काठमाडौं। गभर्नर नियुक्त हुने पक्का भएपछि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। उनले शुक्रबार बिहान राजीनामा दिएका हुन्।
यद्यपी नेपाल राष्ट्र बैंक ऐनले ‘गभर्नर नियुक्तिको प्रयोजनका लागि कार्यकारी निर्देशकले राजीनामा दिनुपर्छ’ भनेको छैन। गभर्नर नियुक्त भएपछि कार्यकारी निर्देशकबाट स्वत: राजीनामा गरेको मानिन्छ।
सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो। सत्तारुढ दुई दलबीच गभर्नर कसलाई बनाउने भनेर निर्णय नहुँदा समितिको बैठक बस्न सकेको थिएन।
बुधबार साँझ प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टका नाममा सहमति भएको थियो।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले संभवत आजै भट्टलगायत अन्य दुई जनाको नाम गभर्नरमा सिफारिस गर्ने छ। त्यसपछि मन्त्रीपरिषद् बैठक डाकेर भट्टलाई गभर्नर नियुक्त गर्ने तयारी छ।
गभर्नरका लागि भट्टको नाममा सहमति भएपछि प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले उनलाई डाकेर भेटिसकेका छन्।
गभर्नरका लागि नेपाल राष्ट्र बैंकले केही योग्यताहरु तोकेको छ। नेपाली नागरिकका साथै उच्च नैतिक चरित्र आवश्यक पर्छ।
यसबाहेक आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र गणित वा कानुन बिषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्छ।
कार्यअनुभवका रुपमा कानुनले- सरकार वा राष्ट्र बैंकको विशिष्ट श्रेणीको पद वा विश्वविद्यालयको प्राध्यापक वा वाणिज्य बैंक वा वित्तीय संस्थाको कार्यकारी तहको पद वा त्यो सरहको पद वा मर्यादाक्रमको हिसाबले त्यो पदभन्दा उच्च पदमा काम गरेको अनुभव सम्झनु पर्छ भनेको छ।
अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्टले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। राष्ट्र बैंकको विशिष्ट श्रेणीमा बसेर काम गरिसकेकाले भट्टको योग्यतामा कुनै पनि कानुनी अड्चन नरहेको कानुन विज्ञहरु बताउँछन्।
गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल सदस्य छन्। पौडेल भारत भ्रमण छोट्याएर संभवत आजै नेपाल फर्किने छन्।
समिति सदस्यहरुले आजै सिफारिस गरेर भोलिसम्म गभर्नर नियुक्त गर्ने तयारी रहेको स्रोतको दाबी छ। पछिल्लो समय गभर्नरका लागि धेरै जनाले इच्छा देखाएका थिए। गभर्नरकै लागि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट केही समयअघि डा. प्रकाशकुमार श्रेष्ठले राजीनामा दिएका थिए। यद्यपी उनको राजीनामा स्वीकृत भइसकेको छैन। उनी राष्ट्रिय योजना आयोगको सदस्य छन्।
गभर्नर सिफारिस समिति बनेपछि नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट ज्ञानेन्द्र ढुङ्गानाले पनि राजीनामा दिएका थिए।