काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल)ले वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक गरेको छ।
नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्यांक संकलन गरेर तयार पारेको पुस्तकले विभिन्न क्षेत्रगत विषयहरुमा गहिरो अन्तर्दृष्टि प्रदान गर्ने फ्याक्ट्स नेपालले जनाएको छ।
डेटा र इन्फोग्राफिक केन्द्रित यस पुस्तकमा क्षेत्रगत तथ्यांकको विश्लेषण समावेश गरिएको छ। पुस्तकमा नेपाल प्रोफाइल, प्रादेशिक प्रोफाइल, समष्टिगत आर्थिक परिदृश्य, प्रमुख आर्थिक क्षेत्रहरु, पूर्वाधार र संचार, सामाजिक आयामहरु, सार्वजनिक सुरक्षा, लगायतका ८खण्डहरु तथा ६४उपखण्ड समेटिएका छन्।
१० औं संस्करणको पुस्तकमा नेपाल प्रोफाइल र प्रादेशिक प्रोफाइल खण्ड तथा वि.स २०७२ सालको भूकम्प र कोभिड-१९ माहामारी पछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई छुट्टै खण्डमा विभिन्न क्षेत्रगत तथ्यांकबाट चित्रित गरिएको छ।
स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रूपमा रहेको फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल) ले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरू संचालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत् आम जनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्यांकीय चित्रहरू प्रस्तुत गर्दै आएको छ।