BIZMANDU
www.bizmandu.com

कोरला नाकामा चिनियाँ सामान बिक्री, किनमेलसँगै बढ्यो व्यापारिक चहलपहल

२०८२ बैशाख ४

कोरला नाकामा चिनियाँ सामान बिक्री, किनमेलसँगै बढ्यो व्यापारिक चहलपहल
कोरला नाकामा चिनियाँ सामान बिक्री, किनमेलसँगै बढ्यो व्यापारिक चहलपहल


मुस्ताङ। नेपाल-चीन उत्तरी कोरला नाकास्थित दशगजा क्षेत्रको नेपाली भूमिमा करिब एक दर्जन स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामानको पसल सञ्चालन गरिरहेका छन्।

Tata
GBIME
NLIC

सीमावर्ती गाउँपालिका लोमान्थाङ-२ र १ वडाकासाना व्यापारीले समुन्द्री सतहको ४६१० मिटरको अग्लो उचाइ कोरलापासमा बसेर नेपाली तथा चिनियाँ सामानको बिक्री गर्न पसल सञ्चालन गरेका हुन्। २०८० कात्तिक २७ गतेदेखि उक्त नाका खुलेपछि सीमावर्ती क्षेत्र छोसेरका स्थानीय तथा साना व्यापारीहरू कोरलानाकामा पसल र रेष्टुरेन्ट चलाएर बस्न थालेका लोमान्थाङ-२ छोसेरका युवा पासाङ वाङ्दीले बताए।

कोरलानाका अवलोकनका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई स्थानीयस्तरमा उत्पादित सामाग्रीका साथै चिनियाँ सामान बिक्री गरेर आम्दानी गरिरहेको उनको भनाइ छ। ‘कतिपयले नाकामा पुगेका पर्यटकलाई खाजानास्ता र चियाकफी समेत बनाएर खुवाउँछन्। नाकामा एक दर्जन व्यापारीले त्रिपाल टाँगेर व्यापार गर्दै आइरहेका छन्,’ उनले भने, ‘कोरलाको अग्लो सुक्खा पठार भूमि दशगजा क्षेत्रमा त्रिपालमुनि बसेर व्यापार गरिरहेका छौं।’

बिहान उठ्ने बित्तिकै रेष्टुरेन्ट व्यवसायसँगै चिनियाँ पसलमा व्यापार सुरु हुन्छ। साँझ बिक्री गर्न राखिएका सबै सामान त्रिपालमुनि लगेर थन्क्याउने उनले बताए। आफू पनि यहाँ व्यापार गर्न स्टल थापेर बसेको उनले बताए।

दुई महिनादेखि कोरलापासमा व्यापार गर्न बसेका पासाङले चिनियाँ व्यापार सन्तोषजनक छ। दैनिक बिहान ९ बजे कोरलानाकाको तिब्बती भूमि लिग्चेमा पुगेर चिनियाँ सामान किनेर दिउँसो २ बजे फर्किने गरेका लोमान्थाङ-१ छोसेरकी लाक्पाछेसुङ गुरुङले बताइन।

बिहान ९ बजे चीनतर्फको नाका पस्दा दिउँसो २ बजेपछि मात्रै फर्किन पाइने नियम रहेको उनले जानकारी दिइन। दशगजा क्षेत्रबाट चीनको भूमि लिग्चेसम्मको करिब ३०० मिटर दूरी रहेको भन्दै त्यहाँबाट आफैंले बोकेर सामान ल्याउनुपर्छ।

गुरुङले चीनको नाका प्रवेश गरेर जान सरकारले वितरण गरेको सीमापार पास देखाएर मात्रै जान पाइने उल्लेख गरिन्। ‘गाउँका धेरैजसो युवा विदेश गइसके, म भने यही नाकामा पसल चलाएर बसेकी छु,’ उनले भनिन्, ‘दैनिक ६-७ हजारको व्यापार हुन्छ, फाइदा २-३ हजार हुन्छ।’

कोरलानाकामा नेपाली पर्यटक आउने क्रम बढ्दै जान थालेको उनले बताइन। नाका खुलेपछि बर्खायामभरि नाकामा त्रिपालमुनि बसेर दिउँसो चिनियाँ सामग्रीको पसल चलाएको बताउँदै उनले भनिन्, ‘हिउँदयाममा चिसो हुन्छ, पर्यटक पनि आउँदैनन्। यसैले जाडो महिनामा पोखरा झरेर व्यापार गर्ने गरेकी छु। घरायसी प्रयोजनबाहेक यहाँको सामान तल लैजान पाइँदैन। भन्सारले रोकिदिन्छ, यसैले पनि दुईचार पैसा आम्दानी होला कि भनेर यहाँ बसेकी हुँ।’

कोरलानाकामा बसेर व्यापार गर्न उत्तिकै चुनौतीपूर्ण छ। धेरैबेर बस्दा लेक लाग्ने समस्या हुने उनले बताइन। नाका अवलोकनका लागि पुगेका कतिपय पर्यटकलाई लेक लागेर बिरामी हुने गरेका छन्। सरकारले नाका खुलाए पनि आवश्यक वातावरणमैत्री भौतिक पूर्वाधार निर्माण नहुँदा यहाँ बसेका व्यापारी तथा पर्यटकलाई स्वास्थ्यमा समस्या हुने गरेको उनले बताइन।

नाकामा नेपालका तर्फबाट खानेपानी र शौचालयको उचित प्रबन्ध छैन। यसले व्यापारी तथा पर्यटकलाई सास्ती छ। व्यापार गर्न बसेकालाई चीन सरकारले भने खानेपानीको सुविधा दिएको गुरुङले बताइन। कोरलानाकामा कमजोर संरचनाको अस्थायी शौचालय निर्माण गरिए पनि त्यो भरपर्दो नभएको व्यापारीहरू सुनाउँछन्।

नाकामा चीनको सामान ल्याएर बिक्री गर्ने स्थान रहे पनि खुल्ला पठारमा स्टल राख्दा हावा, धुवाँ र धुलोको समस्याले स्वास्थ्य समस्या हुने गरेको छ। नेपाल-चीन उत्तरी कोरलानाका उपल्लो मुस्ताङका दुई पालिकाका लागि खुलेपछि हालसम्म तीन हजार बढीले चीन प्रस्थान गर्ने सीमापार पास पाइसकेका छन्।

उपल्लो मुस्ताङका नागरिकका लागि घरायसी सामान किनमेल गर्न खुलेको यो नाकाबाट व्यापारी प्रयोजनका लागि नेपाली तथा चिनियाँ सामान आयात, निर्यात गर्न पाँच महिनादेखि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको लोमान्थाङ–२ छोसेरका वडाध्यक्ष कर्मानाम्ग्याल गुरुङले जानकारी दिए।

उनका अनुसार नाकाबाट भन्सारले सामान ल्याएर बिक्रीवितरण गर्न नदिएपछि कतिपयको रोजीरोटी खोसिएको छ। नाका खुल्ला भयो भनेर मात्रै नहुने भन्दै उनले सरकारले भन्सार सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरेर आयात, निर्यातलाई सहज बनाइदिनुपर्नेमा जोड दिए।

नेपाल–चीन कोरलानाकास्थित न्हेचुङ भन्सारले स्थानीय व्यापारीलाई व्यापारिक प्रयोजनका लागि सामान ल्याउन नदिएपछि आफूहरू अप्ठ्यारोमा परेको लोमान्थाङ–३ ठिङ्गरका साना व्यापारी कर्माम्टुक गुरुङले दुःखेसो पोखे। कोभिड सङ्क्रमणकालमा लगातार चार वर्षसम्म बन्द रहेको नाका खुले पनि उपल्लो मुस्ताङका बासिन्दाले खासै सुविधा नपाएको यस क्षेत्रमा गुनासो छ।

नाका खुलेको डेढ वर्ष पुग्दा गत पुसदेखि न्हेचुङ भन्सार कार्यालयले राजस्व संकलन गर्न छाडेको छ। केही महिनाअघि उपल्लो मुस्ताङका एक व्यक्तिले अवैध रूपमा ठूलो परिमाणमा विद्युतीय चुरोट ‘भेप’ आयात गरेपछि मुस्ताङ प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको थियो। त्यसपछि भन्सार कार्यालयले चीनबाट सामान ल्याएर बिक्रीवितरण गर्ने कार्यलाई प्रतिबन्ध गरेको वडाध्यक्ष गुरुङले बताए।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले कोरलानाकाबाट सामान ल्याएर बिक्री गर्ने कार्यमा परेको कानुनी जटिलता र अप्ठ्याराहरूको समाधान खोज्न सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए। ‘कोरलानाकाबाट नेपालीले किराना सामग्री, कस्मेटिक, पेयपदार्थ, कृषि उपकरण, फर्निचरलगायत सामान आयात गर्दथे। यता नेपालबाट स्थानीय कृषि उत्पादन चीनतर्फ निर्यात हुन्थ्यो। अहिले त्यसखालको आयात, निर्यात पूर्ण रूपमा ठप्प भएको छ,’ उनले भने। रासस