस सिस्टम, एलईडी स्क्रीनसहितको जीपीएस नेभिगेसन सिस्टम अनिवार्य गरिएको छ।
एसीसहितका फिचर्स थपिँदा नयाँ ट्याक्सीको मूल्य निकै बढ्नेछ। फोर स्ट्रोकसहित ३ सिलिन्डर इन्जिनको सेडान गाडीमात्रै ट्याक्सी हुन सक्छ।
लक्जरी ट्याक्सीले १००% बढी भाडा लिन पाउने
यसअघिको मापदण्डमा ८०० सीसी क्षमताका गाडीलाई ट्याक्सी बनाउन सकिने व्यवस्था गरिएको थियो। जसले गर्दा लक्जरी ट्याक्सी चाहनेहरूलाई विकल्प थिएन।
नयाँ मापदण्डमा ट्याक्सीलाई सामान्य, विशेष र विशिष्ट गरी ३ तहमा वर्गीकरण गरिएको छ। फिचर, पावरट्रेन र अन्य सेफ्टी फिचरका आधारमा वर्गीकरण गरिएको हो।
वर्गीकरण गरिएका ट्याक्सीको भाडा विभागले तोक्नेछ। अब लक्जरी ट्याक्सी चढ्न पाइनेछ। भाडादर भने अहिलेको दोब्बर हाराहारी हुनेछ।
विशिष्ट ट्याक्सीले सामान्य ट्याक्सीको भन्दा १०० प्रतिशत बढी भाडा लिन पाउनेछन्। विशेष वर्गको ट्याक्सीको भाडादर साधारणको भन्दा २० प्रतिशत बढी हुने मापदण्डमा उल्लेख छ।
विशिष्ट ट्याक्सीको इन्जिन क्षमता २ हजार सीसी वा सोभन्दा माथिको हुनुपर्नेछ। यस्तै, विशिष्ट विद्युतीय ट्याक्सीको हकमा १०० किलोवाटको मोटर हुनु पर्नेछ। मोटर टर्क १७० एनएम मिटर वा सोभन्दा माथि हुनु पर्नेछ।
यसैगरी, ह्वीलबेस २७०० एमएमभन्दा माथि र बुट स्पेस अर्थात मालसामान राख्ने क्षमता ४०० लिटरभन्दा माथि हुनु पर्नेछ।
लग्जरियस ट्याक्सीमा मनोरन्जनका लागि अगाडि र पछाडि साउन्ड सिस्टम, पछाडिको सिटमा पनि २ वटा टच स्क्रिन डिस्प्ले, इलेक्ट्रिक स्वीचर विन्डो, तातो चिसो दुवै आउने एसी, सिटमा हेड रेष्ट तथा आर्म रेष्ट हुनु पर्नेछ।
यस्तै, कप होल्डर, रिडिङ ल्याम्प, मोबाइल तथा ल्यापटप चार्ज गर्न डीसी तथा एसी चार्जर, वाइफाइ, अगाडिको हेड रुम १ हजार एमएम तथा पछाडिको हेड रुम ९५० एमएम, अगाडिको लेग रुम १ हजार एमएम र पछाडिको लेग रुम ९०० एमएमको हुनु पर्नेछ।
पुरानाको हकमा यस्तो
अहिले संचालनमा रहेका ट्याक्सीको वर्ग कायम गर्न सकिनेछ। विशेष वा विशिष्ट वर्ग कायम गराउन चाहने सवारीधनीले सवारी दर्ता गर्ने कार्यालयमा निवेदन दिनुपर्नेछ।
आवश्यक जाँचबुझ गरी मापदण्डमा तोकिएको विशेषता तथा सुविधा भएको सवारीलाई कार्यालयले विशेष वा विशिष्ट वर्गको ट्याक्सीको रुपमा दर्ता प्रमाणपत्रमा वर्ग उल्लेख गरिदिन सक्ने मापदण्डमा उल्लेख छ।
मापदण्ड लागू भएको ६ महिनाभित्र सम्बन्धित सवारीधनीले पालाना गरिसक्नु पर्नेछ। मापदण्ड पालना नगरेमा सवारी दर्ता कार्यालय र अन्य अधिकार प्राप्त कार्यालयले जाँचपास प्रमाणपत्र तथा बाटो इजाजतपत्र नवीकरण रद्द गर्न सक्नेछन्।
विद्युतीय ट्याक्सीको के छ व्यवस्था ?
विद्युतीय ट्याक्सीको हकमा साधारणमा ४० किलोवाट, विशेषमा ५० किलोवाट र विशिष्टमा १०० किलोवाट क्षमताको मोटर हुनुपर्ने छ।
साथै साधारणमा ६० न्युनटन मिटर, विशेषमा ८० न्युटन मिटर र विशिष्टमा १७० न्युटनमिटर टर्क उत्पादन गर्ने हुनुपर्छ। यस्तै, ह्वील बेस क्रमशः २३००, २४०० र २७०० हुनुपर्नेछ। साथै बुट स्पेस क्रमशः १६०, २०० र ४०० लिटर सामान अट्ने चाहिन्छ।
ट्याक्सीमा के-के हुनुपर्छ ?
साधारण, विशेष र विशिष्ट वर्गका ट्याक्सीमा ८०/८० मिलिमिटरको वर्गाकार पारदर्शी प्लास्टिकभित्र रातो रङ्गमा कम्तीमा ६० मिलिमिटर उचाइ र ८ मिलिमिटर मोटाइका अंग्रेजी अक्षरमा ‘ओ’, ‘डी’ र ‘एल’ लेखिएका स्टिकर राख्नुपर्छ। प्रत्येक ट्याक्सीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको हुनुपर्नेछ। ट्याक्सीको छतमा पहेंलो रङ्ग लगाइएको हुनुपर्नेछ।
अबदेखि ट्याक्सीमा एन्टी-लक ब्रेकिङ सिस्टम (एबीएस), इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन (ईबीडी), ड्राइभर र कोड्राइभर एयर ब्याग दुईवटा, हाइ स्पिड अलर्ट सिस्टम, सबैलाई सिट बेल्ट, ड्राइभर र कोड्राइभर सिट बेल्ट रिमाइन्डर, रियर पार्किङ सेन्सर र रियर भ्यु क्यामेरा तथा सीसी टीभी क्यामेरा जस्ता सेफ्टी हुनुपर्ने छ। यस्ता सेफ्टी फिचर नभएका ट्याक्सीलाई विशेष र विशिष्टमा राख्न मिल्दैन।
ट्याक्सीमा प्रिन्टरसहितको डिजिटल भाडा मिटर र डिस्प्लेसहितको जीपीएस न्याभिगेसन अनिवार्यरुपमा राख्नुपर्ने हुन्छ।