BIZMANDU
www.bizmandu.com

चट्याङले सिंहदरबारको डेटा सेन्टरको विद्युत सप्लाईमा क्षति, अधिकांश सरकारी वेबसाइट डाउन

२०८२ बैशाख ५

चट्याङले सिंहदरबारको डेटा सेन्टरको विद्युत सप्लाईमा क्षति, अधिकांश सरकारी वेबसाइट डाउन
चट्याङले सिंहदरबारको डेटा सेन्टरको विद्युत सप्लाईमा क्षति, अधिकांश सरकारी वेबसाइट डाउन


काठमाडौं। सिंहदरबार भित्र रहेको एकीकृत डेटा सेन्टरमा बिहीबार राति परेको चट्याङले विद्युत आपूर्तिमा क्षति पुर्‍याउँदा अधिकांश सरकारी संस्थाका वेबसाइट डाउन भएका छन्।

Tata
GBIME
NLIC

शुक्रबार बिहानैदेखि विभिन्न मन्त्रालयदेखि मातहतका निकायको वेबसाइट चलेका छैनन्। जसका कारण सरकारी सेवा प्रवाह प्रभावित बनेको छ।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले सिंहदबार भित्र रहेको जीआइडीसीको सर्भरमा बिहीबार राति परेको चट्याङले क्षति पुर्‍याउँदा विद्युत आपूर्तिमा क्षति पुगेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए।

‘जेनेरेटर चलाएर जीआइडीसीका पूर्वाधार सूचारु राखिरहेका थियौं। शुक्रबार बिहानबाट क्षति पुगेको विद्युतीय उपकरणहरु फेर्नुपर्ने भएकाले केही समय वेबसाइटहरुमा असर परेको हो। अबको केही समयमा वेबसाइटहरु सहजरुपमा संचालन हुन्छन्,’ पौड्यालले भने।

एकीकृत डेटा व्यवस्थापन केन्द्रले विद्युतीय प्रणालीअन्तर्गतको लो भोल्टेज (एलभी) प्यानलको अटोमेटिक ट्रान्सफर स्वीच (एटीएस)मा समस्या आएपछि विद्युत आपूर्तिमा व्यवधान आएको जनाएको छ। केन्द्रबाट प्रवाह हुने सेवाहरु शुक्रबार बिहान ८ देखि करिब २ घण्ठा अवरुद्ध हुने सूचना जारी गरेको छ। तर, समस्या अझै सल्टिसकेको छैन। केन्द्रमा होस्ट भएका प्रणालीहरु उक्त अवधिभर बन्द गर्न समेत सूचित गरेको छ।

नेपाल प्रहरीले पनि शुक्रबार बिहान सूचना जारी गर्दै आफ्नो वेबसाइट, अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणाली र अनलाइन रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम (ओआरएमएस)मा अवरोध आएको जानकारी दिएको छ। यस्तै, नागरिक एप पनि चलेको छैन।

अर्थ मन्त्रालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, भन्सार विभाग, नेपाल दूरसञ्चार प्राधिकरणलगायतका वेबसाइट बन्द छ।